Comments Add Comment

भ्रमण वर्षको मुखमा पर्यटक आगमनको वृद्धिदर घट्यो

८ महिनामा भित्रिए साढे ७ लाख पर्यटक

Photo Credit : फाइल तस्वीर

९ असोज, काठमाडौं । सरकारले २० लाख पर्यटक भित्र्याउन भ्रमण वर्षको जोडतोडले तयारी गरिरहँदा पर्यटक आगमनको वृद्धिदर भने घटेको छ । पछिल्लो ८ महिनाको तथ्यांकमा पर्यटक वृद्धिदर ९ प्रतिशतमा झरेको हो । अघिल्लो वर्षको वृद्धिदर २५ प्रतिशत थियो ।

नेपाल पर्यटन बोर्डका अनुसार गत जनवरीदेखि अगस्टसम्मको अवधिमा ७ लाख ४२ हजार ६ सय जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०१७ को तुलनामा सन् २०१८ मा २५ प्रतिशतले पर्यटक बढेका थिए ।

अध्यागमन विभागलाई उद्वृत गर्दै बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार यस ८ महिनाको अवधिमा हवाईमार्गबाट ६ लाख १९ हजार ७ सय ६५ पर्यटक आएका छन् । स्थलमार्गबाट भने १ लाख २२ हजार ८ सय ३८ पर्यटक भित्रिए । स्थलमार्गबाट आउने भारतीय नागरिकलाई भने पर्यटकमा गणना गरिदैन ।

नेपाल आउने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन् । बोर्डका अनुसार सन् २०१८ को तुलनामा ६.१ प्रतिशतले भारतीय पर्यटक आगमन बढेको छ । ८ महिनामा कूल १ लाख ४२ हजार २ सय ८६ जना भारतीयले नेपाल भ्रमण गरे । सार्क मुलुकबाट कूल २ लाख ४ हजार १ सय ९२ जना पर्यटक आएका छन् । यो संख्या गत वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो ।

भारतपछि चीनबाट बढी पर्यटक नेपाल आएका छन् । ८ महिनामा १ लाख ६ हजार ५० चिनियाँ नागरिक नेपाल आएको तथ्यांक छ । चिनियाँ पर्यटक गत वर्षको यही अवधिको तुलनामा ९.८ प्रतिशतले बढी हो ।

थाइल्याण्ड र जापानबाट बढे

थाइल्याण्ड र जापानबाट पर्यटक आगमन दर बढेको छ । थाएल्याण्डबाट ३८.९ प्रतिशत र जापानबाट १२.८ प्रतिशत बढि पर्यटक नेपाल भित्रिएका छन् । यस अवधिमा जापानबाट ३५ हजार १० जना र जापानबाट १९ हजार २ सय ४४ हजार पर्यटक आएको तथ्यांकले देखाएको छ । जापानमा अगस्टबाटै नेपाल वायुसेवा निगमले उडान बिस्तार गरेको छ ।

यूरोपबाट सामान्य वृद्धि

८ महिनाको अवधिमा यूरोपका विभिन्न मुलुकबाट १ लाख ३६ हजार १ सय ९८ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको तुलनामा मात्र ३.२ प्रतिशतले बढी हो ।

यूरोपेली राष्ट्रमध्ये बेलायतबाट धेरै पर्यटक नेपाल आउँछन् । बेलायतीको संख्या गत वर्षको तुलनामा मात्र ०.९ प्रतिशतले बढेको छ । यस वर्ष ८ महिनामा ३६ हजार ९ सय ७२ जना बेलायती नेपाल भ्रमणमा आएका छन् ।

नर्वेबाट आउने पर्यटक गत वर्षभन्दा पनि घटेका छन् । अमेरिकाी पर्यटक भने गत वर्षभन्दा ५.८ प्रतिशतले बढेका छन् । तथ्यांकअनुसार यस अवधिमा अमेरिकाबाट ५८ हजार ६ सय २१ जना पर्यटक नेपाल आए ।

नेपाल पर्यटन बोर्डका सीइओ दीपकराज जोशीले जेट एयरको सेवा बन्द भएका कारण पर्यटक आगमन वृद्धि प्रभावित भएको बताएका छन् । यसबाहेक त्रिभुवन विमानस्थलको स्तरोन्नतीले गर्दा केही समय उडान कटौती भएका कारण पनि पर्यटक आगमन प्रभावित भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment