Comments Add Comment

निर्मला हत्या प्रकरणः धनगढी उत्रेको छानबिन टोलीले मुख्यमन्त्री भेट्यो


८ भदौ, धनगढी । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको छानबिन गर्न गठित सरकारी टोली धनगढी पुगेको छ ।

सरकारले सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायत ५ सदस्य रहने गरी गठन गरेको छानविन टोली बुद्ध एयरको उडानबाट शुक्रबार बिहान धनगढी आइपुगेको हो ।

धनगढी उत्रिएलगत्तै टोलीले काम थालेको छ । टोलीले धनगढी विमानस्थलबाट सोझै प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा पुगेर घटनाबारे छलफल गरेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ ।

निर्मलाका बुवा यज्ञराजले सरकारले पठाएको टोलीबाट निश्पक्ष रुपमा छानविन हुने विश्वास व्यक्त गर्दै संयमता अपनाएर सहयोग गर्न सबैसँग अाग्रह गरेका छन्

निष्पक्ष छानबिन हुने परिवारको विश्वास

गृह प्रशासनले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठीलाई मन्त्रालयमा तानेर त्यहाँ प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, प्रहरी उपरीक्षक कुबेर कडायतलाई पठाएपछि नयाँ आउने टिमले निश्पक्ष छानविन गर्ने विश्वास आफन्तहरुले लिएका छन् ।

निर्मलाका बुवा यज्ञराज पन्तले सरकारले पठाएको टोलीबाट निश्पक्ष रुपमा छानविन हुने आशा आफूले लिएको बताए । उनले आन्दोलनरत सबैलाई संयमता अपाउन भन्दै छानविनका लागि सहयोग गर्न अपिलसमेत गरे । ‘छानबिन टोलीले निश्पक्ष छानबिन गरेर दोषी पत्ता लगाउने छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने, ‘त्यसैले म संयमता अपनाएर टोलीलाई सघाउन सबैसँग आग्रह गर्दछु ।’

कञ्चनपुर शान्त, विरोधमा शैक्षिक संस्था बन्द

अघिल्ला दिन बिहानैदेखि कञ्चनपुरका सडकमा नाराबाजी हुने गरेका भए पनि आज भने फरक दृश्य देखिएको छ ।  जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू बिहान ५ बजेबाट हटेपछि जनजीवन सहज भएको छ ।

सडकमा सवारी साधन गुडिरहेका छन् भने  केही मात्रामा पसलसमेत खुलेका छन् । शैक्षिक संस्था भने अाज पनि बन्द नै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment