१८ कात्तिक, दार्चुला । दार्चुलामा भारतबाट खानेतेल आयात गर्न प्रतिबन्ध लगाएको छ । स्थानीय प्रशासनले गत तीन/चार दिनदेखि सीमा नाकाहरुमा भारतबाट खानेतेल आयात गर्न नदिएको जानकारी बताएका छन् ।
स्थानीयले सधैजसो आयात गर्ने गरेको खानेतेल तिहारका बेला स्थानीय प्रशासनले रोक लगाएको । यसअघिका वर्षहरुमा चाडवाडमा भारतबाट आयात हुने तेलको परिमाण बढ्ने गरेको थियो ।
तिहारका बेला भारतमा काम गरी घर फर्किनेहरु पनि विभिन्न तिहारका सामग्रीहरु तथा खानेतेल ल्याएर सीमा नाका भएर आउने गर्दछन् । तर, सीमा नाकाहरुमा सुरक्षाकर्मीले खानेतेल ल्याउन नदिएको मार्मा गाउँपालिका वडा नम्बर ६ का जगदिश कोट्टारीले बताए ।
अघिल्लो हप्तासम्म ल्याउन दिइरहेको भारतीय खानेतेल अहिले भने सीमा नाकाहरुबाट भित्र्याउन नदिइएको अर्का स्थानीय जयसिँह धामीको भनाइ छ ।
भारतीय खानेतेलमा अखाद्य बस्तु मिसावट अर्थात् स्वास्थ्यका लागि हानिकार पुष्टि भएपछि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए ।
भारतीय खानेतेल उपभोग गर्न लायकको नभएकाले मन्त्रालयको निर्देशन अनुसार दार्चुलामा पनि भारतीय खानेतेल आयातमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
भारतीय खानेतेल परीक्षण गर्दा प्रयोग गर्न स्वास्थ्यका लागि हानिकारक भेटिएकाले मन्त्रालयले भारतीय तेलमा प्रतिबन्ध लगाउन निर्देशन गरे बमोजिम सीमा नाकाहरुबाट भारतीय खानेतेल आयातमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।
कहिलेसम्म प्रतिबन्द लगाइने तथा कहिले खोलिने भन्ने बारेमा पनि मन्त्रालयबाट परिपत्र आएपछि मात्रै निर्णय हुने छ ।
मन्त्रालयकै निर्देशन अनुसार भारतीय खानेतेलमा रोक लगाइएकोले मन्त्रालयले नै निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।
मन्त्रालयको निर्देश पश्चात् प्रतिबन्ध लगाइएको भारतीय खानेतेल हालसम्म केही मात्रामा बरामदसमेत गरिएको छोटी भन्सार कार्यालय दार्चुलाका प्रमुख नरसिँह बडालले जानकारी दिए ।
दैनिक रुपमा भारतबाटै आयात गरिदै आएको खानेतेलमा प्रतिबन्द लगाएसंगै नेपाली उपभोक्ताहरुलाई केही समस्या भएको छ ।
उद्योग वाणिज्य संघका अनुसार नेपालमै भारतको तुलनामा सस्तोमा उपलब्ध भइरहेकाले स्वदेशी सामग्री प्रयोग गर्नु पर्ने बताएको छ ।
उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिँह ठगुन्नाले विदेशी समान भन्दा स्वदेशी समान प्रयोगमा जोड दिए देशको अर्थतन्त्रसमेत बलियो हुने बताए ।
स्वदेशी समान विदेशी समान भन्दा गुणस्तरीय हुने भएकाले स्वदेशी समानको प्रयोग गर्नुपर्ने अध्यक्ष ठगुन्नाको धारणा छ ।
दार्चुलाका स्थानीयहरु प्रायःजसो भारतीय समानहरुमै भरपर्ने गरेकाले सीमा नाकाहरुमा विभिन्न समस्या झेल्नु परेको अन्य स्थानीयहरुको भनाई छ ।
दार्चुला बजार क्षेत्रका स्थानीय तरकारी देखि दाल चामल खरिद गर्नसमेत भारत धाउने गरेका छन् ।
भारतबाट सामग्री ल्याउदाँ भारतीय सुरक्षाकर्मी तथा भारतीय कस्टमले दुःख दिने गरेको छ । तैपनि नेपाली नागरिकहरु भारतबाटै समान ल्याउन रुचाउने गरेका छन् ।
स्वदेशी तरकारी ताजा र गुणस्तरीय हुने भएपनि तरकारी ल्याउन भारतीय बजार धाउने नेपालीहरुको बानीका कारणपनि भारतीय सुरक्षाकर्मीले दिने दुःख सहनु परेको नेपाली व्यापारीहरुको भनाइ छ ।