
२७ जेठ, वीरगञ्ज । मोटरसाइकल चलाउने लाइसेन्स -सवारी चालक अनुमति पत्र)का लागि बाबुको नाममा ट्रायल परीक्षा दिने एकजनालाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ ।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडानम्बर १० आदर्शनगर बस्ने राजकुमार रुंगटाका छोरा २१ वर्षीय अरपित रुंगटालाई पक्राउ गरेको हो ।
क्याटागोरी ‘ए’ अन्र्तगत मोटरसाइकलको सवारी चालक अनुमति पत्रका लागि आइडी नं ७४८८१४४ का राजकुमारको सट्टामा ट्रायल दिँदै गरेको अवस्थामा छोरा अरपितलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको थियो ।
बुवाको साटो ट्रायल परीक्षामा सहभागी भएका कारण अरपितलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
अरपितलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको छ । उनलाई सार्वजनिक अपराध अन्र्तगत मुद्धा चलाइने प्रहरीले जनाएको छ ।
वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रले सोमबार क्याटोगोरी ‘ए’ अन्र्तगत मोटरसाइकलको लाइसेन्सका लागि ४ सयभन्दा बढीको ट्रायल परीक्षा लिएको छ ।
भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिले वीरगञ्ज-२३ मा सञ्चालन गरेको ट्रायल सेन्टरमा कार्यालयले विभिन्न क्याटागोरीका सवारीको लाइसेन्सका लागि ट्रायल परीक्षा लिँदै आएको छ ।
यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख राम अयोध्या रामले लाइसेन्स लिनका लागि गरिने कुनै पनि खाले वदमासी स्वीकार्य नहुने बताए ।
प्रतिक्रिया 4