१७ असार, काठमाडौं । नयाँबानेश्वर चोकमा आकाशेपुल बनाउन सुरु भएको छ । पटक फरक-फरक निकायले योजना बनाउँदै स्थगित गर्दै आएको बानेश्वरको आकासे पुल अब भने बन्ने भएको छ ।
बानेश्वरमा आकाशे पुल बनाउने भनेको वर्षौं बित्यो तर, सधैं वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवन बाधक बन्दै आएको थियो ।
बानेश्वर चोकमा आकाशेपुल बनाउँदा संसद भवन र सांसदसहित विशिष्ट व्यक्तिको सुरक्षामा जटिलता थपिने सुरक्षा निकायको विश्लेषण थियो ।
तर, पैदल यात्रुको चाप बढ्दै गएपछि सडक विभागले नयाँ उपाय खोजेको छ । अब बानेश्वर चोकमै पुल नबनाएर चोकभन्दा करिब ५० मिटर तल (माईतीघर-बानेश्वर खण्डतर्फ) आकाशेपुलको निर्माण थालिएको सडक विभागमा प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।
सडक विभाग अन्तरगतको काठमाडौं सडक डिभिजनले करिब ३ करोडको लागतमा यो पुल निर्माण गर्दैछ । यो आकाशेपुल ‘मुभेबल’ अर्थात् भविष्यमा खोलेर अर्को स्थानमा लैजान सकिने खालको हुनेछ ।
अरु १० वटा पनि बन्ने
तत्कालै संसद भवन पनि नसर्ने र चोकमा पैदलयात्रुको संख्या पनि थपिँदै जाने अवस्था बनेपछि वारपार गर्न सकिने साधारण पुल बनाउन लागेको सडक विभागका अधिकारीहरु बताउँछन् ।
स्टिल स्ट्रक्चरमा निर्माण हुने पुलको निर्माण सक्न लामो समय नलाग्ने प्रवक्ता सापकोटाले जानकारी दिए । यो पुललाई भविष्यमा झिक्नुपर्ने अवस्था आए अर्को स्थानमा लगेर तुरुन्तै जडान गर्न सकिने छ ।
विभागले काठमाडौंमा १२ स्थानमा यस्तो आकाशेपुल बनाउँदैछ । पहिलो चरणमा विभागले बानेश्वर र कोटेश्वरमा बनाउन बजेट छुट्याएको थियो । तर, कोटेश्वरमा स्थानीयले पुल राख्ने स्थानबारे विवाद झिकेपछि काम सुरु हुन सकेको छैन । बानेश्वरमा भने काम सुरु भएको छ ।
बानेश्वर र कोटेश्वरपछि अरु १० स्थानमा काठमाडौं महानगरपालिकाले यस्तै पुल बनाउने सहमति भएको छ ।
यात्रु र ट्राफिकलाई सजिलो
ट्राफिक व्यवस्थापनको हिसावले काटेश्वरपछि नयाँ बानेश्वर चोकलाई सबैभन्दा अप्ठेरो स्थान मानिन्छ ।
विहान र साँझको समयमा बाटो पार गर्न पर्खिनेहरुको संख्या ठूलो हुन्छ भने सवारीको चाप पनि त्यतिकै हुन्छ । ट्राफिक प्रहरीले पटक-पटक सरकारसँग आकाशे पुल बनाउन आग्रह गर्दै आएको थियो ।
‘दिनमा हजरौं यात्रुले यो चोक वारपार गर्छन्, यसले ट्राफिक व्यवस्थापनमा मात्रै नभएस सुरक्षामा पनि चुनौती थपेको थियो,’ सडक विभागका प्रवक्ता सापकोटा भन्छन्,’यो पुल बनेपछि यात्रुलाई सहज हुन्छ ।’
तस्वीरः शंकर गिरी/अनलाइनखबर
 
 
 
 
 
 
 
 
 
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4