+
+

हायातमा आन्दोलनको नेतृत्व गर्नेमाथि कारवाही

मजदूरमाथि गरिएको कारवाही फिर्ता लिन माग

रासस रासस
२०७६ असार ७ गते २१:०३

७ असार, काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स् लिमिटेड (हायात) ले श्रम ऐन, २०७४ अनुसारको सेवा सुविधा पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रेका मजदूरमाथि सेवामा अवरोध पुर्याएको भन्दै कारवाही गरेको छ । होटल व्यवस्थापनले आन्दोलन उकास्न भूमिका खेलेको भन्दै होटलको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदूर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, सङ्घका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्वन गरेको हो ।

ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र बेलसम्बा लामालाई सातदिने स्पष्टीकरण सोधिएको छ । व्यवस्थापनले एकलौटी ढङ्गले मजदूर कर्मचारीमाथि कारवाही गरेको भन्दै तत्काल फिर्ता लिन आधिकारिक ट्रेड युनियनका अध्यक्ष दाहालले माग गरे।

सङ्गठनको आजै बसेको बैठकले कारवाही फिर्ताका लागि होटल व्यवस्थापनलाई एक साताको समयसीमा दिएको छ । एक साताभित्र कारवाही फुकुवा नभए कडा सङ्घर्ष गर्न बाध्य हुने अध्यक्ष दाहालले चेतावनी दिए । कानूनमा तोकिएको सेवासुविधा माग गर्दै होटलका मजदूर तथा कर्मचारी गत जेठ ३० गतेदेखि आन्दोलनमा उत्रिएका थिए ।

मजदूर आन्दोलनमा गएसँगै व्यवस्थापनले होटल बन्द भएको घोषणा गरेको थियो । श्रम तथा रोजगार कार्यालय टेकुले व्यवस्थापन-मजदूर विवाद समाधान गर्न मध्यस्थता गर्ने जनाएपछि आन्दोलनरत मजदूर तथा कर्मचारी यही असार ४ गतेदेखि काममा फर्किएका थिए । मजदूरलाई कारवाही गरिएको विषयमा जानकारी लिन खोज्दा होटल व्यवस्थापक सम्पर्कमा आएनन् ।

होटलमा रहेको सरकारी जग्गा र शेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद रहँदै आएको छ । संसदीय समिति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत होटलको शेयर र जग्गा विवादका विषयमा अध्ययन गरिरहेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?