+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares

मेरो कार्यकालमा भ्रष्टाचारी आतङ्कित भइराख्छन्: नवीन घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते २०:५३

४ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरे संसदीय समितिबाट अनुमोदित भएका छन् । संसदीय सुनुवाई विशेष समितिले घिमिरेको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । त्यसअघि समितिमा सुनुवाई भएको थियो ।

तर, कार्यवाहक आयुक्त समेत रहेका घिमिरेले सांसदहरुबाट प्रश्न भन्दा धेरै शुभकामना तथा बधाई पाए ।

बैठकको सुरुमा समिति सभापति लक्ष्मणलाल कर्णले संवैधानिक परिषदबाट सिफारिस भएर आएका घिमिरेलाई आफ्नो आगामी कार्ययोजना पेस गर्न समय दिए । घिमिरेले भ्रष्टाचार नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्ने र सुशासन कायम गर्न भूमिका खेल्ने प्रतिवद्धता जनाए ।

घिमिरेले पौने घण्टा लगाएर आफ्नो भावी कार्यदिशा र प्रतिवद्धता पुरा गर्ने क्रममा आइपर्ने चुनौतीहरु समितिसामू राखे ।

घिमिरेको प्रस्तुतीपछि सभापति कर्णले प्रस्तुत कार्ययोजनामाथि प्रश्न गर्न सदस्यहरुलाई समय दिए । तर, अधिकांशले प्रश्न भन्दा बढी घिमिरेको प्रशंसा गरे, आगामी कार्यकालका लागि शुभकामना दिए ।

अख्तियार प्रमुखमा सिफारिस घिमिरेविरुद्ध सुनुवाई समितिमा एउटा पनि उजुरी परेको थिएन । त्यसैले पनि सांसदहरुलाई बधाई र शुभकामना दिन सहज भयो । प्रश्न भन्दा बढी प्रशंसा पापछि गत फागुनदेखि अख्तियारको कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आएका घिमिरे प्रफुल्ल देखिन्थे ।

‘घिमिरेविरुद्ध उजुरी नै परेन । यो अख्तियार प्रमुखमा स्विकारोक्तिको प्रमाण हो’ सत्तारुढ दल नेकपाका संसाद सुरेन्ऽ पान्डेले भने, ‘तपाईंको कार्ययोजना पनि सकारात्मक लाग्यो । बधाई तथा शुभकामना ।’

पूर्वअर्थमन्त्री समेत रहेका सांसद पाण्डेले घिमिरेलाई निर्माण क्षेत्रमा हुने भ्रष्टाचार रोक्नेतर्फ ध्यान दिन सुझाएका छन् । त्यसका लागि प्राविधिको प्रयोग गर्न सकिने उनको सुझाव थियो ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिबद्धताहरुलाई ब्यबहारिक कार्यन्वयनमा लैजान आग्रह गरे । ‘राम्राराम्रा दस्तावेज बनाएर मात्र हुँदैन । यसअघि पनि धेरै राम्रा योजनाहरु आएकै थिए’ कार्कीले भने, ‘गरेका प्रतिवद्धताको व्यवहारिक कार्यान्वयन भयो भने मात्र त्यसको मुल्यांकन हुन्छ ।’

सांसद अमृता थापाले प्रस्तावित प्रमुख आयुक्त घिमिरेले चुनौतीका सीमा कम मात्रै देखेको हो कि भन्ने आशंका व्यक्त गरिन् । ‘कामै गरेर देखाउँछु भनेर हो वा चुनौतीका सीमा नदेखेर हो अख्तियारका धेरै चुनौतीका विषयहरु आएका छैनन्’ नेकपाकी सांसद थापाले भनिन् ‘जे जस्तो भएपनि धेरैले तपाईँको प्रशंसा गरेका छन् । काम पनि त्यहि ढङ्गले गर्नुहोला भन्ने शुभकामना छ ।’

सांसद योगेश भट्टराईले यसअघि अख्तियारले दायर गरेका मुद्दा अदालतबाट पराजित हुनेक्रम बढेको भन्दै किन त्यस्तो भएको भन्ने प्रश्न गरे । ‘अब त्यस्तो हुन्छ कि हुँदैन प्रष्ट पार्न आग्रह गर्छु’ उनले भने ।
ठुला माछा उम्कने तर, साना माछामाथि जाल थाप्ने काम हुँदै आएको भन्दै उनले अब त्यस्तो हुन्छ कि हुन्न प्रष्ट पार्न आग्रह गरे । नितिगत भ्रष्टाचार बढेको भन्दै त्यसलाई कसरी रोक्ने प्रष्ट योजना नआएको बताए ।

विगतमा लोकमान सिंह कार्की पनि प्रक्रियाबाटै अख्तियार प्रमुख भएको स्मरण गर्दै उनले भने, ‘लोकमानले गरे जस्तो त हुँदैन ?’

सांसद शिवकुमार मण्डलले आयोगलाई विवादरहीत बनाउने गरी कार्यसम्पादनमा भूमिका खेल्न सुझाए । सांसद पार्वत गुरुङले अख्तियारको औचित्य पुष्टि हुने गरी काम गर्न आग्रह गरे । ‘गलत काम गर्नेलाई मात्रै होइन, काम गर्न नसक्नेलाई पनि महाअभियोग लगाउनुपर्छ’ उनले भने ।

कांग्रेस सांसद पुष्पा भुसालले विगमा अख्तियार विवादास्पद भएको भन्दै त्यो अवस्था नदोहोरिने आधार खोजिन् ।

सांसद निरुदेवी पालले भ्रष्टाचार मुक्त नेपाल घोषणा गर्न सक्नुहोस् भन्दै प्रस्तावित प्रमुख आयुक्त घिमिरेलाई शुभकामना दिइन । अर्का सांसद भीमसेनदास प्रधानले राजनीतिक प्रभावमा नपरी काम गर्न सुझाए ।

सांसद पुर्णाकुमारी सुवेदीले पनि सुनुवाइकै क्रममा बधाई र शुभकामना दिइन् । नीति र नियतभित्र रहेर हुने भ्रष्टाचार कसरी रोक्ने भन्ने चुनौती सामना गर्न सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

घिमिरेको जवाफ- विवाद मुक्त भएरै काम गर्छु

सांसदहरुको प्रश्नको जवाफ दिँदै घिमिरेले आफूले विगतमा पनि विवादमा पर्ने कुनै काम नगरेको जिकिर गरे । ‘गत फागुन २ गतेदेखि अख्तियारमा कार्यवाहक प्रमुख आयुक्तको रुपमा पनि काम गरिहेको छु । यो सात महिनाको अवधीमा त्यस्ता कुनै विवादास्पद कार्य भएका छैनन्’ उनले भने, ‘अब पनि त्यस्तो हुँदैन । किनकी सेवा निवृत भएर पनि मलाई यहि समाजमा रहनुछ ।’

यसलाई समातेर सांसदहरुले घिमिरे अग्रगामी ढङ्गले काम गर्ने व्यक्ति नभएको मिडियामा आएको भन्दै जिज्ञाशा राखेका थिए । जवाफमा प्रस्तावित प्रमुख आयुक्त घिमिरेले भने, ‘अख्तियारलाई सही नेतृत्व दिने, भ्रष्टाचार नियन्त्रण र शुसासन कायम गर्नमा मेरो प्रयत्न रहन्छ ।’

अख्तियारलाई राजनीतिक प्रभाव पर्न नदिने र राजनीतिक आग्रह पूर्वाग्रहमा कुनै काम नगर्ने उनको प्रतिवद्धता छ । उनले भने, ‘विगतमा त्यस्तो अभ्यास भएको थियो भने पनि आयोगले पाठ सिक्छ र अब त्यस्तो गदैन ।’

आफ्नो प्राथमिकतामा निर्वाचन खर्च कम गर्ने, भडि्कलो सामाजिक व्यवहारलाई नियन्त्रण भएको उनले बताए ।

उजुरी आएपछि मात्रै नभएर शंका लागेका व्यक्तिका सन्दर्भमा आयोगले आन्तरिक छानविन गर्ने र उसले सार्वजनिक गरेको सम्पत्ति विवरणमा मेला नखाए मुद्धा चलाउने गरी अगाडि बढ्ने उनले बताए ।

एउटा मुद्धा एक जना आयुक्तले मात्रै नहेर्ने, सेवा प्रवाहमा भएको ढिलासुस्ती कम गर्न कम्प्लेन डेस्कको स्थापना गर्ने योजना समेत रहेको उनले सुनाए । घिमिरेले भ्रटाचारी सँधै आतङ्कित हुनुपर्ने र आफ्नो कार्यकालमा भ्रष्टाचारी आतङ्कित भइराख्ने दावी समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?