
सिड्नी । उमेरले ६ दशक पार गरेकी मैयादेवी नेपालबाट अष्ट्रेलिया आएको धेरै भएको छैन ।
सिड्नीस्थित अवर्नमा बिगत ३ वर्षदेखि बसोबास गर्दै आएका उनका छोरी ज्वाइले बोलाएपछि मातृभूमि छाडेर पराइको देशमा आउने बित्तिकै उनलाई निद्रा नलाग्ने, मन आत्तिने जस्ता समस्याले पिरोल्न थाल्यो ।
छोरी ज्वाइलाई भन्न पनि उनकै भाषामा ‘अप्ठ्यारो’ लाग्ने, हस्पिटल गएर डाक्टरसँग सल्लाह माग्न पनि भाषाका कारण अप्ठ्यारो हुने लगायतका समस्याले उनी झन् आत्तिन थालिन् । उनीसँग यो डर मनमा लुकाएर बस्नुको कुनै बिकल्प थिएन । तर, उनको यो डर भने अहिले सदाका लागि खुशीमा परिणत भएको छ ।
आइतबार अष्ट्रेलियन नेपाली मेडिकल तथा डेन्टल संघ ९आम्दा०ले विशेषतः नेपाली अभिभावकहरुको लागि आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिवीरमा नेपाली बोल्ने डाक्टरहरुसँग मनको वह पोखेपछि करिब एक महिनादेखि उनको दिमागमा डेरा जमाएर बसेको त्यो डर सदाका लागि हरायो ।
मैयादेवी मात्रै होइन, आम्दाले पश्चिम सिड्नीमा बसोबास गर्ने नेपाली अभिभावकहरुका लागि आयोजना गरेको निस्शुल्क स्वास्थ्य परीक्षणमा सहभागी नेपाली अभिभावकहरुले डाक्टरहरुसमक्ष आफ्नो मन र शरीरको समस्या आफ्नै भाषामा निर्धक्क पोखे ।
‘विदेशमा आएर पनि आफ्नै भाषामा डाक्टरहरुसँग आफ्नो समस्या पोख्न पाइयो, सल्लाह सुझाव लिन पाइयो, एकदमै खुशी छौं । अलिअलि लागेको रोग पनि अब त पुरै सञ्चो भएजस्तो भयो,’ उक्त शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गरिसकेपछि ६२ वर्षीय शंख नारायणले हर्षित हुँदै भने ।
शिविबाट नेपाली अभिभावकहरुमात्र होइन, स्वास्थ्य परीक्षणमा संलग्न डाक्टरहरुपनि औधी खुशी देखिन्थे । ‘आफ्नै आमा बुवा सरहका अभिभावकहरुलाई सल्लाह सुझाव दिन पाइयो, एकदमै खुशी लागेको छ,’ यसो भन्दै गर्दा आम्दाका अध्यक्ष घनश्याम चापागाईंको अनुहारमा खुशीको चमक देखिन्थ्यो ।
न्यु साउथ वेल्स राज्य अन्तर्गत सिड्नीको स्थानीय स्टार्थफिल्ड काउन्सिलको सहयोग र अबर्न नेपाली समाजको सहकार्यमा सम्पन्न उक्त शिविरमा नेपाली अभिभावकहरुको ब्लड प्रेसर, ब्लड सुगर लगायतका अन्य दीर्घकालीन रोगहरुको बारेमा परीक्षण गरिएको थियो ।
उक्त स्वास्थ्य परीक्षण शिविरलाई प्रत्यक्ष सहयोग गरेको अवर्न नेपाली समाजका अध्यक्ष अशोक उप्रेतीका अनुसार करिब १५० जना नेपाली अभिभावकहरुले स्वास्थ्य परीक्षण कार्यक्रमको प्रत्यक्ष फाइदा उठाएका थिए ।
साथै उक्त शिविरमा हृदयघात, मधुमेह लगायतका अन्य प्राणघातक रोगहरुको रोकथाम र बचावटका बारेमा सिड्नीका विभिन्न हस्पिटल तथा क्लिनिकमा कार्यरत नेपाली विशेषज्ञ डाक्टरहरुले प्रस्तुति दिएका थिए ।
उक्त शिविरमा उपस्थित अभिभावकहरुमा व्यायामको कमी, खानपानको समस्याले गर्दा मोटोपना बढ्दै गएकाले मधुमेहजस्ता रोगहरु लाग्न सक्ने भन्दै अभिभावकहरुलाई डाक्टरहरुले सचेत गराएका थिए ।
सोही कार्यक्रममा स्टार्थफिल्ड काउन्सिलका मेयर गुलियन भकारीले नेपाली समुदायलाई सहयोग गर्न पाउँदा खुशी भएको बताए ।
साथै, उक्त कार्यक्रममा स्थानीय कलाकारहरुले आआफ्नो सांगितिक प्रस्तुतिका साथ अभिभावकहरुलाई मनोरञ्जन दिलाएका थिए ।
प्रतिक्रिया 4