
शुक्रबार राष्ट्रपति भवन शित्तल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार’ बितरण गरियो । जहाँ २०७४ सालको उत्कृष्ट नायकको अवार्ड चलचित्र ‘मंगलम’बाट पुष्प खड्काले हात पारे । जब पुष्पले यो अवार्ड हात परे तब उनले पाएको अवार्डको विरोध भैरहेको छ । धेरैले पुष्प अवार्डमा नाचेकाले अवार्ड हत्याउन सफल भएको समेत आरोप लागिरहेको छ ।
तर, पुष्प आफूले नाचेर अवार्ड नपाएको बताउँछन् । अनलाइनखबरसँगको कुराकानीमा उनले भने–‘मैले नाचेर अवार्ड पाएको हुँ जस्तो लाग्दैन । त्यहाँ गौरी मल्ल, सरोज खनाल, रमेश उप्रेती, सन्नी रौनियार जस्ता कलाकार हुनुहुन्थ्यो । उहाँहरुसँग स्टेज सेयर गर्ने मौका मात्र लिएको हुँ । अवार्ड दिन्छन् भनेर नाचेको होइनँ ।’
आफूलाई नाचेर अवार्ड पायो भन्नेहरुलाई पनि उनी सरल उत्तर दिन्छन् । उनले भने–‘ठिक छ, मैले गरेको काममा उहाँहरुले विश्वास अझै लागेको रहेनछ । मैले अझै मिहिनेत गर्नुपर्ने रहेछ । आगामी दिनमा अझै मिहिनेत गरेर काम गर्नेछु । ताकी, मैले अवार्ड पाउँदा उहाँहरुलाई पनि गर्व लागोस् ।’
राष्ट्रिय अवार्ड जित्दा निकै खुशी लागेको पुष्प बताउँछन् । भन्छन्–‘कलाकार भएर काम गरेपछि एक पटक राष्ट्रिय अवार्ड उचाल्ने ठुलो धोको थियो । त्यो छिट्टै पूरा भएको छ । राष्ट्रले गरेको सम्मान राष्ट्रपतिको हातबाट पाउँदा जीत महशुस गरेको छु ।’
पुष्प आफूले अभिनय गरेको नयाँ चलचित्र ‘मारुनी’बाट पनि आशावादी देखिएका छन् । आफूले राष्ट्रिय चलचित्र पुरस्कार पाउँदा दर्शकको अपेक्षा ‘मारुनी’मा अझै बढेको उनको वुझाई छ ।
प्रतिक्रिया 4