
१ चैत, काठमाडौं । भन्सार, राजश्व र संघीय संसदका कर्मचारीले ५० प्रतिशतसम्म भत्ता पाउने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले संसद कार्यसञ्चालन ब्यवस्थापन समितिलाई पत्र लेखी संघीय संसद सचिवालयसहित भन्सार र राजश्व कार्यालयका कर्मचारीले ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने जानकारी गराएको छ ।
यी कार्यालयका कर्मचारीले महिनामा कार्यालय समयबाहेकको समयमा ८० घण्टा काम गरे ५० प्रतिशत भत्ता पाउनेछन् । कर्मचारीहरुले जागिर सुरु गर्दाको तलब स्केलको आधारमा अतिरिक्त भत्ता पाउनेछन् ।
भत्ता पाउनका लागि कर्मचारीले अतिरिक्त काम गर्नुपर्नाको कारण, गरेको कामको विवरण पेश गरेपछि कार्यालय प्रमुखले सिफारिस गर्नुपर्नेछ । अतिरिक्त काम गरेको आधार विद्युतीय हाजिरी मेसिनको अभिलेखलाई मानिने पत्रमा जनाइएको छ ।
यो निर्णय आगामी असारसम्म मात्र लागू हुनेछ । तर, कर्मचारीको भत्ताको विषयलाई आगामी आर्थिक बर्षको बजेटमा एकमुष्ट समेट्ने तयारी भएकाले असारसम्मका लागि मात्र अन्तरिम व्यवस्था गरिएको हो ।
चालु आर्थिक वर्षको बजेटमार्फत कर्मचारीहरुले पाउँदै आएको सबै अतिरिक्त भत्ता कटौती गरिएको थियो । अतिरिक्त भत्ता कटौती भएपछि संघीय संसदका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । यसअघि उनीहरुले ८० प्रतिशतसम्म अतिरिक्त भत्ता पाउने आएका थिए ।
प्रतिक्रिया 4