हामी नेपालीहरुको एउटा नराम्रो बानी छः चाडवाडमा खानपानमा सावधानी नअपनाइकन जे पनि खाइदिने । यसैकारण दशैं, तिहार लगायतका चाडवाडमा धेरै मानिसहरु बिरामी पर्छन् ।
विशेषगरि दशैं तिहार लगायतका चाडमा धेरै मसलायुक्त खानेकुराहरु, मासुजन्य परिकारको अत्याधिक सेवन, चिल्लो र गुलियो धेरै हुने मिठाईरोटी र मदिराको सेवन धेरै गर्ने हाम्रो प्रचलनले विभिन्न खालका स्वास्थ्य समस्या निम्त्याउँछ ।
यस्ता समस्याहरुमध्ये चाडवाडमा सबैभन्दा धेरैलाई पाचनसम्बन्धी समस्याले सताउँछ । पाचनप्रणाली शरीरको महत्वपूर्ण अंगमध्ये एक हो । यसले खानालाई पचाउनुका साथै शरीरलाई उर्जा प्रदान गर्छ ।
एक स्वस्थ मानिसको पाचनप्रणालीले शरीरमा रहेको खानालाई राम्ररी पचाएर शरीरलाई अधिकतम पोषण प्रदान गर्छ । तर विभिन्न कारणले गर्दा कहिलेकाही शरीरको पाचन तन्त्रमा समस्या हुने गर्दछ ।
पाचन तन्त्रमा रहेका राम्रो तथा नराम्रो व्याक्टेरियाको सन्तुलन विग्रेमा पाचन तन्त्र खराब हुने गर्दछ । निद्राको कमी, चिल्लो तथा गुलिया खानेकुरा धेरै खाने तथा मदिराका कारण पनि पाचनप्रणालीमासमस्या हुने गर्छ ।
आयुर्वेदमा पाचनप्रणालीलाई अग्नी समान मानिएको छ । पाचनप्रणालीलाई शरीरको उर्जाको स्रोत पनि मानिन्छ । शरीरमा उत्पादित प्रत्येक शक्तिको उत्पादन यही पाचनप्रणालीबाट हुन्छ ।
त्यसैले तिहारमा पाचनप्रणालीलाई स्वस्थ राख्नका लागि निम्न उपाय अपनाउन जरुरी छः
खानेकुरामा विशेष ध्यान दिने
तिहारमा खासगरि चिल्लो र गुलियो रोटीलगायत विभिन्न मिठाईहरु धेरै खाने नेपालीहरुको बानी छ । तिहारमा धेरैले मदिरा पनि सेवन गर्ने गर्छन् । यसले समस्यामा पार्न सक्छ । त्यस्तै बासी रोटी मिठाईहरु खाएमा त्यसले पनि समस्या निम्त्याउन सक्छ ।
गुलिया खानेकुरा धेरै खाँदा पाचनप्रणालीमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।
एकाग्र भएर खाने
व्यस्त जीवनशैलीका कारण प्रत्येक मानिस हतारमा हुन्छन र उनीहरुलाई खाना राम्रोसँग खाने फुर्सद हुँदैन । अझै चाडवाडमा त झनै धेरैले आरामले खाना खाने समय नै पाँउदैनन् । जसले गर्दा उनीहरुको पाचनप्रणालीमा समस्या हुने गर्छ ।
आयुर्वेदका अनुसार प्रत्येक मानिसले एकाग्र भएर खानु पर्छ । एकाग्र भएर खाएमा मस्तिष्कलाई खानाबारे राम्रा जानकारी मिल्छ । त्यस्तै, हल्का, सादा, सुपाच्य खाना तथा सात्विक भोजनले शरीरको अग्नीलाई उर्जावान बनाउन सहायता प्रदान गर्दछ ।
अग्नी निभाउने खानेकुरा नखाने
विभिन्न पेया पेय पदार्थले पेटको अग्नी निभाउने गर्छ । अत्याधिक मात्रामा चिसो पेय पदार्थको सेवनले पाचन तन्त्र असन्तुलित हुने गर्छ । त्यस्तै, धेरै समय सुत्ने, आवश्यकता भन्दा बढी खानाले पनि पाचन तन्त्रमा समस्या हुने गर्छ ।
एउटै समयमा खाना खाने
चाडवाडमा अर्को समस्या भनेको खाना खाने नियमित समय नहुने हो । चाडवाडमा यता उता आफन्तहरुकोमा जानुपर्ने र गाडिमा यात्रा गर्नुपर्ने हुँदा खाना खाने नियमित समयमा तलमाथि हुन्छ । यसले पनि समस्या निम्त्याउँछ । त्यसैले सकेसम्म एउटै समयमा खाना खाने प्रयास गर्नुहोस् ।
कतै गाडिमा यात्रा गर्दैहुनुहुन्छ भने झोलामा केही तयारी खानेकुरा बोक्नुहोस् । यो बानीले शरीरलाई स्वस्थ राख्न निकै मद्दत गर्छ । प्रत्येक दिन एकै समयमा खानेकुरा खानाले पाचन तन्त्रलाई सही अवस्थामा राखेर यसको उत्पादकत्वलाई बढाउँछ ।
लामो समय एकै ठाउँमा नबस्ने
तिहारमा तास खेल्दा वा धेरै पछि भेटभएका आफन्तसँग कुराकानी गर्दा धेरैको घन्टौ एकैठाँउमा बस्ने बानी हुन्छ । लामो समय एकै ठाउँमा बसेर काम गर्नाले पाचन प्रकृया सुस्त हुने गर्छ । त्यसैले आयुर्वेदले जहिले पनि सही पोजिसनमा बस्नका लागि सुझाव दिने गर्छ ।
गुण्स्तरीय खानेकुराको सेवन
दैनिक जीवनमा गुणस्तरीय खाद्य पर्दाथको सेवनले पाचन तन्त्रलाई बलियो बनाउने गर्दछ । आहारमा पर्याप्त मात्रामा सागसब्जी तथ फलफूलको सेवनले पाचन तन्त्रलाई बलियो बनाउने गर्दछ । र, विभिन्न रोगको संक्रमणबाट बचाउने गर्दछ ।
प्रशस्त मात्रामा पानी पिउने
पर्याप्त मात्रामा पानी पिउनाले पाचन तन्त्रलाई बलियो बनाउन सहायता प्रदान गर्छ । पानीको सेवनले पाचन तन्त्रमा रहेका व्याक्टेरियाको सन्तुलन कायम गर्ने मात्र नभएर खानाबाट प्राप्त पोषण तत्वलाई पूरै शरीरमा पुर्याउन समेत मद्दत गर्छ ।
प्रतिक्रिया 4