
१ असोज, जनकपुरधाम । संघीय सरकारको जोडबलमा भोलि बिहीबारदेखि तीन दिनसम्म संविधान दिवस भव्य रुपमा मनाइँदैछ । संघको निर्देशनअनुसार सातै वटा प्रदेश सरकार र स्थानीय सरकारहरुले पनि संविधान दिवसका कार्यक्रमहरु तय गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतकै नेतृत्वमा प्रदेशस्तरीय मूल समारोह समिति बनेको छ, तीनदिने कार्यक्रम पनि तय गरेको छ । तर, अरु प्रदेशमा जस्तो भव्य तयारी भने देखिँदैन ।
कतिसम्म भने मूल कार्यक्रमसमेत छैन ।
मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीका अनुसार पहिलो दिन भोलि २ गते सरसफाई र डेंगु रोगबारे जनचेतनामुलक कार्यक्रम हुनेछ । जनकपुरधामको जीरोमाइल चोकदेखि बसपार्कसम्म सरसफाई गर्दै डेंगु रोग नियन्त्रणबारे जनचेतना फैलाइनेछ ।
असोज ३ गते बिहान ६ः३० बजे जानकी मन्दिरदेखि मुख्यमन्त्री कार्यालयसम्म प्रभातफेरी हुनेछ ।
तेस्रो तथा अन्तिम दिन मधेस भवन परिसरभित्र सरसफाई तथा बृक्षारोपण गर्ने तय भएको छ । तीनै दिन साँझ प्रदेश दीपावली गरिने मुख्यमन्त्री कार्यालयका सचिव सुवेदीले बताए ।
मुख्यमन्त्री मौन, मन्त्रीले कालोदिवस मनाउने
प्रदेश सरकारले संविधान दिवसको तयारी गरिरहँदा सरकारको नेतृत्वकर्ता दल समाजवादी पार्टीले निर्णय गर्यो, खुसीयालीमा दिपवली पनि नगर्ने, विरोधमा कालो दिवस पनि मनाउने ।
यो निर्णयले प्रदेश सरकारलाई अप्ठ्यारो भएको छ, संविधान दिवसका कार्यक्रम कसरी मनाउने ?
यसबारे मुख्यमन्त्री राउतले केही बोलेका छैनन् ।
उनीनिकट एक नेताका अनुसार प्रदेश सरकार र मुख्यमन्त्रीका लागि संविधान दिवस निल्नु र ओकल्नुजस्तै भएको छ । किनकि संविधान अनुसार बनेको प्रदेश सरकारको मुख्यमन्त्री जस्तो गरिमाय पदमा बसेका छन्, कालो दिवस मनाउने भन्न पनि मिलेन । संविधान संशोधनको राजनीतिक मुद्दा सम्बोधन भएको छैन, दीपावली गर्न सकिन्न ।
मुख्यमन्त्री राउतले गत वर्षकै शैली अपनाउने सम्भावना छ । ‘गत वर्ष पनि उहाँ औपचारिक कार्यक्रममा सहभागी हुनु भएन । शायद यस वर्ष पनि त्यसरी नै मौन बस्नुहुन्छ होला’, उनले भने ।
यसलाई उनकै पार्टीका नेतासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पुष्टि गरे ।
पार्टीको निर्णयअनुसार आफूसहित कार्यक्रममा सहभागिता नहुने यादवले बताए । संविधानमा धेरै उपलब्धी भएकाले संविधान जलाउनेतर्फ पनि नजाने, तर त्रुटी सच्याउन संशोधन नभएसम्म औपचारिक कार्यक्रममा सहभागी पनि नहुने उनले बताए ।
सरकारमा सहभागी राजपाका मन्त्रीहरु भने कालो दिवस कार्यक्रममा नै सहभागी हुने भएका छन् ।
राजपाले संविधान दिवसका दिन बिरोध कार्यक्रम गर्ने र राति ७ बजे १५ मिनेट ब्ल्याक आउट गर्ने कार्यक्रम राखेकाले त्यसअनुसार नै गर्ने मन्त्रीहरु बताउँछन् ।
प्रतिक्रिया 4