१६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला अधिकार र सार्वजनिक क्षेत्रमा सहभागितामा नेपाल विश्वका विकसित देशभन्दा पनि अगाडि रहेको बताएका छन् ।
पहिलो राष्ट्रिय महिला अधिकार दिवसको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले महिला अधिकारको विषय कार्यान्वयनमा केही समस्या भए पनि सुधार गर्दै लैजाने प्रतिवद्धता
‘प्राप्त अधिकार कार्यान्वयनमा भने केही समस्या छ, अध्यक्ष पुरुष, उपाध्यक्ष महिलाजस्तो देखिन्छ, तर माथिबाट सुधार गर्दै लगेका छौं’ उनले भने ‘राष्ट्रपति महिला, उपराष्ट्रपति पुरुष । सभामुख महिला पनि भएका छन् । माथिबाटै सुधार हुँदैछ ।’
महिला अधिकारको क्षेत्रमा विकसित देशभन्दा नेपालले राम्रो गरेको प्रधानमन्त्री ओलीले दावी गरे । ‘अहिले हामी ४० प्रतिशत महिला सहभागिता छ भनेर छाती फुलाएर भन्न सक्छौं, मुख्य कुरा सामाजिक जागरण बढेको छ’ उनले भने ।
नेपालमा अवसर पाएको ठाउँमा महिलाले क्षमता देखाएका पनि प्रधानमन्त्री ओलीले बताए । ‘जहाँ दिदीबहिनीले मौका पाएका छन्, त्यहाँ आफ्नो क्षमता देखाएका छन्, पदचिह्न देखाएका छन्’ उनले भने ।
२०६३ जेठ १६ गते प्रतिनिधिसभाबाट ३३ प्रतिशत महिला सहभागिता, आमा वा बुबाको नामबाट नागरिकता, महिला विरोधी कानून खारेजलगायत विषय समेटेर तत्कालिन सांसद विद्यादेवी भण्डारीले पेश गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पारित भएको थियो ।
त्यसै दिनको सम्झनामा यस वर्षदेखि राष्ट्रिय महिला अधिकार दिवस मनाउन थालिएको हो । प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव पेश गर्ने हालका राष्ट्रपति भण्डारीलाई धन्यवाद दिँदै सबैलाई दिपावली गर्न आग्रह गरे ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4