
१३ वैशाख, काठमाडौं । कुनै बेलाको जनताको राजनीतिक मञ्च खुलामञ्च यतिबेला बन्द छ । बन्द मात्र होईन, व्यक्तिगत सम्पत्ति जसरी भाडामा किनबेच गरिएको छ ।
खुला मञ्चमा मनोजकुमार भेटवालको जलेश्वर स्वच्छन्द बिल्डर्सले ४० वटा सटर बनाएर मासिक ६ हजारदेखि १८ हजार रुपैयाँसम्ममा भाडामा लगाएको छ ।
ऐतिहासिक महत्वको सार्वजनिक जमिनमा भईरहेको यो मनपरिमा काठमाडौं महानगरपालिकाले आँखा चिम्लिएको छ । खुलामञ्च महानगरको २८ नम्बर वडामा पर्छ । नजिकै पुरानो बसपार्कमा रहेको वडा कार्यालयलले खुलामञ्च किनबेच भईरहेको थाह किन पाएन ? कि जानकारी पाएर पनि केही गर्न नसकेको हो कि ?
बिहीबार वडा कार्यालयमै भेटिएका वडाध्यक्ष भाइराम खड्गीले यस विषयमा केही दिन अघिमात्रै आफूले जानकारी पाएर महानगरका मेयरलाई भेट्न खोजेको बताए । प्रस्तुत छ, वडाध्यक्ष खड्गीसँग अनलाइनखबरकर्मी रोयल आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
खुलामञ्चमा किनबेच सुरु भएको हो ?
४–५ दिन अगाडी मैले पनि थाह पाएर मेयरलाई भन्न गएको, उहाँ चितवन जानु भएकाले भेट भएन । त्यसपछि प्रवक्ता ईश्वरमान डंगोलसँग कुरा गर्दा औसधी पसल, प्रतीक्षालय, रेस्टुरेन्ट र शौचालय बनाउन सहमति दिएको थाहा पाएँ । प्रवक्ताले तीबाहेक अन्य संरचना बनाएको रहेछ भने डोजर लगाउँछु भनेपछि म फर्किएँ ।
महानगरलाई लिखित पत्र नै दिनुभएको थियो रे, हैन ?
हो, तर त्यसको जवाफ पाएको छैन । आज पनि मेयरलाई भेट्न महानगरपालिका गएको थिएँ, तर भेट भएन । हिजो उपमेयरले पनि अनुगमन गर्नुभयो । पर्सि आइतबार ३ बजे उपमेयरको उपस्थितीमा छलफल गर्दैछौं । त्यसपछि तपाईं पत्रकारहरुलाई बोलाएरै प्रष्ट पार्छौं ।
त्यही, नजिकै सार्वजनिक जग्गा त्यत्रो भौतिक संरचना बनाएर भाडामा लगाउँदासम्म किन थाह पाउनुभएन ?
रातारात गरेर एक डेढ हप्तामै बनाइसकेछन्, मैले थाहै पाइन ।
अब वडाले के गर्छ ?
अब त्यो कसरी बनाइयो, नियम कानूनमा के छ भन्ने हेरिन्छ । नियमविपरित रहेछ भने जनताले नै भत्काई दिन्छन् ।
तपाई स्वयं गएर हेर्दा के अनुमान गर्नुभयो ?
मैले हेर्दा त्यो गैर–कानुनी नै हो भन्ने निश्कर्ष आयो ।
गैर–कानुनी भनेपछि तपाईले नै भत्काउन मिल्दैन ?
मैले भत्काउन महानगरले स्वीकृति दिनुपर्छ ।
महानगरले वेवास्ता गर्यो भने नि ?
त्यस्तो भयो भने जनताले छाड्दैनन् । यसको शुरुवात हिजै भइसकेको छ ।
तपाईकै क्षेत्रमा पर्ने रानीपोखरीको पनि हालत खराब छ नि ?
रानीपोखरीमा ताल्चा लगाउने मै हो । मेयरले नगरप्रहरी लगाएर ताल्चा खोलेका थिए । अहिले रानीपोखरीको पुननिर्माण अर्कैले जिम्मा लिएको छ ।
आधा खुलामञ्चमा बसपार्क र सटर बनेका छन् । बाँकी भाग कसलाई दिएको हो ?
दरबार स्कूल बनाउने कामदार र सामान राख्न ६ महिनाका लागि दिइएको छ ।
तपाईहरुले खुलामञ्चलाई सारै बेवास्ता गर्नुभयो नि ?
यो ऐतिहासिक चिजलाई भूमाफियाहरुले कुरुप बनाए । तर हामी चुप लागेर बस्दैनौं ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4