+
+

किन मर्दैछन् चितवनका गैँडा ?

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १५:४०

२७ कात्तिक, काठमाडौं । हरेक वर्ष संसार भरका हजारौं पर्यटकहरू दुर्लभ एक सिङ्गे गैँडाको एक झलक पाइन्छ कि भनेर नेपालको चितवन राष्ट्रिय निकुञ्ज आउँछन् ।

तर निकुञ्ज वरपर पथ प्रदर्शक भएर १६ वसन्त कटाइसकेका ४६ वर्षीय नबिन अधिकारी भने गैँडा मात्र नभएर बाघ, चितुवा र अन्य जनावरहरूलाई दिनहुँ जसो नजिकबाट देखिरहन्छन् ।

अधिकारीले वन्यजन्तु जङ्गलमा विचरण गरिरहेको मात्रै देख्दैनन् उनीहरू झगडा गरेको, घाइते भएको र मरेको समेत देख्ने गरेका छन् । ‘केही महिना अगाडि मैले दुर्इ गैँडा ३ घण्टासम्म एक आपसमा भिडेको देखेँ’एकाबिहान एउटा पर्यटक समूहलाई जङ्गल घुमाउँदै उनले भने, ‘जब उनीहरू जुध्न छाडे, उनीहरू मध्ये एक मरिसकेको थियो ।’

सन् २०१८ सुरु भएपछि मात्र निकुञ्ज आसपासका क्षेत्रहरूमा कम्तीमा आधा दर्जन गैँडा ‘प्राकृतिक’ कारणले मरिसकेका छन् । यो सङ्ख्या अस्वाभाविक रहेको राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का स्वीकार्छन् ।

सरकारी आँकडाका अनुसार, सन् २००४ देखि २०१४ को अवधिमा निकुञ्जमा ८१ गैँडा (करिब ७ प्रतिवर्ष) ‘अज्ञात’ अथवा ‘प्राकृतिक’ कारणले मरेका थिए । तर सन् २०१५ र २०१७ को अवधिमा यो सङ्ख्या ४० (प्रति वर्ष औसतमा २०) पुगेको थियो ।

कारण के छ त ?

चितवनमा गैँडाको मृत्यु बढ्न थालेपछि विभागले पारिस्थितिक प्रणाली विज्ञ लक्ष्मण पौड्यालको नेतृत्वमा अध्ययन गराएको थियो । अध्ययनको निष्कर्ष सार्वजनिक गरिएको छैन तर, गैँडा किन मर्दैछन् भने विषयमा संरक्षण विदहरूले आ-आफ्ना धारणा अघि सारेका छन् ।

अधिकारी जस्ता पथ प्रदर्शकहरूको पनि आफ्नै धारणा छ । ‘मलाई सोध्नुहुन्छ भने गैंडा एक आपसमा जुधेर मर्दैछन् । तर, यो सतही कुरो मात्र हो । मुख्य समस्या बुझ्ने हो भने तपाईँले राप्ती नदीमा आएको परिवर्तन केलाउनु पर्ने हुन्छ ।’

निकुञ्जको पूर्वबाट पश्चिम बहने राप्ती नदीसँग गैँडाहरूको गहिरो सम्बन्ध छ । गैँडाहरूलाई आहाल चाहिन्छ, उनीहरू हिलोमा रमाउँछन् र राप्ती नदीको किनारमा पाइने काँस उनीहरूलाई निकै मन पर्छ ।

निकुञ्जको पूर्वमा पर्ने कुमरोज सामुदायिक वन मध्यवर्ती क्षेत्रमा जिप सफारी सञ्चालन गरिरहेका अधिकारी भन्छन्, ‘यहाँ हामीले गैँडाहरू १६ घण्टासम्म आहालमा बसेको देखेका छौँ । तर अचेल गैँडाका आहाल र गैँडा दुवै कम देखिन्छन् । ‘

संरक्षण विद् शान्त राज ज्ञवालीको अनुभव पनि पथ प्रदर्शक अधिकारीसँग  मिल्दो जुल्दो छ । उनका अनुसार विभिन्न कारणले राप्तीमा परिवर्तन आएको छ र यसले विशेष गरी निकुञ्जको पूर्वी तटमा गैँडाको वास स्थानलाई असर पारेको छ ।

ज्ञवालीका अनुसार राप्ती नदीको उद्गम थलोतिर मानव वस्ती विस्तार हुँदैछ र यसका कारण नदीमा बालुवाको मात्रा बढ्दो छ । यस्तो बालुवाले गैँडाका आहालहरू पुरिदिन्छन् ।

नदीको पूर्वी तटमा बनेको तटबन्धले नदीको बहावलाई सङ्कुचित पारेको छ र प्राकृतिक प्रक्रिया अन्तर्गत आउने बाढीलाई रोकेको छ र गैंडालाई चाहिने घाँसको उत्पादन घटेको छ ।

गत वर्ष सौराहामा आएको बाढीले निकुञ्जमा ठूलो क्षति पुर्‍याएको थियो भने करिब १५ वटा गैँडालाई नदीले माथिल्लो तटबाट तल भारतसम्म बगाएर लगेको थियो ।

एउटा गैँडा त मृत नै फेला परेको थियो । ‘यी सबै त बाढीको तत्काल देखिने असरहरू थिए तर, बाढी अरू धेरै नोक्सान गरेको हुन सक्छ’ राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकुमार अर्याल भन्छन् ।

गैँडा संरक्षणका सुरुका दिनहरूदेखि नै संलग्न अर्याल भन्छन्, ‘ बाढीले गैँडाहरूलाई पश्चिमतिर धकेलेको हुन सक्छ ।’

संरक्षण विद् ज्ञवाली भने गैँडाहरू पूर्वी तटका आहालहरू पुरिएकाले पश्चिम तिर लागेका हुन सक्ने बताउँछन् ।

स्थानीयबासी पनि पूर्वी तटको तुलनामा पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढेको अनुभव सुनाउँछन् । ज्ञवाली र अर्यालका अनुसार विविध कारणले निकुञ्जको पश्चिमी तटमा गैँडाहरूको सङ्ख्या अस्वाभाविक रुपमा बढ्न गएको छ र सीमित स्रोतहरूको उपयोग गर्न उनीहरूबीच प्रतिस्पर्धा हुने गरेको छ ।

यसका कारण गैँडाहरू मर्ने गरेका छन् । निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत नरेन्द्रमान बाबु प्रधान भने गैँडाहरू पश्चिमी तटमा थुप्रिएका कारण मरेका हुन् भन्नेमा आश्वस्त छैनन् । ‘यदि गैँडाहरूको सङ्ख्या पश्चिमी तटमा बढि छ भने त्यहीँ नै त उनीहरूको मृत्यु हुन्छ । गैँडा नभएको ठाउँमा त गैँडा कसरी मर्छ ?’

के ‘बेबी बुमर’ गैंडा मर्दैछन् ? 

दोस्रो विश्व युद्धको समाप्तिपछि अमेरिकामा अप्रत्यासित रूपमा बच्चाहरूको सङ्ख्यामा वृद्धि भएको थियो । लामो युद्ध सकेर सैनिकहरू घर फर्केका र अमेरिकाले तीव्र आर्थिक वृद्धि हासिल गरेका कारण यसो भएको मानिन्छ । दोस्रो विश्व युद्धपछि जन्मेको अमेरिकी पुस्तालाई ‘बेबी बुमर’ भनेर नामाकरण नै गरिएको थियो ।

जनसङ्ख्या विद्हरूका अनुसार बेबी बुमर पुस्ताका मानिसहरूको मृत्यु लगभग एकै समयमा हुने अनुमान गरिएको छ ।

चितवनका गैँडाहरूमा पनि बेबी बुमर इफेक्ट देखिएको हुनसक्ने केही संरक्षण विदहरूको धारणा छ । सन् १९६० को दशकमा चितवनमा गैँडाको सङ्ख्या १०० मा झरिसकेको थियो ।

यस्तो स्थितिमा ह्रासोन्मुख प्रजातिको संरक्षण गर्ने नेपाल सरकारले केही ठूला कदम चालेको थियो । गैँडाकै संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो भने चोरी सिकारी नियन्त्रण गर्न नेपाली सेना पनि परिचालन गरिएको थियो ।

यो कदमका कारण दोस्रो विश्व युद्ध पश्चात् अमेरिकामा देखिएको जस्तो ‘बेबी बुम’ गैँडाहरूमा पनि देखिएको थियो । ‘हामीले गैँडाको संरक्षण गर्न थालेको करिब ४५ वर्ष भयो’ अर्याल भन्छन् । नेपालको चिडियाखानामा गैँडाको औसत आयु पनि करिब ४५ वर्ष नै रहेको पाइएको छ । ‘त्यसैले मलाई के लाग्छ भने हामीले संरक्षण सुरु गर्दा जन्मिएका गैंडा अहिले बुढा भएर मर्दै छन्’, अर्याल भन्छन् ।

अमेरिकास्थित न्यू मेक्सिको स्टेट विश्व विद्यालयका प्राध्यापक ब्रुक मिलिगन अर्यालको धारणा साँचो हुनसक्ने बताउँछन् । भन्छन्, ‘मानिसमा हेर्ने हो भने जब एकै समयमा थुप्रै बच्चा जन्मिन्छन्, उनीहरूले आफ्नो औसत आयु पूरा गरेपछि प्राकृतिक रुपमै मृत्यु दर बढेर जान्छ । गैँडाको सन्दर्भमा पनि यसो नहोला भन्न सकिन्न ।’

संरक्षण विद् ज्ञवाली भने गैँडामा बेबी बुम इफेक्ट देखिने कुरामा विश्वस्त छैनन् । ‘प्राकृतिक वासस्थानमा गैँडा कति वर्ष बाँच्छ भन्ने अध्ययन नै भएको छैन । मलाई लाग्दैन एउटा गैँडा १५-२० वर्ष भन्दा बढि समय बाँच्छ’ उनले भने ।

उसो भए के कारणले मर्दैछन् त गैंडा ? ‘पहिले पहिले सिकारीको निशानमा पर्ने भनेका बुढा गैँडा हुन्थे । बुढा गैँडाहरूको खाग विकसित भइसकेको हुन्छ र यसले बढि मूल्य पाउँछ’ ज्ञवाली भन्छन्, ‘तर चोरी सिकारीमा नियन्त्रण गर्न नेपाल सफल भएको छ । त्यसरी बचाइएका गैँडाहरू आफ्नो औसत आयु बाँचेर कालगतिले मर्दैछन् ।’

गैँडाहरूको अप्रत्याशित मृत्युले उनीहरूको संरक्षणमा चुनौती थपेको छ तर यसले एउटा मौका पनि प्रदान गरेको छ: नेपालको संरक्षण नीति परिमार्जन गर्ने ।

‘हामीले रात भर गस्ती गरेर गैँडालाई जोगायौँ, उनीहरूको सङ्ख्या बढायौँ । यी सब कुरा आफ्नो समयका लागि ठिक थिए । तर अब हामीले वैज्ञानिक तरिकाले गैँडाहरूको वासस्थान व्यवस्थापन गर्नु पर्ने देखिन्छ र सायद निकुञ्जले कति गैँडा धान्न सक्छ भन्ने विषयमा पनि अनुसन्धान गर्न जरुरी छ’ पूर्ववार्डेन प्रधान भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?