+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बालक आदित्यको परिकल्पनामा बन्यो मन्दिर

किशोर थापा भन्छन् : आदित्यमा इन्जिनियरिङ क्षमता पनि देखियो

चिरञ्जीवी पौडेल चिरञ्जीवी पौडेल
२०७५ चैत २९ गते १९:०९

२९ चैत, काठमाडौं । गौरीघाट चोकबाट करिब डेढ सय मिटर दक्षिण लागेपछि दायाँतर्फ एउटा अनौठो संरचना तपाईंले देख्नुहुन्छ । सडकबाट हेर्दा सुन झैं टल्केको भीमकाय गाईको आकृति देखिन्छ । यसको गुह्य भने भित्र पसेपछि मात्रै थाहा हुन्छ ।

खासमा यो एउटा शिवमन्दिर हो, जुन एकदमै अनौठो ढाँचामा बनाइएको छ । मन्दिर एउटा जनावरको आकृतिमा छ, जसको अगाडिको भाग गाई तथा बीच र पछाडिको भाग नन्दी (बसाहा) को हो । नन्दीको पेटमा चाँदीको ढोका छ । ढोकाभित्र पसेपछि देखिन्छ, पञ्चमुखी शिवलिंग ।

शिवलिंगको सबैभन्दा तल्लो भागमा ब्रम्हा, त्यसपछि विष्णु र माथिल्लो भागमा महेश्वरका आकृति छन् । मन्दिरको प्रवेशद्वार दक्षिणमुखी छ भने पूर्वतर्फ साधना हल निर्माण भएको छ ।

नन्दीको पिठ्यूमाथि १८ फिट अग्लो ब्रम्हा, विष्णु र महेश्वरको तीन भागमा विभाजित त्रिगजुर रहेको छ भने ४१ फिट लामो नागको आकृति माथिबाट तल झरिरहेको देखिन्छ । पछाडि त्रिशुल–डमरु रहेको छ ।

जो कसैलाई जिज्ञासा उठ्छ, कसले गर्‍यो यस्तो अद्भूत डिजाइन ? जवाफले थप आश्चर्यचकित बनाउँछ । यस मन्दिरको परिकल्पना ९ वर्षे बालक आदित्य दाहालको हो । शारीरिक रुपमा अशक्त तर मानसिक रुपमा विलक्षण क्षमताका बालक हुन् उनी । उनैले दिएको खाका चित्रमा आधारित भएर इन्जिनियरले यस मन्दिरको विस्तृत नक्शा कोरेका थिए । मन्दिर निर्माणका हरेक प्रक्रियामा आदित्यले मार्गनिर्देश गरेका थिए ।

यसरी बन्यो मन्दिर

४ वर्षको उमेरमा एकाएक वाणी बन्द भएका आदित्य मनमा लागेका हरेक कुराहरु कलमले लेखेर अभिव्यक्त गर्ने गर्छन् । अध्यात्ममा गहिरो अभिरुची भएका उनले दुई वर्षअघि लेखेका थिए, ‘म अदभुत र अलौकिक एक मन्दिर निर्माण गर्न चाहन्छु । सबैको साथ र सहयोग चाहिन्छ । जुन मन्दिरले देश र हामी सबैलाई विश्वमा चिनाउनेछ ।’

आदित्यको संरक्षकत्वमा एउटा प्रतिष्ठान छ, आदित्य संरक्षण प्रतिष्ठान । आदित्यका हरेक अभिव्यक्ति प्रतिष्ठानका लागि गुरुमन्त्र बराबर हुन्छ । प्रतिष्ठानको गठन र पदाधिकारीको चयन आदित्य स्वयम्ले गरेका हुन् ।

प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाई भन्छन्, ‘उहाँले नै प्रतिष्ठानको वैठक डाक्नुहुन्छ र एजेन्डाहरु दिनुहुन्छ । त्यसमै रहेर हामी छलफल एवं निर्णय गछौं र उहाँबाट पारित गराउँछौं ।’

मन्दिर निर्माणको इच्छा व्यक्त गरेपछि आदित्य संरक्षण प्रतिष्ठानको वैठक बस्यो । सो वैठकमा आदित्यले एउटा स्केच पनि दिए, जुन देख्दा सबैजना अचम्भित बनेका थिए । उनले दिएको स्केच असामान्य खालको थियो । तर, आदित्य आफ्नो अवधारणामा स्पष्ट देखिन्थे ।

परिवार, अनुयायी र शुभचिन्तकसहितको छलफलपछि मन्दिर निर्माण गर्न प्राविधिक र इन्जिनियरसहितको कमिटी बनाउने निर्णय भयो । आदित्य स्वयम्ले कमिटीमा राख्ने व्यक्तिहरुको छनोट गरेको प्रसाईंले जानकारी दिए ।

आदित्यले आर्किटेक्ट इन्जिनियर र शिल्पकारहरुलाई आदित्यले लिखित सन्देश दिए, ‘यो मेरो पहिलो मन्दिर हो, जसलाई यस्तो उत्कृष्ट बनाऊ कि प्रत्येक नागरिकले एक पटक हेर्ने, दर्शन गर्ने इच्छा राखोस् । यस भूमिको सान बनोस्, जगजग होस् । No Compromise in cost, service and team work quality.

प्रतिष्ठान आर्थिक रुपमा त्यति बलियो थिएन । केपी ओली नेतृत्वको यसअघिको सरकारले प्रतिष्ठानलाई १ करोड सहयोग गर्ने निर्णय गरे पनि त्यो रकम लिन आदित्यले अस्वीकार गरेका थिए । आदित्यका पिता तथा प्रतिष्ठानका अध्यक्ष शेषराज दाहालका अनुसार प्रतिष्ठानलाई दिने भनेको रकम आफूजस्ता अन्य शारीरिक अशक्तहरुको निम्ति खर्च गर्न आदित्यले सरकारलाई सन्देश पठाएका थिए ।

मन्दिर निर्माणको आर्थिक स्रोत कसरी जुटाउने भनेर प्रतिष्ठानका पदाधिकारीहरु अन्योलमा परेका थिए । आदित्य भने निश्चिन्त देखिन्थे ।

२०७४ चैत्र ३ गते एक छलफलमा उनले लेखे, ‘आर्थिकरुपमा संस्था बलियो हुँदै जानेछ, थाहा नपाई हामी कहाँ पुग्छौं कसैलाई पत्तो हुँदैन । तसर्थ नडराओ भनिरहन्छु । मात्र मेरो शरीरले साथ र तिमीहरुको स्वआत्मा–समर्पणको मिश्रण भए स्वर्ग यहीँ बन्छ ।’

आदित्यले तोकेको मितिमा मन्दिर शिलान्यास गरियो । त्यसपछि विभिन्न व्यक्ति र संस्थाहरुबाट सहयोग जुट्न थाल्यो । गौरीघाटमा जग्गा प्राप्त भयो ।

निर्माणका हरेक काममा आदित्यले निर्देश गर्दै गए । मन्दिरको सम्पूर्ण वास्तुशिल्प, त्यसलाई चाहिने उपकरण, धातु, काठ जस्ता भौतिक संरचनाको इन्च–इन्चको विवरण उनले दिएको लिखित दस्तावेजमा देखिन्छ । यति मात्र होइन, निर्माण सामग्रीहरुको ठेक्का कसलाई र कति मूल्यमा दिने भन्ने पनि उनी स्वयम्ले सुझाएका थिए । मूर्ति, गजुर, रंगरोगन, काठपात सबै उनको छनोटका थिए ।

मन्दिरभित्रको भित्तामा केको तस्बिर राख्ने भनी प्रश्न उगरिँदा आदित्यले लेखेका थिए, ‘पश्चिम भित्तामा ताण्डव नृत्य गरेको शिवरुपको चित्र र शक्ति स्वरुपमा पार्वती माताको विचित्रको महाकाली रुप ।’ यसै बमोजिम गरिएको छ ।

कामका प्रत्येक दिनका प्रगतिहरु आदित्यलाई जानकारी गराइन्थ्यो । थोरै मात्र चित्त बुझेन भने उनले सच्याउन लगाइहाल्थे ।

‘यो मिलेन, त्यो यति इन्च घटाउ, यो बढाउ, पेट आँखा, नाक घाँटी यस्तो बनाउ भनेर लिखित निर्देशन प्राप्त हुन्थ्यो,’ एक प्राविधिकले भने ।

मन्दिरको जगदेखि गर्भगृह हुँदै शिवलिंग, पर्खालको दायाँबायाँ भागमा क्यानभासमा बनाएको शिवपार्वतीको विचित्र पेन्टिङ, सिलिङ र गजुर, ढोकाको डिजाइन सबैको खाका आदित्यले दिएका थिए । उनले प्रष्ट्याएअनुसार शिवलिंगको पूर्वी मुख शान्तिस्वरुप, पश्चिमी प्रेमस्वरुप, उत्तरको दयास्वरुप र दक्षिणको क्रोध स्वरुप हुन् ।

उनले एक प्रसंगमा लेखेका छन्, ‘मेरो इच्छा छ, मेरो पनि सानो सपना छ । संसारको आश्चर्यजनक शिव मन्दिर निर्माण गरी सारा ब्रह्माण्डभित्र लुकेको इनर्जीलाई यही माटोमा समाहित गराई एक आध्यात्मिक शक्तिशाली राष्ट्र कायम गरी संसारमा चिनाउने । मेरो कल्पनाले तब मात्र सार्थकता पाउँछ, जब हजुरहरुभित्रबाट आध्यात्मिक क्रान्ति भित्र्याउने सङ्कल्प उजागर भएर आउँछ ।’

मन्दिर बाहिर–भित्र, वरिपरि के–कहाँ राख्ने, कहाँ राख्ने, पर्वत, झरना, गर्भगृहदेखि नवग्रह, गणेश भगवान, बुद्ध, राम, राधाकृष्ण, सरस्वती, हनुमान, सूर्यनारायण सबैको ठाउँ तथा अवस्था उनलाई सोधेर मात्रै निर्धारण गरिएको थियो । मन्दिर निर्माणको सुरुवातमा एक बालकबाट निर्देशित हुँदा प्राविधिकहरुले निकै नौलो अनुभव गरे । तर, बिस्तारै अभ्यस्त भएका थिए ।

मन्दिरको वर्णन गर्दै बालक आदित्यले थप भनेका छन्, ‘यो मन्दिर मेरो जीवनको एक अंश चिनाउने आस्थाको केन्द्र हो । शिवात्माको तन्त्रविद्यादेखि, मृत्युमोक्ष प्राप्त हुने स्थल, हर अशान्तिलाई शान्त राख्ने केन्द्र, हर अशक्त बिरामीको मल्हम यस शिवालयको माटोमा छ । मात्र शुद्ध भावले यस क्षेत्रमा प्रवेश गरे, हर समस्याको सरल उत्तर पाउने यो पुण्यभूमि सारा जगत्मा चिनिनेछ । मेरा हर उद्देश्य पूरा हुनेछन् । मलगायत जगत् नै धन्य हुनेछौं । यस धर्तीको यो सूक्ष्म भागमा निर्मित यो अद्भूत देवस्थल एक दिन देवगण बस्ने स्थान बन्नेछ ।’ 

करिब डेढ वर्षको अवधिमा चिटिक्कको मन्दिर तयार भएको छ । प्रतिष्ठानले मन्दिरको निर्माण लागत भने सार्वजनिक गरेको छैन ।

यही मन्दिरमा २४ चैतदेखि महाअनुष्ठान चलिरहेको छ । शुक्रबार दिउँसो यो पंतिकार पुग्दा त्यहाँभित्र ठूलै तिर्थस्थलको जस्तो दृष्य देखिन्थ्यो । सयौं मानिसहरु जप र ध्यानमा मग्न थिए । दर्जनौं स्थानमा हवनहरु भइरहेका थिए ।

भोली बिहान मन्दिरमा प्राणप्रतिष्ठाको कार्यक्रम रहेको छ, जसमा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि राजनीतिक दलका शिर्ष नेताहरु उपस्थित हुनेछन् । भोली नै आदित्यको व्रतवन्ध र भिक्षादानसमेत हुनेछ ।

किशोर थापा भन्छन् : आदित्यको क्षमता असाधारण

म गुरु आदित्यसँग करिब ३ वर्षदेखि सम्पर्कमा छु । उहाँको अद्भुत क्षमताबाट सुरुबाटै प्रभावित बनेँ । सुन्दा अपत्यारिलो तर प्रत्यक्ष देखेपछि विश्वास गर्न करै लाग्ने ।

उहाँ कहिल्यै स्कुल जानुभएको छैन, तर हरेक प्रश्नहरुको लेखेर उत्तर दिन सक्षम हुनुहुन्छ । नेपाली र अंग्रेजी मात्र नभएर अरु पनि विभिन्न भाषामा लेख्नुभएको छ । उहाँ गहिरो दार्शनिक अभिव्यक्तिसमेत दिनुहुन्छ ।

जहाँसम्म मन्दिरको कुरा छ, यो आफैमा अलौकिक परिकल्पना हो । यस प्रकारको मन्दिर विश्वमा अन्यत्र नहोला । यो पूर्णरुपमा गुरु आदित्यकै परिकल्पना हो । उहाँले मन्दिरको स्केच नै बनाएर इन्जिनियरहरुलाई दिनुभएको रहेछ । मैले पनि त्यो स्केच हेरेको छु । स्केच हेर्दा ज्यादै अनौठो भए पनि निर्माण गर्न असम्भव खालको भने थिएन ।

खास यो महादेव मन्दिर हो । यसमा ठूलो बसाहाको शरीरभित्र शिवलिंग स्थापना गरिएको छ । अरु मन्दिरमा एउटा गजुर हुन्छन्, यसमा तीनवटा गजुर छन् । त्यसैले यसलाई त्रिगजुर शिवमन्दिर भनिएको हो । यसको नामाकरण पनि गुरु आफैंले गर्नुभएको हो ।

मन्दिरहरु खासगरी दुईप्रकारले बनाइन्छ । एउटा प्यागोडा शैली र अर्को शिखर शैली । यो शिव मन्दिर दुवै शैलीमा पर्दैन, त्यसैले आफैंमा विशिष्ट छ । हेर्दा पनि अत्यन्त आकर्षक देखिन्छ भने हामीले इन्जिनियरिङ पाटोबाट मूल्यांकन गर्दा असाध्यै बलियो पनि छ ।

मन्दिर निर्माणका क्रममा म टिममा नभए पनि बारम्बार गइरहन्थेँ । आदित्यले हरेक सानासाना कुराहरु, जसलाई इन्जिनियरिङ भाषामा डिटेल्स भन्छौं, पनि आफैंले मार्गदर्शन गर्नुहुन्थ्यो । संरचनाहरु केके राख्ने, तिनीहरुमा कस्ता सामग्री प्रयोग गर्ने, लम्बाई चौडाई मोटाई कति हुने सबै निर्देशन उहाँबाट प्राप्त हुने गरेका थिए । यो मिलाउ, त्यो मिलाउ भन्नुहुन्थ्यो ।

यो आफैंमा विशाल संरचना त होइन, तर विशिष्ट हो । यसको मौलिकताले जो कसैलाई प्रभावित तुल्याउँछ । म पनि निसन्देह प्रभावित छु ।

गुरु आदित्यका विषयमा धेरै मानिसहरुमा अझै पनि सन्देह छ । तर, मलाई छैन । मलाई उहाँको अद्भूत क्षमतामा पूर्ण विश्वास छ । धेरै मानिसहरुले उहाँलाई टेस्ट गर्ने हिसाबले धेरै खालको प्रश्न सोध्छन् । तर, मैले अहिलेसम्म सोधेको छैन । किनकी मलाई उहाँको अलौकिताको परिक्षा लिनु छैन । गुरु आदित्य एक वैज्ञानिक अनुसन्धानका पात्र हुनुहुन्छ । मनोवैज्ञानिक, मेडिकल डाक्टर, इन्जिनियर सबैका लागि उहाँ चासोको विषय हुनुहुन्छ ।

लेखक
चिरञ्जीवी पौडेल

पौडेल अनलाइनखबर डटकमका पूर्व एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?