Comments Add Comment

प्रवासीको दशैंः म्यासेन्जरबाट आर्शिवाद थाप्नेदेखि सामूहिक टिका लगाउनेसम्म

युएई । नेपालमा रहेकाहरुले परिवारको साथमा दशैं मनाउँछन् । देशको भुगोलभन्दा बाहिर रहेका नेपालीका लागि दशैं खल्लो बनेर आउँछ ।

यद्यपि, उनीहरुले महान् चाड दशैंलाई भुल्न सक्दैनन् । दशैं, तिहार जस्तो चाडपर्वलाई यहाँ पनि धुमधामका साथ मनाइने गरिएको छ ।

दशैंमा टिका लगाउने, मिष्ठान्न भोजन गर्ने र साथीभाइ तथा आफन्तसँग एकआपसमा जमघट हुने परम्परा रहँदै आएको छ ।

युएईको बरदुबई पार्क नेपालीहरु भेला हुने स्थान हो । नेपाली पार्क नामले समेत यो स्थान परिचित छ । हरेक हप्ताको शुक्रबार र विभिन्न चाडपर्वमा यहाँ नेपाली समुदायको बजार लाग्छ ।

यो साथीभाइ भेटघाट र दुःख सुख साट्ने संगमस्थल पनि हो । यहीँ रहेर यस वर्षको दशैँ मनाउने तयारीमा छन् मकवानपुरका प्रयासराज खनाल ।

दुई वर्षअघि तिहारको लक्ष्मी पूजाको दिन घर छोडेर उनी परदेशिएका थिए । अरुको घरमा धपक्कै बत्ती बलेको देख्दा मनलाई सम्हाल्न निकै कठिन भएको उनी स्मरण गर्छन् ।

‘चाडवार्डमा घर छोड्दा कसको मनभारी नहोला र ?’, उनी भन्छन्, ‘तर, भिषा आएर टिकट पनि भइसकेपछि जान्न भन्ने मिलेन ।’

यूएई आउनुअघि उनी वैदेशिक राजगारीकै क्रममा मलेशियामा थिए । चार वर्ष भयो उनले दशैँमा टिका नलगाएको ।

गाउँघर सम्झदै विदेशमा बस्नु उनको बाध्यता हो । तर, यसपटक भने युएईमै साथीभाइबाट टिका लगाउने योजना उनले बनाएका छन् ।
पण्डित्याइँमा झुकाव भएकाले यो पटक आफैंले जमरा समेत राखेको उनले अनलाइनखबरलाई बताए ।

उनले चित्त बुझाउँदै भने, ‘विदेशमा भएर के भयो र ? आखिर हाम्रो महान् चाड साथीभाइसँग बसेर रमाइलो गरेर मनाइहालिन्छ । यो नै ठूलो कुरा हो ।’

यद्यपि, प्रदेशमा दशैँ मनाउँदै गर्दा पनि परिवारको चासो र चिन्ता पनि सताइरहने उनले जनाए ।

अरु समय कामले फुर्सद नपाउने नेपालीहरु चाडपर्वलाई एक आपसमा भेटघाटको अवसर बनाउने गर्छन् । नेपालमा साइतको टिका लगाइने भए पनि प्रवासमा भने साइतलाई मध्यनजर गरिँदैन ।

नेपाल र यूएईको समयको तालिका पनि मिल्दैन । काममा छु्ट्टी नपाउनेहरुले बिहान तथा बेलुकाको समय मिलाएर टिका लगाउँछन् ।

नुवाकोटका देवेन्द्र श्रेष्ठ अबुधाबीमा सेक्युरिटी गार्डमा कार्यरत छन् । यसपटक शुक्रबार दशैको टिका लगाउने साइत परेपनि उनी जागिरमा हुने भएकाले साइतमा टिका लगाउन उनले पाउँदैनन् ।

तर, ड्यूटी टाइम सकिएपछि दशैँ मनाउने उनको योजना छ । उनले भने, ‘केही साथीहरु मिलेर खसी किन्ने र कोठामा सबै भेला भएर दशैँ मनाउँदैछौं ।’

युएईमा रहेका विभिन्न संस्थाले एकल तथा सामुहिक रुपमा दशैँ विषेश कार्यक्रमको आयोजना गर्दैछन् । ती संस्थाको अगुवाइमा सामूहिक टिका ग्रहण कार्यक्रम पनि हुने गर्छ ।

ताप्लेजुङ समाज सेवा समिती युएईकी अध्यक्ष सोनी भण्डारी यस वर्ष सामूहिक दशैँ मनाउने योजनामा छन् । त्यसका लागि नवदुर्गाको मन्दिर स्थापना गरी सामूहिक दशैँको तयारी भइरहेको उनले बताइन् ।

६ वर्षदेखि युएईमा कार्यरत रहँदा विभिन्न सामाजिक संस्थामा आवद्ध भएर दशैँ मनाएको अनुभव उनीसँग छ । यो वर्ष पनि घटस्थापनादेखि नौ दिनसम्मै नवदुर्गाको पुजा गरी दशमीका दिन नजिकका साथीसँग टिका लगाउने उनको योजना छ ।

परदेशमा आएपछि यहाँको कानुन अनुसार वस्नुको विकल्प छैन । चाडपर्व आएपछि परदेशमा रहेका नेपालीलाई हर्ष न विस्मत बाहेक अरु हुन सकेको छैन ।

दुई वर्ष कतार बसेर घर फर्किएपछि गत साल परिवारसँगै दशैँ मनाएका स्याङजाका विष्णु थापा यो वर्ष युएईमा छन् । तर, परिवारबाट छुटिएपछिको दशैँ उनका लागि खल्लो छ ।

यो वर्ष निधारमा टिका नलगाएपनि साथीभाईसँग शुभकामना साट्ने उनी बताउँछन् ।

उनले थपे, ‘न त दशै आयो भनेर समयमा घर जान सकिन्छ न त विदेशमै बसेर मनाउने मौका मिल्छ ! सामाजिक सञ्जालमार्फत टिका र आर्शिवाद ग्रहण गर्नपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment