२५ पुस, विराटनगर । आधुनिक उपकरण र जनशक्ति अभावका कारण खस्कदै गएको कोशी अञ्चल अस्पतालको गुणस्तर सुधारका निम्ति अस्पताल प्रशासनले समस्यै समस्या देखाएको छ ।
पछिल्लो समय दक्ष जनशक्ति अभावका कारण गुणस्तरीय सेवा प्रदान गर्न नसकेको उल्लेख गर्दै अस्पताल प्रशासनले उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवसँग समस्यै समस्या देखाएको हो ।
उपप्रधानमन्त्री यादवले बुधवार अञ्चल अस्पतालको निरीक्षण गर्न आएका थिए । करिब ३ घण्टा अस्पतालमा बिताएका मन्त्रीसामु अस्पताल प्रशासनले १२ बुँदे समस्या सुनाएका हुन् ।
प्रदेश सरकारले अञ्चल अस्पताललाई मेडिकल कलेजको रुपमा सञ्चालन गर्ने योजना बनाइरहेको छ । बुधबार निरीक्षणका लागि आएका मन्त्रीसामु अस्पताल प्रशासनले राखेको १२ वटा समस्या हल गर्न २८ करोड ५० लाख हाराहारी बजेट आवश्यक पर्ने उल्लेख गरिएको छ ।
अस्पतालमा भेण्टिलेटर सेवा सञ्चालनका लागि २ वटा मेसिन जडान गरिएको छ । तर अक्सिजन प्लान्ट र एनेस्थेसिया चिकित्सक नभएकाले सेवा सुरु गर्न तत्काल बजेट थप गर्न आग्रह गरिएको छ ।
मन्त्रीलाई बुझाएको पत्रमा अक्सिजन प्लान्टकालागि १ करोड ३० लाख र चिकित्सकका लागि ९ लाख ६० हजार रुपैयाँ आवश्यक रहेको उल्लेख गरिएको छ ।
अस्पतालले क्याथल्याब सेवा सञ्चालनका लागि ८ करोड रुपैयाँ व्यवस्थापन गर्न आग्रह गरेको छ । ल्याब उपकरण, अर्थाेपेडिक सेवा, प्यानलबोर्ड, इमरजेन्सी भवन विस्तार, ओपिडी भवन र मेडिकल भवनको तल्ला थप, खाद्यान्य, पानी बिजुली, कर्मचारी तथा गतबर्षको दायित्व भुक्तानीका लागि संघीय सरकार समक्ष २८ करोड बजेट आवश्यक रहेको उल्लेख गरेको हो ।
यादवलाई अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. लक्ष्मीनारायण यादवले अस्पतालको सुधार गर्नुपर्ने विषयसहितको पत्र बुझाएका थिए ।
अस्पतालको अवलोकनपछि उपप्रधानमन्त्री यादवले अञ्चल अस्पतालको सुधारका लागि संघीय सरकारले सहयोग गर्ने बताए । विपन्न वर्गले उपचार गर्ने थलो भएकाले सेवा सुविधा प्रभावकारी बनाउन निर्देशन दिएका थिए ।
उनले अस्पतालबाट निजी अस्पतालमा विरामी लग्ने क्रम नरोकिएको बताउदै सचेत रहन आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रमा भएको विकृती अन्त्य गर्न फाइल ट्र्याकिङ सिस्टम लागु गरिएको यादवले बताएका थिए ।
प्रतिक्रिया 4