+
+
Shares

हवाई रुट थप्ने सहमतिबाट किन पछि हट्यो भारत ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २९ गते २०:५२

२९ असोज, काठमाडौं । भदौ अन्तिम साता भारतको पुनेमा भएको विमिस्टेक राष्ट्रहरुको सैन्य अभ्यासमा नेपालले अन्तिम समयमा सहभागिता जनाएन ।

नेपाली सेनाले टोली पठाउने तयारी गरिसकेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकेका थिए । नेपालको कदमप्रति भारत र उसको सेना असन्तुष्ट देखिएको थियो ।

सैन्य अभ्यास प्रकरणको ठीक एक महिनापछि चार वटा हवाई रुट थप्ने सहमतिबाट भारत नाटकीय रुपमा पछि हटेको छ । कारण भनेको छ-सेनाले मानेन ।

असार पहिलो साता काठमाडौंमा भएको वार्तामा महेन्द्रनगर, नेपालगञ्ज, जनकपुर र विराटनगर रुट थप्ने सम्झौतापत्रमा हस्ताक्षर नै भएको थियो । यसलाई ओली सरकारले भारतसँग सम्बन्ध थप सुमधुर भएको प्रमाणका रुपमा अथ्र्याएको थियो ।

उक्त सहमतिअनुसार उडान सुरक्षा मूल्याकंन टुंगो लगाउन नेपाली टोली दिल्ली गएको थियो ।

तर, ‘सेनाले मानेन’ भन्दै भारत हवाई रुट थप्ने सहमतिबाट एकाएकपछि हटेको छ ।

भारतीय पक्ष सहमतिबाट पछि हट्दै तटस्थ बसेको प्राधिकरणका निर्देशक सञ्जिव गौतमले पुष्टि गरे ।

‘प्राविधिक टोली यसै फर्किएको छ, अब यो विषय मन्त्रालय वा माथिल्लो तहबाहेक प्राविधिक टोलीबाट सम्भव देखिँदैन’, उनले भने ।

अधिकारीहरुका अनुसार भारतीय पक्षले दुई वटा रुट थप्न सेनाले मानेन भनेको थियो । बाँकी दुई रुटबारे छलफल गर्न सकारात्मक भएपनि नेपालले चाहेन । ‘चार वटा रुटमा सहमति भएकाले दुई वटामा कुरा गरिएन’ एक अधिकारीले भने ।

प्रधानमन्त्री स्तरमा सम्वाद भएको र नागरिक उड्डयनका अधिकारीहरुले हस्ताक्षर गरेको सहमतिबाट भारतीय पक्ष एकाएक किन पछि हट्यो प्रष्ट भइसकेको छैन ।

तर, सरकारी अधिकारीहरुले भने संयुक्त सैन्य अभ्यासमा सहभागिता नजनाउने नेपालको निर्णय र चीनसँग भएको ट्रेड एण्ड ट्रान्जिट टि्रटीको प्रोटोकलमा भएको हस्ताक्षरप्रति भारतको असन्तुष्टि त होइन भन्ने आशंका गरेका छन् ।

‘भारतीय सेनाले नमानेको हो कि राजनीतिक नेतृृत्वले नै नचाहेको हो प्रष्ट भइसकेको छैन’ एक अधिकारी भन्छन्, ‘उच्च तहमा सम्वाद भएपछि थप भन्न सकिएला ।’

नेपालमा अहिले चीनबाहेक अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय उडान भर्ने विमानहरु सिमराबाट भित्रिने गरेका छन् ।

नेपालले नेपालगञ्ज, महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट रुट माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?