चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा समावेश गरिएको गीत ‘दुबो फुल्यो’ संगीत चोरी गरेको आरोप लागेपछि उत्पन्न विवाद समाधान नजिक पुगेको छ । ‘कबड्डी टिम’ र संगीतकार आलोक श्रीबीच भएको छलफलले निकास निकालेको हो ।
आलोक श्रीले संगीत दिएको चार वर्ष अगाडिको गीत ‘कहिले फोटो सिरानीमा’ को संगीत ‘दुबो फुल्यो’ सँग मिल्न गएपछि विवाद उब्जेको थियो । चोरीको आरोप लागेपछि निर्देशक रामबाबु गुरुङ, संगीतकार एसडी योगी, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा लगायतको टिमले आलोक श्रीसँग छलफल गरेको हो ।
लामो छलफलपछि उनीहरु सहमति नजिक पुगेका छन् । कबड्डीका संगीतकार एसडी योगीले आफू उक्त गीतबाट प्रभावित भएको स्वीकारेपछि सहमतिको ढोका खुलेको हो ।
अनलाइनखबरसँगको कुराकानीमा आलोकले भने, ‘उहाँहरुले संगीत मिलेको कुरालाई स्वीकार्नु भएको छ । सहमतिका लागि उहाँहरुले प्रस्ताव ल्याएपछि म पनि तयार भएको हुँ ।’
गीतको यूट्यूव भिडियोमा संगीतकारमा आलोक श्री र एसडी दुवैको नाम राख्न फिल्म निर्माण पक्ष तयार भएको छ । तर, आलोक श्रीले केही क्षतिपूर्तिको पनि माग गरेका छन् । उनले भने, ‘मैले उहाँहरुसँग क्षतिपूर्ति मागेको छु । तर, कति दिने भन्ने पक्का भएको छैन । टुंगो भोलि लाग्नेछ ।’
आलोकश्रीले अनलाइनखबरसँगको कुराकानीमा पाँच लाख रुपैयाँ क्षतिपूर्ति माग्ने बताएका थिए । रामबाबु क्षतिपूर्ति तिर्न तयार भए पनि रकममा कुरा मिलिसकेको छैन ।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया 4