Comments Add Comment

प्रियंकाको तयारी : बिहे, फाउन्डेशन र फिल्म निर्देशन

नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्कीका लागि सन् २०१९ विशेष मात्र हुने छैन, उनी यो बर्ष सर्वाधिक व्यस्त पनि हुनेछिन् । चलचित्रको हरेक विधामा हात हालेर आफूलाई व्यस्त राखेकी प्रियंकाले यो बर्ष केही यस्तो तयारी थालेकी छिन्, जसले उनको जीवनलाई नयाँ अध्यायमा लैजानेछ ।

विवाह

नायिका कार्कीले जुलाई महिनामा बिहे गर्दैछिन् । प्रेमी आयुष्मान देशराज श्रेष्ठसँग केही महिना अगाडि मात्र इन्गेजमेन्ट गरेकी उनले जुलाइमा बिहे गर्ने तयारी गरेकी छिन् । भन्छिन् ‘मैले बिहेका लागि समय दिन सकिन भने मलाई घरमा गाली गर्छन् । यसैले, बिहेका लागि मैले प्रशस्त समय दिनुछ । जुलाइमा हामी बिहे गर्दैछौ‌ं ।’

फिल्म निर्माण र निर्देशन

केही बर्षदेखि नायिका प्रियंका कार्कीले चलचित्र निर्माण गर्ने चर्चा चलेको थियो । उनले नायक दयाहाङ राईसँग मिलेर चलचित्र प्रोडक्सन कम्पनी खोल्ने योजना बुनेकी थिइन् । तर, त्यो योजना सफल हुन सकेन । अब भने प्रियंकाले चलचित्र निर्माण गर्ने पक्का भएको छ । उनले, यसका लागि ‘प्रिकंलेबेल पिक्चर्स’ दर्ता गरिसकेको बताइन् ।

बजारमा नायिका कार्कीले निर्माण गर्न लागेको चलचित्रको निर्देशन साम्तेन भुटियाले गर्ने चर्चासमेत चलेको छ । तर, उनी यस बिषयमा भन्छिन् ‘हो, मैले साम्तेनजीसँग चलचित्र बनाउँदैछु । तर, मेरो प्रोडक्शनको पहिलो चलचित्र साम्तेनसँग होइन । अहिले मैले आफै कथामा काम गरिरहेको छु । सायद, पहिलो चलचित्र म आफै निर्देशन गर्छु होला ।’

नायिका कार्कीले आफनो प्रोडक्शनबाट बन्ने पहिलो चलचित्र कि आफै निर्देशन गर्ने कि सह–निर्देशक भएर काम गर्ने खुलाइन् । यसपछि, मात्र साम्तेन भुटियासँग काम गर्ने उनले सुनाइन् । यतिमात्र होइन, उनले दिपकराज गिरी र दीपाश्री निरौलाको टिमसँग सहकार्य गर्ने बिषयमा पनि कुरा भइरहेको बताएकी छिन् । उनले भनिन्–‘अरु ब्यानरमा काम गर्दा कतिपय कथामा मैले चाहेर पनि काम गर्न पाइनँ । अब, म आफ्नै प्रोडक्शनबाट त्यस्तो कथामा सिनेमा बनाउँछु र अभिनय गर्छु ।’

आयंक फाउन्डेशन दर्ता

नायिका कार्कीको महत्वकांक्षी योजनामा चलचित्र निर्माण मात्र छैन, समाजसेवा पनि छ । यसका लागि उनले आफू र नायक आयुष्मान देशराजको संयुक्त नामबाट बनेको ‘आयंक’ नामबाट फाउन्डेशन दर्ता गरेकी छिन् । जसको नाम ‘आयंक फाउन्डेशन’ राखिएको छ ।

यो फाउन्डेशनबाट यो बर्ष थुप्रै कामको सुरुवात गर्ने योजना उनको छ । उनले भनिन्–‘मेरो सुरुवाती योजना भनेको फाउन्डेशनको तर्फबाट विशेषगरी, महिलाहरुको लागि काम गर्ने हो । महिनावारी, बलात्कार, शिक्षाको बिषयदेखि विभिन्न चेतनामूलक काममा पनि फाउन्डेशनले काम गर्नेछ ।’

नायिका कार्कीले भनिन्–‘अहिले फाउन्डेशनले विभिन्न सरकारी संस्थासँग सहकार्य गरेको छ । नेपाल आयल निगमसँग कुरा भइसकेको छ । हामी, एलपीजी ग्यासको बिषयमा चेतना फैलाउने बिषयमा काम गर्दैछौ । संभवत, आयुष र म आयल निगमको चाँडै नै सद्भावना दूत पनि बन्छौं होला ।’

नायिका कार्कीले ‘लाइफ भिजन एकेडेमी’मा यो बर्ष आफ्नो जन्मदिनको अवसर पारेर फाउन्डेशनको तर्फबाट विशेष काम गर्ने बताइन् । ‘त्यहाँ अध्ययन गर्ने र काम गर्ने विद्यार्थी र महिलाहरुका लागि १०० वटा प्याड मात्र पनि वितरण गर्न सकेको खण्डमा मेरा लागि विशेष हुनेछ । तर, मेरो मुख्य ध्यान भनेको काठमाडौंबाहिरका विकट गाउँका विद्यालय छन् ।’ उनले यो एकेडेमीमा विगत केही बर्षदेखि सहयोगसमेत गर्दै आएको बताइन् ।

नायिका कार्कीले यी कारणले पनि सन् २०१९ आफ्ना लागि विशेष रहेको सुनाइन् । उनले, आफूले सम्झौता गरिसकेका चलचित्रमा काम गर्ने र माथि उल्लेखित ३ कामका लागि समय दिने बताएकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आधा दशकदेखि सक्रिय नायिका कार्कीले विभिन्न एनजीओ र सरकारी संस्थासँग मिलेर आफूले धेरै काम गर्ने सोच बनाएको बताइन् ।

कलाकारको दायित्व चलचित्रमा मात्र काम गर्ने हुँदैन । कलाकारले समाज र राष्ट्रका लागि आफ्नो आवाज मात्र बुलन्द बनाउन सकेको खण्डमा पनि त्यसले नयाँ परिवर्तन गरिदिन सक्छ । प्रियंका कार्कीको यो महत्वाकांक्षी योजनाले गति लेओस्, शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment