Comments Add Comment

चोभारमा सुख्खा बन्दरगाह, काठमाडौंमै भन्सार जाँचपासको सुविधा दिइने

३ माघ, काठमाडौं । योजनाअनुसार काम भयो भने अबको डेढ वर्षपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ । यसका लागि चोभारमा आधुनिक सुख्खा बन्दरगाह निर्माण गर्ने काम बिहीबारबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्दरगाहको शिलान्यास गरे ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गर्न लागेको हो । यो बन्दरगाह निर्माण गर्न आशिष-साक्षी जेभीले जिम्मा पाएको छ ।

सरकाले निर्माण सुरु गर्न लागेपनि बन्दरगाह निर्माणको स्थानीयले बिरोध गरिरहेका छन् । उनीहरुले यहाँको जग्गा सरकारले स्थानीयलाई नै फिर्ता गर्नुपर्ने माग अघि सारेका थिए । तर, सरकारले स्थानीयका जायज माग मात्रै सम्बोधन हुने भन्दै निर्माण अघि बढाएको हो ।

यसअघि बन्दरगाह बन्ने स्थानमा हिमाल सिमेन्ट कारखाना थियो । कारखानाले वातावरणीय प्रदुषण गरेको भन्दै स्थानीयले गरेको चर्को विरोध पछि सरकारी सिमेन्ट कारखाना नै बन्द हुन पुग्यो ।

यो बन्दरगाह निर्माणका लागि आवश्यक सबै तयारी सकिसकेको छ । यो परियोजनालाई विश्व बैंकले १ अर्ब ५७ करोड रुपैयाँ सहयोग गरेको समितिका इन्जिनियर प्रमोद आचार्यले जानकारी दिए ।

अबको डेढ वर्षभित्र यो बन्दरगाहको निर्माण सक्ने लक्ष्य छ । बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइन लगायतका कार्यालय रहनेछन् ।

बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो । यो बनेपछि सामान आयात-निर्यातमा सहज हुने अपेक्षा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ ।


यो बन्दरगाह बनाउन २०१० बाटै प्रक्रिया सुरु भएको थियो । बल्ल यसको विस्तृत डिजाइन भएर ठेक्का लागेर काम अघि बढ्न लागेको हो । यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदैछ ।

कोलकाता, विशाखापटनम र चीनको समुन्द्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सिधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ । यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ ।

अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन् । नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउँदैछ ।

यो बन्दरगाहमा ३५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने इन्जिनियर आचार्यले बताए । यो बन्दरगाह निर्माणपछि सामान आयात-निर्यात गर्न लाग्ने लागत र समय घट्नेछ । यो बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महत्वपूर्ण हब बन्नेछ ।

बाहिरी चक्रपथ चोभार भएर जाँदैछ भने काठमाडौं-निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गर्ने योजना छ । यहाँ नै चीन र भारतबाट आउने रेललाई पनि जोड्ने योजना सरकारको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment