+
+
Shares

१६ किलो सुनसहित पक्राउ परेका धनकमल पुर्पक्षका लागि थुनामा

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १९:५३

१८ भदौ, गोरखा । १६ किलो सुनसहित पक्राउ परेका धार्चे गाउँपालिका–१ केरौजाका धनकमल गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

बुधबार जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गुरुङलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । गुरुङविरुद्ध मंगलवार अभियोग पत्र दायर गर्दै राजश्व अनुसन्धान विभागले करिव ४० करोड रुपैयाँ भन्दा बढी धरौटी माग गरेको थियो ।

‘हिजो विभागले हामीलाई अभियोग पत्र पेश गर्‍यो,’ श्रेस्तेदार विनोदप्रसाद अधिकारीले भने, ‘वयान कार्य हिजै सकियो, आज थुनछेक बहस सक्यौ, पुर्पक्षका लागी थुनामा राखेर कारवाही गर्ने आदेश भयो ।’

गुरुङविरुद्ध राजश्व चुहावट तथा विदेशी बिनियम अपचलन सम्बन्धी मुद्धा दर्ता गरिएको उनले बताए ।

विभागले विरुद्ध राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३ र विदेशी बिनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १७ (१) र १७ (९) बमोजिम कारबाही गर्न माग गरिएको अधिकारीले जानकारी गराए ।

‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २३ अनुसार सुनको बिगो रकमको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद हुन सक्नेछ,’ उनले भने, ‘विदेशी विनिमय (नियमित) गर्ने ऐन २०१९ को दफा १७ (१) र १७ (९) मा विगो रकमको तेब्बरसम्म जरिवाना र तीन वर्ष सम्मको कैद हुन सक्ने व्यवस्था छ ।’

जफत गरिएको सुनको बिगो रकम ८ करोड ९१ लाख ६८ हजार रुपैयाँ रहेको उनले बताए । राजश्व चुहावटको दफा ३३ अनुसार बरामद सुन जफत गर्न पनि विभागले माग गरेको उनको भनाइ छ ।

गत साउन ९ गते धार्चे गाउँपालिका–३ उहियाको ओढारमा लुकाइराखेको १६ किलो सुनसहित गुरुङ पक्राउ परेका थिए । उनलाई थप अनुसन्धानका लागि राजश्व बिभाग कार्यालय पठाइएको थियो ।

वयानको क्रममा गुरुङले चुमनुव्री गाउँपालिकाका लोप्साङ लामाबाट सुन लिएको बताएको श्रेस्तेदार अधिकारीले जानकारी दिए । ‘पाँच हजार रकम दिएर लोप्साङले छेकम्पारबाट माछाखोलासम्म सुन लगिदिन भनेका रहेछन्, अनि उसले लिएर आएको रहेछ,’ गुरुङको वयानबारे अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?