Comments Add Comment

मुलुकी अपराध संहिताको बिरोधमा चिकित्सकद्वारा वीरगञ्जमा प्रदर्शन

१७ भदौ, वीरगञ्ज । यही भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन संसोधनको माग राख्दै वीरगञ्जमा चिकित्सकहरुले र्‍याली निकालेका छन् ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखाको आव्हानमा र्‍याली निकालेका हुन् ।

संसोधनका लागि १५ दिने अल्टिमेटम दिँदा पनि सम्बन्धित निकायले पहल नगरेकोले संघर्षमा उत्रनु परेको चिकित्सकहरुको भनाइ छ ।

नारायणी उपक्षेत्रीय अस्पताल परिसरबाट निकालिएको बिरोध र्‍याली विर्ता, आदर्शनगर, माइस्थान, घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर सम्पन्न भएको थियो ।

चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत स्वास्थ्य मन्त्रालय तथा कानुन मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए ।

संघका नारायणी अञ्चल शाखाका डा. राजदेव कुशवाहा चिकित्स्कहरुले निर्धक्क भएर काम गर्ने वातावरण बनाउन जोड दिए । ‘मुलुकी अपराध संहितामा चिकित्सकहरुलाई पनि अन्य अपराधी सरह व्यवहार गरिएको छ,’ उनले भने, ‘आन्दोलन हाम्रो रहर होइन, बाध्यता हो । आफैं असुरक्षित भएर त कसरी विरामीको उपचार गर्न सकिन्छ ।’

चिकित्सकहरुले ऐनले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल घटाएको बताएका छन् । उनीहरुका अनुसार ऐनको परिच्छेद १९ को इलाज सम्बन्धी महलमा उल्लेख गरिएको दफा उपदफाहरुले समस्या मात्रै खडा गर्ने देखिन्छ ।

चिकित्सकहरुको आन्दोलनका कारण वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जका अन्य निजी अस्पताल, क्लिनिक, नर्सिङ होममा आकस्मिक बाहेक सबै सेवा ठप्प रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment