Comments Add Comment

‘राम्रो खेल्दा खेल्दै राष्ट्रिय टिममा परिनँ’

३ कात्तिक, काठमाडौं । केही समयअघिसम्म नेपाली फुटबलका स्थापित मिड्फिल्डर थिए, भोला सिलवाल । राष्ट्रिय टिमबाट करिब ८ वर्ष खेलेका उनी एकाएक गुमनाम बने ।

सन् २०१५ मा घाइते भएर राष्ट्रिय टिमबाट बाहिरिएका सिलवालले फेरि कमब्याक गर्न सकेका छैनन् । नेपाल पुलिस क्लबमा २००५ देखि निरन्तर खेल्दै आएका उनी फेरि देशका लागि खेल्न लालायित छन् । तर नयाँ पुस्ताका खेलाडीहरुलाई पन्छाएर आफ्नो स्थान बनाउन उनलाई निकै गाह्रो छ । असम्भव भने छैन ।

पुलिसका कप्तानसमेत रहेका सिलवालसँग अनलाइनखबरका लागि सरोज तामाङले गरेको छोटो कुराकानीः

भोला सिलवाल एकाएक गायब भयो भन्छन् नि, आजकाल के गर्दै हुनुहुन्छ ?

यस्तो हो, मैले खेल्ने समयमा खेलेँ । तर, घाइते भएर करिब ६-७ महिना बाहिर भएपछि म हरेक कुराबाट पछि पर्दै गएँ । चोट निको भएर आउँदा पनि राष्ट्रिय टिममा मलाई बोलाइएन ।

त्यसपछि म आफ्नै क्लबबाट खेल्न थाले । नेपाल पुलिस क्लबको खेल स्तर विगत २-३ वर्षदेखि खस्केको थियो । तर, अहिले नयाँ खेलाडीको आगमनसँगै हाम्रो स्तर फेरि उकासिएको छ ।

तपाईंलाई लागेको चोट कस्तो प्रकृतिको हो, जसले तपाईंको करिअरलाई डुबायो ?

अन्तिम पटक म सिनियर टिमबाट पुनेमा भारतविरुद्ध खेल्न जाँदा मेरो एङ्कलमा समस्या उत्पन्न भएको थियो । एङ्कलमा समस्या आपछि मैले ३-४ महिना रेस्ट गरेँ । त्यसबेला यहाँ लिग भइरहेको थियो, मैले खेल्न सकिन ।

त्यसबेला नेपालमा नयाँ प्रशिक्षक आउनु भएको थियो प्याटि्रक । उहाँले मलाई २ महिनाको समय दिनुभएको थियो ।

त्यतिञ्जेलमा म ठिक हुन सम्भव नै थिएन । मलाई निको हुन ४ महिना लाग्यो । पछिल्लो स्क्वाडहरुमा चाहिँ मलाई बोलाइएन ।

अहिले चाहिँ पूर्णरुपमा फिट हुनुहुन्छ ?

अँ, एकदम । अहिले पूर्णरुपमा फिट छु । त्यसैले त टिम क्याप्टेन भएर खेलिरहेको छु ।

सिनियर राष्ट्रिय टिममा तपाईलाई फेरि देख्न पाहिएला ?

यसका लागि मैले अझै बढि मेहेनत गर्नुपर्छ । कमब्याक गर्ने वातावरण म आफैंले बनाउनुपर्छ । अहिले लिग भइरहेको छ । लिगमा राम्रो प्रदर्शन गरेँ भने पुनरागमन हुन्छ कि भन्ने छ तर, ढुक्क चाहिँ छैन ।

राष्ट्रिय टिमबाट खेल्ने इच्छा अझै अझै मरेको छैन । टिममा परेँ भने अब १-२ वर्ष त खेल्न सक्छु होला ।

राष्ट्रिय टिममा पर्दा र नपर्दा कस्तो फरक महुसुस हुँदो रहेछ ?

सुरुमा म विराटनगरमा आफ्नै घरतिर खेल्दा ए डिभिजन लिग खेल्ने धोको हुन्थ्यो । त्यतिबेला राष्ट्रिय टिम निकै टाढाको कुरा थियो ।

पछि ट्रायल पास भएर नेपाल पुलिस क्लब ज्वाइन गरेँ । यसमा आएलगत्तै लिग खेल्न पाएँ । लिगमा राम्रो प्रदर्शन गरेपछि राष्ट्रिय टिममा पनि पर्ने आशा जागृत भयो ।

हरेक खेलाडीको पनि इच्छा हुन्छ राष्ट्रिय टिममा पर्ने । अथक मेहेनतपछि मैले त्यो स्थान पनि पाएँ ।

त्यतिबेला राष्ट्रिय टिममा हुँदा निकै खुशी भएको थिएँ । तर पछिल्लो समयमा फिट भएर राम्रो खेल्दा-खेल्दै पनि राष्ट्रिय टिममा बोलाइएन । यसमा अलिकति दुःख लागेको छ ।

भोला सिलवाल सेफ ल्यान्डिङ गर्ने तरखरमा छ भनिन्छ नि ?

मान्छेले भन्ने कुरा हो । १३-१४ वर्ष भइसक्यो फुटबल खेल्न थालेको । विस्तारै विस्तारै सेफ ल्यान्डिङतिर जाने नै हो ।

पालो आउँदैछ । जस्तो अनन्त थापा दाइ पहिले खेलाडी हुनुहुन्थ्यो, अहिले प्रशिक्षक हुनुहुन्छ ।

म पनि १-२ वर्षसम्म खेल्छु । त्यसपछि प्रशिक्षकतिरै ढल्किने कि भन्ने लागिरहेको छ ।

भनेपछि तपाईको जीवनमा फुटबल बाहेक अर्को अप्सन नै छैन ?

फुटबलबाहेक अरु केही जानेको नै छैन । बच्चादेखि नै फुटबलको पछिपछि कुदेँ । अब पनि फुटबलकै लागि केही गर्ने विचार छ ।

भोलिका दिनमा पुलिस क्लबलाई नै हेर्ने पो हो कि भन्ने सोचिरहेको छु । किनभने मलाई यहाँसम्म पुर्‍याउनमा पुलिस क्लबको योगदान ठूलो छ ।

भोला सिलवाल भनेर नै पुलिस क्लबले चिनाएको हो । त्यसैले न फुटबल छोड्न सक्छु, न पुलिस क्लव ।

जारी ए डिभिजन लिगमा चाहिँ तपाईको लक्ष्य चाहिँ के छ ?

नेपाल पुलिस क्लबकै लक्ष्य मेरो पनि लक्ष्य हो । हामी लिग जित्ने सोचिरहेका छौं ।

लिगकै लागि भनेर साढे दुई महिना अघिदेखि अभ्यास गरिरहेका छौं । मोफसलमा करिब ८-९ वटा प्रतियोगिताको फाइनलमा पुगेका थियौं ।

लिग च्याम्पियनभन्दा तलको लक्ष्य लिने कुरै आउँदैन । यो लिगलाई मात्रै हैन, पछि कयौं वर्षसम्मको लागि बलियो टिम बनाउने हाम्रो लक्ष्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment