Comments Add Comment

बिहे गरी कोठीमा बेचिएकी युवती उम्किन सफल

१२ जेठ, जनकपुरधाम । धनुषाकी एक युवतीलाई महोत्तरीका एक व्यक्तिले विवाह गरी भारतको कोठी पुर्‍याइएको पाइएको छ । १७ वर्षीया युवतीसँग विवाह गरी महोत्तरको लोहारपट्टी नगरपालिका २ का रबानी कबारीले भारतको बिहार राज्य अन्तर्गत मुज्जफरपुरस्थित कोठीमा पुर्‍याएका हुन् ।

युवती धनुषाको बटेश्वर गाउँपलिकाकी हुन् । करिब चार महिनाअघि कबारीले ती युवतीसँग विवाह गरी घुम्न भन्दै मुज्जफरपुर लगी कोठीमा बेचेको घटना युवती त्यहाँबाट भागेपछि बाहिर आएको हो ।

कोठीबाट भाग्न सफल भएकी युवतीको भनाइअनुसार आफूलाई राम्रोसँग राख्ने भन्दै विवाह गरी कबारीले विवाह गरेको र कोठीमा पुर्‍याएर फरार भएका थिए । कोठीमा पुर्‍याएपछि त्यहाँका मान्छेहरुलाई आफूलाई चरम दुःख दिएर व्यक्तिहरुसँग यौन सम्पर्क गर्न बाध्य बनाएको युवतीको भनाइ छ । ‘मैले यो नमान्दा मेरो हातखुट्टा बाँध्ने गथ्र्यो’ उनले प्रहरी समक्ष भनेकी छन्, ‘त्यसपछि पनि नमान्दा आफूलाई इन्जेक्सन दिएर बेहोस बनाउने गरिन्थ्यो ।’

कोठीबाट भागेर गत जेठ ४ गते जनकपुर आएकी उनको जनकपुर अञ्चल अस्पतालमा एक साता उपचार गरिएको छ । जनकपुर आएलगत्तै उनले जिल्ला प्रहरी कार्यालय, धनुषामा कवारीबिरुद्व जाहेरी दिएकी थिइन् । उजुरी दिन गएकी उनी बिरामीसमेत भएको पाइएपछि प्रहरीकै सहयोगमा उपचार गराइएको छ । विवाह गरी युवतीलाई कोठीमा पुर्‍याइएको बिषयमा थप छानबिन भइरहेको धनुषा प्रहरीका प्रमुख एसपी शेखर खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment