+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आयात रोकौं, कृषि उद्योगलाई बोकौं

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १६:५५

नियम-कानून बनाउनु ठूलो कुरा होइन, त्यसलाई पालना गर्नु ठूलो कुरा हो । यहाँ नियम-कानून राम्रो बने पनि कार्यान्वयनको ढर्रा पुरानै छ । नयाँ संविधान बनेको छ, नयाँ परिवेश छ, तर काम गर्ने तरिका पुरानै । मुख्य समस्याको जड राजनीतिक नेतृत्व हो ।

राजनीतिक पार्टीभित्र गुटबन्दी हुन्छ । गुटहरु हुन्छन् । ती गुटको व्यवस्थापन गर्न स्रोत चाहियो । वैधानिक तवरबाट त त्यो स्रोत जुट्दैन । पार्टीको कोषबाट लिएर कसैले गुट त चलाउन सक्दैन । त्यसको लागि उसले दुई नम्बरी तरिका अपनाउँछ । त्यसपछि आउने हो समस्या ।

कर्मचारीलाई हामी दोष थोपर्छौं । तर, मुख्य दोषि कर्मचारी होइनन् । कर्मचारीलाई त कहाँ खटाउने, पठाउने भन्ने हामी (सरकारमा भएका व्यक्ति) ले नै निर्णय गर्ने हो नि । त्यो सरकारको निकायले गर्ने कुरो हो । मुख्य कुरा हामी आफैँ नियम-कानून बनाउँछौं, तर पालना गर्दैनौं । पार्टीमा विधान बनाउँछौं, पालना गर्दैनौं ।

जनतालाई सँधै ढाँट्ने । भन्ने कुरा एउटा, गर्ने अर्को । उदाहरणका लागि श्रमिकको न्युनतम ज्याला तोकियो । कसले पायो त ? अहिले बोर्डिङ स्कुलहरु टोल-टोलमा चलिरहेका छन् । बीएस्सी पास गरेकी मेरो छोरी एउटा बोर्डिङ स्कुलमा काम गर्दा तलब थियो, ११ हजार । यो अहिले पनि चलिरहेको छ सबैतिर ।

सबैलाई थाहा छ । तर, किन यसमा हस्तक्षेप हुँदैन ? किनकी त्यहाँबाट हामीले स्रोत (पैसा) लिएका छौ । अनि कसरी हस्तक्षेप गर्ने ?

सडक बनाउने इञ्जिनियर, ठेकेदारहरुसँग कमिसन लिएपछि राम्रो बनाउ कसरी भन्ने ? मुख्य चुनौति भनेको राजनीतिक नेतृत्व नै हो, जसको भनाइ र गराइमा एकरुपता छैन । नियम-कानून एकातिर, काम अर्कोतिर भइरहेको छ । थाहा छ, नदेखेको पनि होइन । तर, कतै पनि दण्ड हुँदैन ।

हिजो मात्रै मेरा छोरीहरु कपडा किन्न गएका थिए । सुरुमा ३८ सय भनेछ । तर, बार्गेनिङ गरेर २५ सयमा किनेछन् । एक-दुई सय अन्तर भए त एउटा कुरो । ३८ सय र २५ सयको अन्तर कति हो ? यस्ता चिजहरुमा जो बेथिती छ, यो सबैलाई थाहा छ । नीति निर्माण गर्नेहरुले त्यो बेथितीलाई तोड्दैनन् ।

म अर्को सामान्य उदाहरण दिन्छु । ओडीएफ कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने सन्दर्भमा भव्य कार्यक्रम हुन्छ । त्यहाँ के गर्ने के नगर्ने भनेर सपथ खुवाइन्छ । खाना खानुअघि हात धुने लगायतका । तर, ती कार्यक्रममा जो प्रमुख अतिथी बनेर जान्छन्, उनीहरुले नै त्यो पालना गर्दैनन् । साबुनले हात धुनुपर्छ भनेर फलाक्छन्, तर आफैं धुँदैनन् ।

त्यसकारण डबल डिलिङ बन्द हुन जरुरी छ । माथिल्लो तहबाट सुरु हुनुपर्यो । बरिष्ठ नेताहरुबाट, प्रधानमन्त्रीबाट, मन्त्रीबाट सुरु हुनुपर्यो । त्यसपछि सब ठिक भइहाल्छ नि । अनि व्यवसायी, उद्यमी, कर्मचारी सबै ठिक ठाउँमा आउँछन् ।

कृषिको कुरा गरौं । कृषि पेशालाई मर्यादित बनाउने, सम्मानित बनाउने कुरो चुनौतिपूर्ण छ । हाम्रो प्राथमिकता के हो भन्दा कृषि हो भन्ने । तर, खोई प्राथमिकता ? व्यवहारमा कृषि प्राथमिकतामा छ त ? हामीले बजेट बिनियोजन कति गरेका छौं ?

श्रम मन्त्री गोकर्ण विष्टले अहिले मलेसियासँग श्रम सम्बन्धि सम्झौता गर्नुभयो । ठूलो कुरो हो । तर, मुख्य कुरो त नेपाली युवाहरुलाई नेपालमै कसरी रोक्ने भन्ने नै हो । कसरी रोजगारी सिर्जना गर्ने भन्ने हो । यदि युवाहरु विदेश जाने नै हो भने पनि दक्ष भएर जानुपर्छ । दक्ष जनशक्तिले बढी पैसा पाउँछन् । सम्मान पनि पाउँछन् । देशभित्रै रोजगारी सृष्टि गर्नलाई त कृषि नै हो । कृषिमा थोरै पुँजी लगानी गरेर गर्न सकिन्छ । जिम्मेवार निकायले धेरै कसरत केही गर्नुपर्दैन । उपयुक्त नीति बनाइदिए हुन्छ ।

हालै मैले अखबारमा एउटा लेख लेखेको थिएँ । त्यसमा मेराे प्रस्ताव के थियो भने एक वर्षपछि हरियो तरकारी आयात गर्दैनौं भनेर घोषणा गरौं । त्यसपछि कसैले पनि आयात गर्दैन । दुई वर्षपछि आलु, प्याज लगायत आयात गर्दैनौं भन्दिउँ । तीन वर्षपछि हामी खाद्यान्न, मासु आयात गर्दैनौं भन्दिउँ त । फटाफट सुरु भइहाल्छ नि उत्पादन । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयात हुने वस्तुमा भन्सार शुल्क बढाएर आफ्नो आन्तरिक उत्पादन र व्यापारलाई संरक्षण गर्न हुने, अनि हामीले चैं गर्न नहुने के हो ?

हामी स्वेशी उद्योगलाई संरक्षण गर्न सक्दैनौं, अनि विदेशमा गएर यो देउ, त्यो देउ भनेर माग्छौं । अनि भिखमंगालाई कसले सम्मान गर्छ ? उनीहरुले कहाँबाट ल्याएर दिन्छन् ? हामीबाटै लगेको पैसा त दिने हो । हामीलाई शोषण उत्पिडन नगर, हामीमाथि थिचोमिचो नगर, हामीलाई तिमीहरुले केही दिनुपर्दैन पो भन्ने हो ।

संविधान नयाँ आयो । नयाँ संविधान आएपछि त नयाँ व्यवहार हुनुपर्यो नि । प्रधानमन्त्रीको व्यवहार, पार्टीको व्यवहार त बद्लिनुपर्यो नि । संविधानमा हेर्नुस् १८ वटा त मौलिक अधिकार छन् । तर, उनीहरुको व्यवहार बद्लिनु परेन ? तपाईंले त अनुभूति गर्नुपर्यो नि यो नेता बद्लियो भनेर ।

म मन्त्री हुँदा किसान पेन्सन भनेर एउटा योजना ल्याउनुपर्यो भन्ने सोचेँ । कृषिमा सुरक्षित भविष्य त देख्नुपर्यो नि । कृषिमा विकास गरी लगानी गरेरै धेरै देशले उन्नति-प्रगति गरेका छन् । राष्ट्रिय पुँजी सृजना गरेका छन् । हामीले कृषिबाट राष्ट्रिय पुँजी सृजना नगरी कसरी हुन्छ ? हामीकहाँ किसान छँदैछन्, जमिन पनि छँदैछ । किसान र जमिन तपाईंले अन्तबाट ल्याउनुपर्दैन । किन्नु पर्दैन । थोरै पुँजी र आधुनिक प्रविधि र अलिकति ट्रेनिङ-तालिम) दिएपछि त भइहाल्छ । किसानले गरिहेका छन् नि वर्षौंदेखि । अनुभव छ उनीहरुसँग । थोरै आधुनिक तालिम दिनुस्, आधुनिक प्रविधिसँग जोड्दिनुस् । त्यसैले पुँजी सृजना गर्छ ।

अनि पो राष्ट्रिय पुँजी विकास हुन्छ । अर्काले दिएको चिजले राष्ट्रिय पुँजी बनाएर राष्ट्रियताको कुरा गर्ने ? माग्नेको के राष्ट्रियता हुन्छ ? त्यसैले मलाई के लाग्छ भने सरकारले कृषि, पर्यटन र उर्जामा जोड दिनु जरुरी छ ।

रोजगारी सृष्टि गर्न, राष्ट्रिय अाय वृद्धि गर्न पर्यटनको राम्रो सम्भावना छ । त्यसको लागि श्रमिकहरुको उचित व्यवस्था हुनुपर्यो । व्यवसायीको पुँजीको रक्षा गर्दै श्रमिकहरुको हितमा उनीहरुको सेवा सुविधा सुनिश्चित गर्दै जानुपर्छ ।

(सामुदायिक सूचना नेटवर्कले मंगलबार ललितपुरको कुपण्डोलमा आयोजना गरेको ‘संघीय नीतिमा उत्तरदायी व्यवसाय सम्बन्धी ब्यवस्था’ विषयक कार्यक्रममा पूर्व कृषि मन्त्री गजुरेलले दिएको मन्तब्यको सम्पादित अंश ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?