Comments Add Comment

आजका पत्रपत्रिका : मुलुकको अर्थतन्त्रमा समस्या देखिएपछि अर्थ मन्त्रालयमा आकस्मिक बैठक

२३ माघ, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अर्थतन्त्रमा देखिएको समस्या र उखु किसानका पीरमर्कालाई प्रमुखताका साथ उठाएका छन् । त्यस्तै गरिबी निवारण कोषको घोटाला, एनसेल कर विवाद सुनुवाइलगायत विषयलाई पनि आजका पत्रपत्रिकाहरु स्थान दिएर छापेका छन् ।

नयाँ पत्रिका दैनिकले मुलुकको अर्थतन्त्रमा देखापरेको समस्याबारे चासो राखेको छ । समाचार अनुसार, बैंकमा तरलता संकट, व्याजदर वृद्धि, व्यवसायीको आन्दोलन र विदेशी लगानी तथा अनुदानमा आएको गिरावटले अर्थतन्त्र मुर्झाएको छ । यही समस्यालाई लिएर अर्थमन्त्रीले आकस्मिक बैठक बोलाएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाका अनुसार आन्तरिक समीक्षा बैठकमा अर्थमन्त्री युवराज खतिवडाले आन्तरिक स्रोतको परिचालनले मात्र उच्च आर्थिक वृद्धिदर हासिल नहुने बताएका छन् ।

जाली कागजातका आधारमा नेपाली नागरिकता लिएका ३३९ विदेशीको नागरिकता रद्द भएको अर्को खबर पनि नयाँ पत्रिकामा छ । ०५४ देखि ०७३ को अवधिमा कीर्ते कागजात प्रयोग गरी नागरिकता लिएका ती विदेशीहरुको नागरिकता रद्द गरिएको हो । नयाँ पत्रिकाका अनुसार, रद्द गरिएका नागरिकता अधिकांश भारतीय मूलका नागरिकले लिएका थिए ।

नयाँ पत्रिकाले जस्तै कान्तिपुरले पनि आज देशको अर्थतन्त्रबारे चिन्ता व्यक्त गरेको छ । कान्तिपुर लेख्छ– स्थिर सरकार बनेको एक वर्ष पुग्न लाग्दा पनि आर्थिक सूचकहरु सकारात्मक बनेका छैनन् । आन्तरिक लगानी बढेको छैन भने विदेशी लगानी अघिल्लो वर्षको तुलनामा घटेको छ ।

अर्थविद्हरुले निजी तर्साउने अभिव्यक्ति र नियन्त्रणमुखी कानून समस्याको मूल जड भएको औंल्याएका छन् ।

चिसोले जमेको मुस्ताङको ढुम्बा तालको तस्वीर छापेको कान्तिपुरले एनसेल कर विवाद सुनुवाइलगायत खबर पहिलो पृष्ठमा लेखेको छ ।

अन्नपूर्ण र नागरिक दुवैले विशेष प्राथमिकता दिएर उखु किसानका कथाव्यथालाई मुख्य समाचार बनाएका छन् । समाचार अनुसार, उखु किसानले वर्ष दिनसम्म पनि चिनी मिलबाट रकम भुक्तानी पाएका छैनन् । गत वर्ष किसानका पक्षमा उद्योग मन्त्री ताते पनि यस वर्ष सुस्ताएको समाचारमा लेखिएको छ ।

गोरखापत्रले गाडी बोक्नेको कथालाई एंकर बनाएको छ भने राजधानीमा गरिबी निवारण कोषमा भएको घोटालाको फेहरिस्त छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment