+
+

निर्मला हत्या प्रकरणः आरोप स्वीकारेको भनिएका दुई जनाको डीएनए कञ्चनपुर पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते १९:१८

३ पुस, काठमाडौं । निर्मला हत्या प्रकरणमा शंकास्पद मानिएका दुई जनाको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको छ ।

प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) ले प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागलाई बुझाएको डीएनए प्रोफाइल कञ्चनपुर पठाइएको हो ।

यसअघि मुख्य शंकास्पदका रुपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदिप रावल र विशाल चौधरीको डीएनए परीक्षणका लागि पठाएको थियो । उनीहरुले कसुर स्वीकारेको समेत दाबी गरेको जनाइएको थियो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं निर्मला प्रकरणका अनुसन्धान अधिकृत कृष्णराज ओझाले काठमाडौंबाट रिपोर्ट पठाइएको पुष्टि गरे ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘त्यहाँबाट पठाइएको छ । यहाँ आइपुगेपछि जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीहरुको रहवरमा खोलिनेछ ।’

स्रोतका अनुसार प्रहरीको प्रयोगशालाले मंसिर अन्तिम साता नै प्रहरीलाई डीएनए रिपोर्ट बुझाएको भए पनि नतिजा ‘नेगेटिभ’ आएपछि प्रहरी अधिकारीहरु हच्केका थिए । त्यसपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको नास्टामा पनि डीएनए परीक्षणका लागि पठाइएको थियो ।

तर, दुवै ल्याबमा परीक्षण गरिएको ‘वाइ एसटीआर’ प्रोफाइल नकारात्मक आएको प्रहरी अधिकारीहरुले दाबी गरेका छन् ।

योसँगै महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको हिरासतमा रहेका व्यक्तिहरु छुट्न सक्ने भएका छन् । उनीहरुलाई हाल प्रहरीले अभद्र व्यवहार गरेको आरोपमा म्याद थपेर राखेको छ । उनीमाथि प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोप लगाएर हिरासतमा राखिएको थियो ।

उनले बयानमा आरोप स्वीकारेको सूचना पाएपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल स्वयम् महाराजगञ्जस्थित ब्यूराको कार्यालयमा राति नै पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?