Comments Add Comment

चाँदीका भाँडावर्तन कसरी चम्काउने ?

आजभोली चाँदीका गर-गहनाभन्दा पनि चाँदीका भाँडावर्तन प्रयोग हुन थालेका छन् । घरको पूजाकोठामा होस् अथवा बैठक कोठमा सजाउने भाँडाहरु हुन्, चाँदीको भाँडाले त्यसको शोभा बढाइदिन्छ । अहिले त विवाहमा पनि चाँदीको करुवा र खड्कुलो दिने फेसन जस्तो भएको छ ।

दसैंमा प्रायः सबैको घरमा चाँदीको स्ट्यान्ड भएको टीका लगाउने भाँडा हुनु सामान्य जस्तो भैसकेको छ । नजिकिँदै गरेको दसैंलाई लक्षित गरि चाँदीका विभिन्न डिजाइनका भाँडाहरु बजारमा आइसकेको छ भने त्यसलाई किन्नेको भिड पनि लाग्न थालिसकेको छ ।

चाँदीको भाँडाले घरको शोभा बढाउने भएकोले त्यसको प्रयोग दिन-दिनै बढ्न थालेको छ । प्राचिनकालमा भान्सामा पनि चाँदीका भाँडाहरु हुन्थे र त्यसमा खाना खाने चलन पनि थियो । आज पनि चाँदीको भाँडा हुनु भनेको धनाढ्य हुनुको प्रमाण मानिन्छ । अहिले दसैं, विवाह, व्रतबन्ध र पास्नीमा पनि चाँदीको भाँडाको प्रयोग बढ्न थालेकेा छ । त्यस्तै देवताहरुको मूर्ति पनि चाँदीबाट नै बनाउन थालिएको छ । त्यसैले आज चाँदीको निकै महत्व बढ्न थालेको छ ।

चाँदी किन्दा जति उज्यालो र चम्किलो हुन्छ, समय बित्दै जाँदा यो कालो हुन थाल्छ, जसका कारण त्यसको सुन्दरता बिग्रन्छ । वास्तवमा चाँदी एउटा धातु हो, जसमा सजिलै दाग लाग्न तथा कोरिन सक्छ ।

यदि तपाईं चाँदीको गहना लगाउनु हुन्छ भने कालो र दाग लागेको गहनाले तपाईंको सुन्दरतामा पनि असर पुर्‍याउन सक्छ । तपाईं यसलाई सफा गर्नको लागि सुनारकहाँ पनि जानु हुन्छ । सुनारकहाँ चाँदी सफा गराउन जाँदा समय त लाग्छ नै, पैसा पनि धेरै खर्च हुन्छ । त्यसैले आज हामी घरमा नै सजिलो तरिकाले चाँदीका गहना र सर-सामान चम्काउने तरिका प्रस्तुत गर्नेछौं ।

नुन र आल्युमुनियम फोयलको प्रयोग

चाँदीको गहना र सामान सफा गर्नको लागि एउटा भाँडामा पानी र नुनको घोल बनाउनु होस् । अब यसमा आल्मुनियम फोयलको केही टुक्रा मिसाउनुहोस् । यस मिश्रणमा चाँदीको भाँडा र गहना डुबाउनुहोस् ।

करीव ३० मिनेटपछि चाँदीलाई त्यस घोलबाट निकालेर ब्रसले सफा गर्नुहोस् र सुकाउनुहोस् । यदि तपाई चाहनु हुन्छ भने नुनको ठाउँमा बेकिङ सोडाको प्रयोग गर्न सक्नु हुन्छ । नुन र आल्मुनियमको मिश्रणले चाँदीमा भएको दागलाई हटाएर चाँदीलाई चम्किलो बनाउन सहयोग पुर्‍याउँछ ।

डिटर्जेन्ट पाउडरको प्रयोग

डिटर्जेन्ट पाउडरको प्रयोगले चाँदीको हराएको चमक फर्किन सक्छ । यसको  लागि पानीमा डिटर्जेन्टको धुलो हालेर उमाल्नु पर्छ । यो मिश्रणमा चाँदीको गहना तथा सामान हालेर केही समयको लागि छोडि दिनुहोस् । केही समयपछि यसलाई पानीबाट निकालेर ब्रसको सहायताले सफा गर्नु पर्छ । त्यसो गर्दा चाँदीका सामानहरु नयाँ जस्तो हुन्छ ।

टूथपेस्टको प्रयोग

टूथपेस्टले केवल दाँत मात्र नभएर चाँदी पनि चम्काउन सकिन्छ । टूथपेस्टले तपाईंले सजिलै चाँदीको गहना र भाँडाहरु चम्काउन सक्नु हुन्छ । त्यसको लागि सुती कपडाको आवश्यकता पर्छ । सुती कपडामा टूटपेस्ट लगाउनुहोस् र चाँदीको भाँडा अथवा गहनालाई विस्तारै रगड्दै सफा गर्नुहोस् ।

कागती र नुनको घोल

कागती र नुनको घोलले पनि चाँदी चम्काउन सकिन्छ । चाँदीका भाँडा तथा गहना चम्काउनका लागि कागती र नुनको घोल बनाउनु होस् र त्यसमा चाँदीको भाँडा र गहना रातभरी भिजाउनुहोस् । बिहान त्यसलाई ब्रसको सहायताले सफा गर्नुहोस् । यसो गर्दा तपाईंको चाँदीका भाडा तथा गहना चम्किलो र नयाँ हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment