+
+

अष्ट्रियाका हिमालको काखमा मनाइयो सगरमाथा दिवस

नेपालका हिमाल चढ्नेहरु नेपाल चिनाउने हिमाली दूत हुन्-उपराष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ १६ गते १२:२५

इन्सब्रुक (अष्ट्रिया) । अष्ट्रियाको इन्सब्रुक शहरमा सगरमाथा दिवस मनाइएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को उपस्थितिमा चारैतिर हिमालले घेरिएको इन्सब्रुक शहरमा सरगरमाथा दिवस मनाइएको हो ।

अष्ट्रियाको राजधानी भियनास्थित नेपाली राजदूतावासले बुधबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालका हिमाल आरोहीहरु आफ्नो पाहुनामात्रै नभएर नेपाललाई संसारभर चिनाउने हिमाली दूतहरु भएको बताए ।

नेपाल हिमालहरुको देश र पर्वतारोहण नेपालको पहिचान भएको उपराष्ट्रपति पुनले स्मरण गराए । ‘सगरमाथासहित ८ हजार मिटरभन्दा अग्ला विश्वका १४ शिखरमध्ये ८ वटा नेपालमै हुनुका कारण पर्वतारोहण नेपालको पहिचान पनि हो,’ उपराष्ट्रपति पुनले भने, ‘त्यसैले सगरमाथा तथा हाम्रा अन्य हिमालहरु आरोहण गर्नुहुने विश्वभरका आरोहीहरुलाई हामीले केवल विदेशी पाहुनामात्र होइन नेपाललाई संसारभर चिनाउन सहयोग गर्ने हिमाली दूतहरुको रुपमा लिन्छौँ ।’

विश्वको सर्वोच्च शिखर सगरमाथा र दुबै देशका उच्च पर्वतमालाहरु नेपाल र अष्ट्रियाबीच आत्मीयता तथा सुमधुर सम्बन्ध विकास गर्ने प्रमुख कडी भएको उपराष्ट्रपतिको भनाइ छ ।

उपराष्ट्रपति पुनले नेपाल’समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै नेपाल भ्रमण वर्ष २०२० मा सहभागी हुन अष्ट्रियाली नागरिकलाई अपील गरे ।

अष्ट्रियाली नागरिकले सगरमाथा आरोहण गरेको ४० वर्ष पूरा

भूपरिवेष्ठित मुलुक अष्ट्रियाका धेरै नागरिकले सगरमाथालगायत नेपालका हिमालहरु आरोहण गरेका छन् । अष्ट्रियाली पर्वतारोहीले पहिलो पटक सगरमाथा आरोहण गरेको समेत ४० वर्ष पूरा भएको छ ।

टिरोल प्रान्तको शहरमा आयोजित कार्यक्रममा सगरमाथाको कीर्तिमानी आरोहणका नेता उल्फगाङ्ग नायर्जलगायत सगरमाथा आरोहीहरु र नेपाली समुदाय तथा अष्ट्रियाली नागरिक गरी करिब ५०० जनाको उपस्थिति थियो ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि सहभागी थिए ।

कार्यक्रममा अष्ट्रियाका लागि नेपाली राजदूत प्रकाशकुमार सुवेदीले अष्ट्रियालीले नेपाललाई अत्यन्त माया गर्ने गरेको भन्दै नेपालको भ्रमण वर्ष २०२० मा बढी भन्दा बढी सहभागिता रहने विश्वास व्यक्त गरे ।

कार्यक्रम आयोजना गरिएको शहर ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालले नेपालको पर्यटन गन्तव्य र सम्भावनाका बारेमा जानकारी गराउँदै नेपाल घुम्न आग्रह गरे ।

कार्यक्रममा पहिलो पटक अक्सिजन विना सगरमाथाको आरोहण गर्ने पेटेर हेबेलर, सगरमाथाको कीर्तिमानी आरोही उल्फगाङ नायर्ज र अर्का सगरमाथा आरोही जोसेफ इन्वाल्नेरले आफ्नो अनुभूति राख्दै अष्ट्रियाली नागरिकलाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

कार्यक्रममा सगरमाथा आरोही अष्ट्रियालीहरुलाई नेपालको तर्फबाट उपराष्ट्रपति पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सम्मान गरेका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?