५ मंसिर, काठमाडौं । भारतका प्रख्यात तबलावादक जाकिर हुसैन सांगीतिक प्रस्तुतिको लागि काठमाडौं आउने भएका छन् ।
भारतीय दूतावासले बुधबार एक पत्रकार सम्मेलन गरी मंसिर १२ गते हुने कन्सर्टको लागि हुसैन काठमाडौं आउने जानकारी दिएको हो ।
नेपाल–भारतमैत्री सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको खुशियालीमा भारतीय दूतावासले आयोजना गर्ने कन्सर्टमा हुसैनले प्रस्तुति दिनेछन् ।
हुसैनले भारतीय दूतावासको इन्डिया हाउसमा आफ्नो सांगीतिक प्रस्तुति दिनेछन् । उनीसँगै मृदंगवादक अनन्त कृष्णन, सारंगीवादक सबिर खान र ढोकलवादक नवीन शर्मा पनि अाउने छन् ।
भारतीय राजदूत मञ्जिवसिंह पुरीले नेपाली र भारतीय जनताबीचको साँस्कृतिक सम्बन्धलाई मजबुत बनाउनको लागि कन्सर्ट आयोजना गर्न लागिएको बताए ।
मैत्री सम्बन्ध स्थापनाको ७० वर्ष पूरा भएको अवसरमा यस वर्षभरी नै विविध साँस्कृतिक कार्यक्रम पनि गरिने उनले बताए ।
यसअघि भारतीय गायक कैलाश खेरले पनि नेपालमासांगीतिक प्रस्तुति दिएका थिए भने नेपाली कलाकार सरस्वती खत्रीले पनि भारतमा प्रस्तुति दिएकी थिइन् ।
को हुन् जाकिर हुसैन ?
६७ वर्षीय जाकिर हुसैन भारतका प्रसिद्ध तवलाबादक हुन् । उनी प्रसिद्ध तबलाबादक अल्ला रखाका छोरा हुन् ।
तबलामा आफ्नो हात र औंलाको माध्यमले ‘जादू’ पैदा गर्ने भएकाले अहिलेको पुस्ताका सबैभन्दा उत्कृष्ट तबलाबादक मानिन्छ ।
उनले भारतीय शास्त्रीय संगीतलाई विश्वभर चिनाएका छन् । १७ वर्षपछि प्रस्तुतिको लागि उनी नेपाल आउन लागेका हुन् ।
यसभन्दा अघि उनले नेपालमा दुई पटक प्रस्तुति दिएका थिए । सन् १९९७ मा पहिलोपटक नेपालमा प्रस्तुति दिँदा उनलाई बाँसुरीवादक हरिप्रसाद चौरसियाले साथ दिएका थिए भने पछिल्लो पटक सन् २००१ मा प्रस्तुति दिँदा सुल्तान खानले सारङ्गीमा साथ दिएका थिए ।
‘जाकिर हुसैन एण्ड द मास्टर्स अफ परकसन’ श्रृङ्खलामा उनले यूरोप अमेरिकालगायतका विभिन्न देशमा कन्सर्ट दिँदै आएका छन् । उनलाई भारत सरकारले सन् २००२ मा पद्मभूषण सम्मानद्वारा सम्मानित गरेको थियो ।
प्रतिक्रिया 4