Comments Add Comment

दशैंलाई दुर्गमका हवाई टिकट सकिए, सुगमको पाइन्छ !

७ असोज, काठमाडौं । दशैंमा हवाईजहाजबाट आफ्नो गन्तव्यमा पुग्ने योजनामा हुनुहुन्छ भने छिट्टै टिकट बुक गरिहाल्नुस् । किनकी दशैंका हवाई टिकट सकिन आँटेका छन् ।

वायुसेवा कम्पनीले ५/६ महिना अगाडिबाटै टिकट दशैंका लागि टिकट बुक गर्न सकिने सुविधा दिएका हुन्छन् । त्यसकारण यात्रुले आफू घर जाने निश्चित भएपछि हवाई टिकट बुक गर्न सक्छन् ।

घटस्थापना सुरु नहुँदै पहाडी र हिमाली भेगमा रहेका सबैजसो विमानस्थलमा पुग्ने टिकट सकिएका छन् । नेपाल वायुसेवा निगममदेखि तारा एयर, सीता एयर, समिट एयरले दूर्गम भेगका विमानस्थलमा उडान गर्छन् । निगमका अनुसार सप्तमीका लागि सबै सेक्टरको टिकट बुक भइसकेको छ ।

त्यसपछि पनि दूर्गम भेगका गन्तव्यको टिकट बिक्री भइसकेको छ । सीता एयरका वरिष्ठ महाप्रवन्धक घनश्याम उपाध्यायका अनुसार दूर्गमका लागि सप्तमीदेखि उताका टिकट बिक्री भएका छन् । अन्य दिनमा पनि अब ९५ प्रतिशतभन्दा माथि टिकट बिक्रि भइसकेको उनले जानकारी दिए ।

‘दुर्गमका विमानस्थलमा एक त साना जहाज उड्छन्,’ उनले भने, ‘त्यसमाथि धेरै पहिलादेखि नै बुकिङ गर्ने प्रचलनका कारण बेलैमा टिकट बिक्री भइसक्छन् ।’ दूर्गमका विमानस्थलमा १७–१९ सीटे जहाजहरु मात्र उठ्छन् । धेरैजसो दूर्गम भेगका गन्तव्यमा क्षेत्रिय विमानस्थलबाट उडान हुन्छ । बिराटनगर, नेपालगन्ज र सुर्खेतबाट बढी क्षेत्रीय उडान हुने गरेका छन् ।

तुम्लिङटार र सुर्खेतका टिकट पनि सकिए

काठमाडौंबाट हुने उडानमध्ये संखुवासभाको तुम्लिङटार विमानस्थल र सुर्खेत विमान्स्थलको उडानका टिकट सबै बुक भइसकेको बुद्ध र यति एयरलाइन्सले जानकारी दिएका छन् । बुद्ध एयरका अनुसार यी दुबै विमानस्थलमा साना जहाजबाट उडान हुने हुनाले टिकट बिक्रि भइसकेका छन् । यति एयरलाइन्सका प्रवन्धक भीम राईले दूर्गम भेगका टिकट बिक्रि भइसकेको तर ठूला विमानस्थलमा हुने उडानका लागि भने अझै पनि हवाई टिकट उपलब्ध रहेको बताए ।

‘दशैंको मूख्य तीन दिन काठमाडौंबाट बाहिरिने र दशैंपछिको तीन दिन काठमाडौं भित्रने सीट छिटो सकिन्छन्,’ उनले भने ।

सुगममा पाइन्छ टिकट

अहिले वायुसेवा कम्पनीहरुसँग पर्याप्त ठूला जहाज छन् । बुद्ध, यति, श्री, सौर्य र नेपाल एयरलाइन्सले काठमाडौंबाट सुगममा उडान गरिरहेका छन् । तराईका विमानस्थलहरुमा भने टिकटको समस्या नहुने कम्पनीहरु बताउँछन् ।

तराईका पनि पूर्वमा बिराटनगर र चन्द्रगढी विमानस्थल तथा पश्चिममा नेपालगन्ज र धनगढीमा बढी यात्रुको चाप रहेको श्री एयरलाइन्सका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए । बुद्ध एयरका एक अधिकारीका अनुसार धेरै जहाज रहेका कारण तराईमा आवश्यकताअनुसार थप उडान गरेर भए पनि सेवा दिने गरिन्छ । सोहीकारण ठूला विमानस्थलसम्म पुग्न अहिले हवाई टिकटको समस्या हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment