
१२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको आरोपमा लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
न्यौपानेले घुस दिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।
भक्तपुर चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख घुस रिसवत लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरूबाट समेत पुष्टि भएको आयोगको आरोप पत्रमा उल्लेख छ ।
आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को ‘ज’ अनुसार सजाय मागदावी गरिएको छ । ऐनको उक्त दफा ३ मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस खुवाउनेलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
न्यौपाने र पाठकबीच एक करोड ६५ लाखमा मुद्दा मिलाउने सहमति भए पनि ७८ लाख मात्रै लेनदेन भएको देखिएको आयोगले जानकारी दिएको छ ।
सार्वजनिक संस्थाको रुपमा रहेको कलेजलाई निजी बनाएर दुई अर्बमा बेच्न खोजेको, २३ करोड वेरुजु र ५३ करोड रुपैयाँ कालोधनसम्बन्धी उजुरी सामसुम पार्ने शर्तमा पाठकले घुस लिएका थिए ।
प्रतिक्रिया 4