Comments Add Comment

ब्लड क्यान्सरले थलिएकी कमला २ महिनादेखि दुबई अस्पतालको बेडमा

१ करोड २० लाख बढी खर्च भयो, रकम अभावले उपचारमा समस्या

युएई । माझीफेदी-७, काभ्रेकी कमला गिरी डेढ महिनादेखि दुबई अस्पतालमा थलिएकी छिन् । चिकित्सकले बताए अनुसार उनमा ल्युकीमिया ब्लड क्यान्सर भएको छ ।

अचेत अवस्थामा अस्पतालको आईसीयु कक्षमा भर्ना भएकी गिरीको स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ ।

चिकित्सको नियमित निगरानीमै रहने गरी अहिले नर्मल बेडमा सारिएको छ । रोगसँग लडिरहेकी उनको थप उपचारमा आर्थिक समस्याले पनि सताएको छ । कमला, दुबई अस्पतालको सातौँ तलाको ७१० नम्बर कोठाको बेडमा उपचाररत अवस्थामै छिन् ।

सोहीअनुसार १२ वर्षअघि रोजागारीका लागि कमला र उनका श्रीमान बिमल युएई आएका थिए । श्रीमान पनि यहीँको एक कम्पनीमा सेल्सम्यानको रुपमा कार्यरत छन् ।

कमला पनि सेल्स् र क्यासियरका रुपमा काम गर्थिन् । तर, छोरीको जन्मपश्चात चारवर्षयता उनी उनको हेरविचारमा मात्र लागेकी थिइन् । बिमलको कमाइले दुःख सुख जीवन चलिरहेकै थियो ।

गत माघ २६ गते कमलालाई सामान्य ज्वरो आउन थाल्यो । विमलले नजिकैको मेडिकलबाट ज्वरोको औषधि ल्याएर खुवाए । अवस्था सुधारोन्मुख भएन ।

दुई दिनपछि उनलाई थप उपचारका लागि दुवईको इरानी अस्पताल लगियो । बिमल रोजगारीमा भएकाले समय दिन सकेनन् । साथीको सहारामा कमलालाई अस्पताल पुर्‍याइयो ।

अवस्था झनै खस्कदै जान थालेपछि माघ २८ गते वरदुबईको अल रफा अस्पताल लगियो । चिकित्सकले कमलाको स्वास्थ्य परीक्षण गरे । तर, रातिको डिउटीमा रहेका चिकित्सकले सम्बिन्धत चिकित्सक नभएकाले सोही दिन रिपोर्ट दिएनन् ।

भोलिपल्ट, परीक्षण गर्दाको रिपोर्टमा कमलामा ल्यूकेमिया ब्लड क्यान्सरको लक्षण देखिएको अस्पतालले जनायो । त्यो समय आफ्नो जीवनमा आइपरेको बज्रपातबारे बिमल शव्दमा व्यक्त गर्न सक्दैनन् ।

निजी अस्पतालमा उपचार गराउँदा खर्चले धान्न नसक्ने बुझेर कमलालाई रशिद अस्पताल पुर्‍याइयो । तर, उक्त अस्पतालले क्यान्सर रोगको उपचार नहुने भन्दै दुबई अस्पतालमा लैजान सुल्झायो । त्यसपछि फागुन १ गते डेरा दुबईमा रहेको दुबई अस्पतालमा कमलालाई भर्ना गरियो ।

एक महिनासम्म आईसीयु कक्षमा राखेर उनको उपचार भयो । स्वास्थ्यमा सामान्य सुधार हुन थालेपछि अहिले नर्मल वेडमा राखिएको छ ।

उपचार खर्च १ करोड २० लाख बढी पुग्यो

दुईमहिना हुन लाग्यो कमला अस्पतालको शैय्यामा रोगसँग लडिरहेको । उनको हालसम्मको उपचारमा ४ लाख दिराम -एक करोड २० लाख बढी) खर्च भइसकेकोे श्रीमान बिमलले बताए ।

आईसीयु कक्षमा राखेर उपचार गराउँदा नै करिब ३ लाख दिरामको बील उठिसकेको थियो । बीलको सबै खर्च तिर्न बाँकी छ । बिमलको सामान्य कमाइले यहीँ अध्ययन गरिरहेकी छोरी र श्रीमतीको नियमित उपचार धान्न कठिन छ ।

श्रीमती अस्पतालमा भर्ना भएदेखि उनी रोजगारीमा गएका छैनन् । रोजगारदाता कम्पनीलाई आफ्नो समस्याबारे जानकारी गराएका छन् । कम्पनीले कहिलेदेखि काममा आउने भनेर बेलाबेला सोध्ने गर्छ । तर, बिमल यो दिन भन्न सकिरहेका छैनन् ।

बिमलका अनुसार कमलाको नियमित स्वास्थ्य परीक्षण र उपचारमा मात्र दैनिक ४५ सय दिराम खर्च हुन्छ ।

आईसीयुमा हुँदा जीवन बचाउन चिकित्सकले आवश्यक औषधि प्रयोग गर्थे । नर्मल वेडमा आएपछि अहिले उनीहरुले आवश्यक औषधिको नाम लेखेर दिन्छन् । औषधि बाहिरबाट खरिद गरेर ल्याउन पर्ने बिमलले बताए ।

उनले अहिलेसम्म साथीभाइहरुको सहयोगले औषधि जुटाइरहेका छन् । वेड चार्ज, स्वास्थ्य परीक्षण, औषधि खरिदलगायतमा रकम बढिरहेको छ ।

बिमल २४ सै घण्टा श्रीमतीको साथमा अस्पतालमा हुन्छन् । यहीँ अध्ययन गर्दै गरेकी ५ वषर्ीया छोरीको हेरचाहमा पनि समय दिन समस्या छ ।

‘आमाको अवस्था देखेर आजभोलि छोरी अस्पताल आउन मान्दिनन् । छोरीको कुरा सुनाउँदै उनले भने, ‘म जादिन बाबा तपाईं मामुलाई खाना खुवाएर आउनु है भन्छिन् ।’ उनलाई कोठामा छोरीलाई एक्लै छोड्नु पर्दा थप पीडा हुने गरेको छ ।

सहयोगको अपील

चिकित्सकले कमलाको ६ पटक केमो गराउनुपर्ने जनाएका छन् । तीन पटक केमो भइसकेको र अब तीनपटक गर्नुपर्ने छ ।

केमो गराउन एकपटकमा ७ हजार दिहराम खर्च लाग्ने अस्पतालले जनाएको छ । यसका लागि मात्र २१ हजार दिहरामको आवश्यक हुन्छ ।

बिमललाई श्रीमतीको थप उपचारका लागि आर्थिक समस्या छ । हालसम्म उपचारमा लागेको खर्चको बील तिर्ने चिन्ता छ । तर पनि उनको आत्मविश्वासले कमलाको उपचार भइरहेको छ ।

बिमलले युएईमा रहेका सामाजिक संघसंस्था तथा नेपाली समुदायमा सहयोगको याचना गरेका छन् । भन्छन्- आफूले सकेको गरिरहेको छु । मस्ाँग भएको सबै कुरा सकियो । अब तपाईंहरुको सहयोग पाए श्रीमतीले नयाँ जीवन पाउने छिन् ।

कमलाको उपचारमा सहयोग गर्न यहाँ कार्यरत नेपालीलाई सामुहिक आह्वान गरिएको छ ।

युएईमा कार्यरत गायक प्रकाश पौडेलले सामाजिक संजालमार्फत सबैलाई सहयोगका लागि आहृवान गरेका छन् । आफ्नो तर्फबाट सहयोग घोषणा गर्दै उनले आहृवान गरेपछि अहिले विभिन्न व्यक्तिले सहयोगको प्रतिवद्धता जनाएका छन् ।

यस्तै सम्बन्धित जिल्ला समाज, संघसंस्था तथा व्यक्तिहरुले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

खर्च मिनाहाका लागि दूतावासको आग्रह

यसैबीच नेपाली दूतावास आबुधाबीले बिमारीको खर्च मिनाहाका लागि सम्बन्धित अस्पतालाई अनुरोध गरेको छ ।

बिमारीको परिवारको आर्थिक अवस्थाबारे अस्पताललाई अवगत गराउँदै उपचारमा लागेको खर्च छुट गरिदिन दूतावासले आग्र्रह गरेको हो । तर, दूतावासबाट आधिकारिक प्रतिनिधि आउनुपर्ने जनाउँदै अस्पतालले पत्र नबुझेको बिमलले अनलाइनखबरलाई बताए ।

यसबारेमा दूतावासले थप जानकारी लिने र आवश्यक पहल गर्ने दूतावासका उपनियोग प्रमुख तथा प्रवक्ता सागरप्रसाद फुयाँले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment