+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

पर्साका लेखापढी कानून व्यवसायीहरुद्वारा मन्त्रालयको निर्देशन अटेर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक ७ गते १७:२६

७ कात्तिक, वीरगञ्ज । पर्साका लेखापढी कानून व्यवसायीहरुले भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयले गरेको आग्रहलाई अटेरी गर्दै आएका छन् ।

मन्त्रालयले सरकारी कार्यालयको हाता बाहिर गएर सेवा प्रदान गर्न आग्रह गरेको भएपनि उनीहरुले अटेर गर्दै आएका हुन् ।

साउन २९ गते भएको मन्त्रीस्तरीय निर्णय अनुसार सम्बन्धित कार्यालय मार्फत कार्यालयको हाता बाहिरै बसेर लेखापढीको काम गर्न, लेखापढी कानून व्यवसायीहरुले अनिवार्यरुपमा परिचयपत्र लगाएर कार्यालयको सुरु विन्दुसम्म मात्र प्रवेश गर्न आग्रह गर्नुको साथै लेखापढी गर्ने अन्य सहायक कर्मचारीहरुलाई कार्यालय हाताभित्र प्रवेश नगर्न भनेको छ ।

त्यसैगरी लेखापढी गर्ने व्यक्तिको नाम, ठेगाना, इजाजत पत्र नं/प्यान नं मालपोत कार्यालयमा बुझाउनसमेत सूचनामा भनिएको छ ।

व्यवसायी भन्छन्ः बाहिर गएर कुनैपनि हालतमा काम गर्न सकिन्न

तर लेखापढी व्यवसायीहरुले यसलाई अटेर गर्दै मालपोत कार्यालयका हाताभित्रै डेरा जमाएर बसेका छन् ।

लेखापढी कानुन व्यवसायी एशोसियसन पर्साका अध्यक्ष रामाधारप्रसाद कलवार मालपोत कार्यालयले गरेको आग्रह लेखापढी कानून व्यवसायीहरुको हित विपरित रहेकोले मान्य नहुने बताउँछन् ।

‘जिल्ला अदालतले अड्डा अदालतमा लेखापढी गर्न अनुमति दिएको छ । हामी माथि अन्याय मात्रै भएको छैन, यसमा अदालतको समेत अबहेलना भएको छ,’ अध्यक्ष कलवारले भने, ‘हामी पान नं लिएर सरकारलाई राजश्व तिरेर कार्यालय हातामा बसेका छौं । हाता बाहिर बस्नु भन्ने कुरा मान्य हुन सक्दैन ।’

आफूले २०४० सालदेखि नै लेखापढीको काम गर्दै आएको बताउने सुरेन्द्र ठाकुरले पनि मन्त्रालयले मालपोत कार्यालयमार्फत गरेको आग्रह मान्न नसकिने बताउँछन् ।

‘मालपोत कार्यालय जहिले स्थापना भयो, लेखापढी कानून व्यवसायीहरुले मालपोत कार्यालयको हाताभित्रै बसेर काम गर्दै आएका हौं । अहिले आएर अचानक संख्या बढी भयो भनेर बाहिर जानु भनिएको छ ,’ ठाकुरले भने, ‘ पहिला बाहिर ठाउँ थियो, अहिले त बाहिर सबै घर बनेको छ । यस्तो ठाडो आदेशले हामी बाहिर गएर काम गर्न सक्दैनौं, बाहिर बस्नैपर्छ भने उचित स्थान मिलाइदिनुपर्छ ।’

केन्द्रीय समितिले दिने निर्देशन अनु्सार नै आफूहरु अघि बढ्ने उनको भनाइ छ ।

लेखापढी कानून व्यवसायी संघ पर्सामा ३ सय ७२ जना लेखापढी कानून व्यवसायी आवद्ध छन् ।

संघमा आवद्ध भन्दा अझै धेरै संघमा आवद्ध नभएका व्यवसायी छन् । सेवाग्राहीको भिड बढी हुने भएकोले मालपोत कार्यालयमा दैनिक १ सय देखि २ सय जनासम्म लेखापढी कानून व्यवसायीहरुले डेरा जमाएर बस्ने गरेका छन् ।

प्रहरी प्रशासन लगाउन बाध्य हुन्छौंः मालपोत अधिकृत

असोज २४ गते भित्रै कार्यालयको हाता छोड्न सूचना जारी गरिएको भएपनि लेखापढी कानून व्यवसायीहरुले अटेर गरेको मालपोत कार्यालय पर्साले जनाएको छ ।
पटक-पटक सूचना प्रकाशन गरी कार्यालय हाताभन्दा बाहिर गएर काम गर्न आग्रह गर्दार् पनि व्यवसायीहरुले अटेर गर्दै आएको मालपोत कार्यालय पर्साका प्रमुख मालपोत अधिकृत गमबहादुर विकले जानकारी दिए ।

‘ण्स्थापना कालदेखि नै कार्यालय हाताभित्र बस्दै आएका रहेछन्, हाता बाहिर नै बसेर काम गर्न आग्रह गर्दै ८ चरण जति वार्ता भइसकेको छ,’ उनले भने, ‘पछिल्लो पटक २४ असोजसम्म आफ्नो व्यवस्था मिलाउन सूचना जारी गरियो । २५ असोजमा एशोसियसनको बैठक बसेर चाडवाडको समय छ भनेपछि असोज महिनासम्मको समय दिईयो । तरपनि उहाँहरु मान्नुभएको छैन ।’

७० प्रतिशतले कार्यालयको हाता छोडेर बैकल्पिक व्यवस्था गरिसकेको भएपनि ३० प्रतिशतले अटेर गरेको प्रमुख विक बताउँछन् ।

सौहाद्रपूर्ण वातावरणमा समस्याको समाधान नभए प्रहरी प्रशासनको प्रयोग गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ । ‘सौहार्दपूर्ण वातावरणमा लेखापढी कानुन व्यवसायी साथीहरुले सहयोग गरे समस्याको समाधान सजिलै निस्कन्छ । उहाँहरुको बाहिरै बस्छौं भन्ने प्रतिबद्धता पनि आएको छ । अलिकति समय दिनुपर्छ भन्नुभएको छ । हामी पर्ख र हेरको अवस्थामा छौं,’ उनले भने, ‘अटेरी गर्नुहुन्छ भने प्रहरी प्रशासनको सहयोग लिन बाध्य हुन्छौं ।’

पर्सामा लेखापढी कानून व्यवसायीहरुले कार्यालय भवनसमेत मालपोत कार्यालयकै हाताभित्र बनाएर बसेका छन् । तत्कालीन मालपोत कार्यालय प्रमुख पुस्कल कुमार थापाको कार्याकालमा बनेको भवनको २०६७ साल चैत २१ गते उनले नै उद्घाटन गरेका थिए ।

कार्यालय भित्र रहेको भवन छोड्न लेखापढी कानून व्यवसायी तयार नहुने अवस्था आएकोले माथिल्लो निकायमा जानकारी गराईएको प्रमुख मालपोत अधिकृत विकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?