
६ वैशाख, काठमाडौं । बार्सिलोना, बार्यन म्युनिख हुँदै २०१६ मा म्यानचेस्टर सिटी आएका प्रशिक्षक पेप गार्डिओलाको एउटै इच्छा बाँकी छ, सिटीलाई च्याम्पियन्स लिग जिताउने । जुन यो सिजन पनि पूरा भएन ।
तर खेल यस्तो कुरा हो, जसमा अवसर फेरि पनि आउँछ । हारेपछि पनि मौका आउने बुझेका गार्डिओलाका लागि अर्को सिजन कुर्न सहज भने छैन । इंग्ल्याण्डमा तेस्रो सिजनको अन्त्य हुनै लाग्दा ४८ वर्षका गार्डिओलाले आफ्नो छाप त छोडिसकेका छन् । तर उनी स्वयं भने सन्तुष्ट छैनन् ।
च्याम्पियन्स लिगमा अफाप
पहिलो सिजन इंग्ल्याण्ड बुझ्न समय लगाएका गार्डिओलाले दोस्रो सिजन म्यानचेस्टर सिटीलाई प्रिमियर लिग च्याम्पियन नै बनाए । जारी तेस्रो सिजन पनि पहिलो स्थानमा रहेको लिभरपुलभन्दा एक खेल कम खेलेको सिटी दुई अंकले पछि रहँदै दोस्रो स्थानमा छ ।
तर यसपटक च्याम्पियन्स लिगमा सिटीसँग इंग्लिस फुटबल प्रशंसकले जुन आशा राखेका थिए, त्यो पूरा भएन । क्वार्टरफाइनलमा टोटनह्यामसँग पहिलो लेग १–० ले हारेको सिटी दोस्रो लेगमा ४–३ ले विजयी भए पनि त्यो पर्याप्त भएन ।
हुन त गार्डिओलाले आफू च्याम्पियन्स लिग जिताउनका लागि म्यानचेस्टर सिटीमा नआएको बताए पनि उनको भित्रि इच्छा बुझ्न कठिन छैन ।
‘असाध्यै निर्मम पराजय भयो, कठिन छ तर पनि हामी यसबाट बाहिर निस्किएर प्रिमियर लिगमा ध्यान दिने छौँ’ हारपछि गार्डिओलाले भनेका थिए ।
गार्डिओलाको ट्याकटिकल फर्मुलाले धेरै वर्षदेखि काम गरिरहेको छ । त्यही फर्मुला च्याम्पियन्स लिगमा भने २०११ मा बार्सिलोना छँदा जितेको उपाधिपछि काम लागेको छैन ।
गार्डिओला त्यस्ता प्रशिक्षक हुन्, जो जस्तोसुकै परिस्थितिमा पनि आफ्नो तरिका सही छ भनेर त्यसमा लागिरहन्छन् र त्यही अपनाउँछन् । प्राय त उनको शैलीले काम गरेकै हुन्छ तर, समय सधैँ आफैसँग रहँदैन ।
८१२ मिलियन युरो बेकाम !
२०१६ मा बायर्न म्युनिखबाट बार्सिलोना आएपछि गार्डिओलाले खेलाडी किन्न ६०८ मिलियन युरो खर्च गरिसकेका छन् । तर पनि नतिजा भने उनले सोचेअनुरुप हुन सकिरहेको छैन ।
यदि उनले बायर्न म्युनिखमा खर्च गरेको रकम पनि विचार गर्ने हो भने त्यो ८१२ मिलियन युरो हुनपुग्छ । जहाँ च्याम्पियन्स लिगमा उनको जादु फिका नै परेको थियो ।
सिटीमा पहिलो सिजन उनले जोन स्टोन्स, गुन्डोगन र गाब्रियल जिससका लागि २१३ मिलियन युरो खर्च गरेका थिए । त्यसपछि बर्नान्डो सिल्भा, एडरसन, केल वाल्कर, बेन्जामिन मेन्डी, एमेरिक लापोर्ते र ड्यानिलोका लागि ३१७.५ मिलियन युरो खर्च भयो । तर पनि च्याम्पियन्स लिगमा नतिजा देखिएन ।
जारी सिजन रियाद महरेजलाई ६७ मिलियन युरो तिरेको सिटीमा च्याम्पियन्स लिग जित्नका लागि अझै कति खेलाडी फेर्नुपर्ने हो भन्ने प्रश्न उठ्न थालेको छ । गार्डिओलाले प्रिमियर लिगमा आफ्नो क्षमता देखाइरहँदा च्याम्पियन्स लिग किन कमजोर भइरहेको छ भन्ने बुझ्न कठिन देखिएको छ ।
च्याम्पियन्स लिगका असफल प्रशिक्षक ?
सन् २००९ पछि विश्व फुटबलमा उत्कृष्ट तीन प्रशिक्षकभित्र हेरिएका पेप गार्डिओलाले बार्सिलोना छाडेपछि च्याम्पियन्स लिग जित्न नसक्नुमा यत्तिकै प्रश्न उठेको भने होइन । उनीमाथि विश्व फुटबल पण्डितको ध्यान पुगेको हुन्छ, उनले त्यसका लागि आवश्यक मेहनत पनि देखाएकै हुन्छन् ।
गार्डिओलामाथि आश बढी हुनुको अर्को कारण प्रशिक्षकका रुपमा उनले ९ वटा लिग प्रतिस्पर्धामा ७ वटा उपाधि जिताएका छन् । त्यसो भए च्याम्पियन्स लिगमा उनलाई के भइरहेको छ त ?
गार्डिओला प्रशिक्षकका रुपमा आठ पटक च्याम्पियन्स लिगबाट बाहिरिएका छन् । जसमा तीन पटक अवे गोलका कारण उनी स्तब्ध बनेका छन् । तीन पटक उनका खेलाडी पेनाल्टी मिस गरेका छन् ।
बेलायति फुटबल लेखक जोनाथन विल्सन लेख्छन्, ‘गार्डिओलाले च्याम्पियन्स लिगको जटिलता जति बुझेका छन्, सायदै अर्को प्रशिक्षकले त्यति बुझेको होला ।’
उनी खेलाडीका रुपमा फुटबलमा हुर्किएको समय यस्तो थियो, जतिबेला च्याम्पियन्स लिग रियल मड्रिडबाहेक अरुले सोचभन्दा बाहिर राखिरहेका हुन्थे ।
बार्सिलोनाभन्दा ७० किलोमिटर टाढा सान्टपेडोरमा १९७१ मा जन्मिएका गार्डिओला सन् १९८४ देखि झण्डै ६ वर्ष बार्सिलोना एकेडेमी ‘ला मासिया’ मा फुटबल सिकिरहेका थिए । युथ टिम हुँदै १९९० पछि बार्सिलोनाकै सिनियर टिमबाट व्यावसायिक फुटबलमा लागेका उनी मेहनतका पर्यायकै रुपमा चिनिन्छन् ।
तर पनि प्रशिक्षकका रुपमा पछिल्ला वर्ष च्याम्पियन्स लिगमा उनले गर्न खोजेका प्रयोग सफल भएका छन् । त्यसमा राम्रो खेल्दा खेल्दै केही भाग्यको साथका कुरा पनि उठ्ला तर हारको कारण जे भए पनि हारजित नै खेलको अन्तिम सत्य हो । त्यसैका लागि गार्डिओला निरन्तर भिडिरहेका छन् ।
–गार्जियन, बीबीसी र मार्काको सहयोगमा
प्रतिक्रिया 4