
२९ साउन, काठमाडौं । बैंकलाई सेयर किनबेच गर्न इजाजत दिनेनदिने विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन गरिएको छ ।
प्रतिनिधिसभाको अर्थ समितिमा बुधबार भएको छलफलपछि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरिएको हो । उपसमितिमा सांसदहरु प्रमिला राई, हेमकुमार राई, रामबाबु यादव र मेटमणि चौधरी छन् ।
यो उपसमितिलाई २ महिनाभित्र ब्रोकर लाइसेन्ससँगै मुद्रा तथा पुँजी बजारका विविध विषयमा अध्ययन गर्न भनिएको छ ।
२ महिना अगावै केहि निर्णय गर्नुपर्ने भए उपसमितिले सिफारिस गर्न सक्ने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
पुँजी बजारको विस्तारका लागि भन्दै सरकारले सहायक कम्पनी दर्ता गरेर बैंकलाई पनि ब्रोकर लाइसेन्स दिने नीति अघि सारेको छ ।
तर बैंक आफैंले सेयर किनबेचको कारोबार गर्दा समस्या आउन सक्ने भन्दै ब्रोकर एशोसिएसनले विरोध गर्दै आएको छ ।
देशमा ५० वटा ब्रोकर कम्पनी छन् ।
प्रतिक्रिया 4