+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

नेपाली नेताका छोराछोरीलाई चिनियाँ छात्रवृत्ति !

डा. राजु अधिकारी डा. राजु अधिकारी
२०७६ असोज २४ गते ११:५८

चीनका शक्तिशाली राष्ट्रपति सी जिनपिङ आफ्नो पहिलो नेपाल भ्रमणका लागि काठमाडौँ अवतरण गर्दैछन् । दुई दशक भन्दा बढी समयपछि हुन थालेको चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि ऐतिहासिक मात्र होइन, राजनैतिक र आर्थिक हिसाबले पनि निकै महत्वपूर्ण छ ।

चीनको राज्यसत्ताको सम्पूर्ण शक्ति आफ्नो हातमा केन्द्रित गर्न सफल सी माओपछिका सबैभन्दा शक्तिशाली र लोकप्रिय चिनियाँ नेताका रुपमा हेरिन्छन् । उच्च महत्वाकांक्षासहित चीनलाई पुनः प्राचीन समयको चीनजस्तै शक्तिशाली र प्रभावशाली बनाउने आफ्नो गुरुयोजना शुरु गरेका उनको नेपाल भ्रमण चीनले नेपाललाई निकै महत्वपूर्ण सहयोगीका रुपमा हेरेको स्पष्ट संकेत हो ।

विकास, सैनिक शक्ति, विज्ञान र प्रविधि अनि जनसंख्या सबैको दृष्टिकोणले चीन अहिले विश्वकै शक्तिशाली देशमध्येको एक मानिन्छ । आफ्नो व्यापारिक सञ्जालले विश्व कब्जा गरिसकेको चीनका राष्ट्रपति सीले अब क्षेत्रीय र विश्वव्यापीरुपमा चीनको राजनीतिक प्रभुत्व पनि विस्तार गर्न बीआरआई जस्ता योजना अगाडि सारेका छन् र ती सबै योजनामा उनलाई हरेक सम्बन्धित र छिमेकी राष्ट्रहरुको सहयोग र समर्थन चाहिन्छ, चाहे त्यो सानो देश होस्, या ठूलो देश ।

राष्ट्रपति सीको भ्रमणको चीन र नेपालको तर्फबाट यसका सम्पूर्ण तयारीहरु पूरा भैसकेका छन् । त्यसैले यो भ्रमणलाई नेपालले मात्रै हैन चीनले पनि उत्तिकै महत्वपूर्ण रुपमा हेरिरहेको छ भन्नुमा शंका छैन ।

भारतीय अघोषित नाकाबन्दीका बेला नजिकिएको नेपाल चीन सम्बन्ध त्यही समयदेखि पहिलेको भन्दा अझ सुदृढ भएर विकसित भएको थियो । अझ त्यसपछि नेकपाले अत्यधिक बहुमतसहित सरकार सम्हालेपछि त चीनसँगको नेपालको सम्बन्ध झन् एक खुड्किलो माथि गएको अनुमान लगाउन सकिन्छ ।

हुन त आफ्नो वैदेशिक नीतिअनुसार चीनले अन्य देशमा जुन दल सरकारमा आए पनि त्यसलाई समर्थन गर्ने गर्छ । तर, पनि आफ्नै जस्तो सिद्धान्त अंगालेको दल सरकारमा आउँदा चीनलाई अवश्य पनि अब नेपालमा आफूले भरोसा गर्न सक्ने सरकार आयो भन्ने भान भएको होला । त्यसमाथि नेकपाका अधिकांश नेताहरुको व्यक्तिगतरुपमा चीनको राजनीतिक वृत्तसँग राम्रै हिचमिच पनि छ ।

डा. राजु अधिकारी

सी विचारधारा नेपालको सन्दर्भमा उचित होला नहोला, त्यसको कार्यान्वयन नेपालमा सम्भव होला नहोला, त्यो अर्को कुरो हो । तर, सरकार र नेकपाले सी विचारधाराको प्रशिक्षण लिएर चीनलाई पक्षधरताको सन्देश दिई पनि सकेको छ । सी जिनपिङको भ्रमणलाई सरकारले आफ्नो विदेश नीतिको सफलता र इज्जतसँग मात्र जोडेको छैन, यो भ्रमणबाट निकै अपेक्षा पनि गरेको छ । त्यो अपेक्षा मध्ये एक हो– चिनियाँ रेल ।

प्रधानमन्त्री ओलीले रेलको सपना देखाएपछि आजभोलि नेपालमा चीनका उच्च नेताहरुको भ्रमणलाई रेलसँग जोडेर हेरिन्छ । मानौं कि चिनियाँ नेताहरुले गोजीमा रेल ल्याएर आएका हुन्छन् अनि हामीले उनीहरुको अगाडि हात फैलाएर माग्नासाथ उनीहरुले खुरुक्क गोजीबाट निकालेर दिनेछन् ।

केही समय अगाडि चिनियाँ विदेश मन्त्री वांग यी आउँदा पनि रेलको कुरा उठेको थियो । उनको भ्रमणमा पनि ठूलै सहयोगको आशा गरेका नेपालीहरुले उनले दिएका पाँचसय वटा पालमा आफ्नो र देशको बेइज्जत र चीनले नेपालीलाई हेपेको महशुश गरेकै हुनुपर्छ । यसपालि पनि सरकारले रेल माग्ने कुरा प्रष्ट पारिसकेको छ । तर, थाहा छैन राष्ट्रपति सीले कतिसम्म वाचा गर्नेछन्, त्यो हेर्न बाँकी छ ।

दुई देश स्वाधीन देशवीचको सम्बन्ध समानताका आधारमा हुनुपर्ने हो । तर, यस्तो लाग्छ, भारत होस् या चीन, जुन देशका नेताहरुको भ्रमणमा पनि सरकारको रवैया भने कुनै मालिकले नोकरलाई भेट्न आएर नोकर निकै खुशी भएको जस्तो लाग्छ । तर, त्यसमा चीन अथवा भारतका या यसका नेताहरुको गल्ती छैन । गल्ती हामी नेपाली र अझ हाम्रा मगन्ते नेताहरुको हो ।

नेपाली शब्दकोशमा लिने र दिनेको प्रक्रियालाई ‘लेनदेन’ भनेर लेखेको पाइन्छ । अर्थात पहिले ‘लिने’ शब्द आउँछ त्यसपछि ‘दिने’ शब्द । सायद त्यो एउटा शब्दले नेपालीको बानीको प्रतिनिधित्व पनि गर्छ । अर्थात हामी पहिले लिन खोज्छौं अनि मात्र आफूले दिन्छौं । तर, त्यही शब्दलाई अंग्रेजी भाषामा हेर्दा ‘गिभ एण्ड टेक’ भनिन्छ । अर्थात पहिले दिने अनि मात्रै लिने । शब्द संरचना त खालि संयोग मात्र हुन सक्छ, तर विदेशीहरु सबैसँग माग्नु नै पर्छ भन्ने हाम्रा नेताहरुको सोचाइ चाहिँ अवश्य संयोग होइन ।

चिनियाँ नेतृत्व वृत्तमा नेपालले चीनसँग खालि माग्ने मात्र काम गर्छ भन्ने सन्देश पुगेको छ भन्न हिच्किचाउनुपर्दैन । नपुगोस् पनि कसरी ? किनभने नेकपाका अधिकांश केन्द्रीय नेताहरुका छोराछोरीलाई चीनमा उच्च शिक्षा अध्ययनका लागि चीनले छात्रवृत्ति दिन्छ । त्यही सानो छात्रवृत्तिका लागि नेताहरुले चिनियाँहरुको गुलामी गर्छन् । नेकपाका लगभग सम्पूर्ण उच्च नेताका छोराछोरीहरु चीन सरकारले दिएको छात्रवृत्ति दिएर पढेका छन् या पढ्दैछन् । त्यसैले पनि नेकपाका नेताहरु भनेका माग्न मात्रै जान्ने व्यक्ति हुन् भन्ने चिनियाँहरुलाई थाहा छ ।

तर, यसपटक सीको भ्रमणलाई पनि त्यही किसिमले माग्ने भ्रमण गराउने हो भने चिनियाँहरुले नेपालीलाई सहयोगी राष्ट्रको रुपमा हेर्ने भन्दा भारतले नेपाललाई हेपेजस्तै उनीहरुले पनि छिट्टै हेप्न शुरु गर्नेछन् । सधैं झैं ङिच्च दाँत देखाएर भिखारीको पारामा रेल माग्ने, बाटो घाटो बनाइदिने परियोजना माग्ने गर्नु भन्दा हामीले यो भ्रमणलाई दुई स्वतन्त्र राष्ट्रको नातामा दुवै देशको स्वार्थलाई केन्द्रमा राखेर सहकार्यका परियोजनामा हातेमालो गर्ने कुरामा जोड दिंदै कुनै पनि कुरा ऊसँग सित्तैमा नमागेर हामीले चीनलाई नै उल्टै दिने काम गर्दा कस्तो होला ?

त्यसैपनि नेपाललाई चीनसँग जोड्ने कुरा नेकपाका लागि मात्र होइन, चीनका लागि पनि उत्तिकै महत्वपूर्ण छ । हामीले केही नमागेपछि चीनले हामीसँग नै केही माग्नेछ र उसले मागेको कुरो हामीले उसलाई दिन पनि सक्नेछौं ।

हामी सोचौंला हामीसँग चीनलाई दिने आखिर त्यस्तो के छ त ?

अवश्य छ, धेरै कुरा छ । चीनले अहिले नेपालबाट खोजेको सबभन्दा ठूलो कुरो भनेको दक्षिण एसियामा राजनैतिक सन्तुलन अनि आफ्नो भूमिका हो । नेपालले यसमा ठूलै भूमिका खेल्न सक्छ ।

त्यस्तै चीनका लागि अर्को संवेदनशील समस्या भनेको तिब्बती शरणार्थीको समस्या पनि हो, जसमा नेपालले जहिले पनि चीनको पक्षमा काम गरिरहेको छ र यसलाई नेपालले जहिले पनि ‘बार्गेनिङ’ का रुपमा प्रयोग गर्न सक्छ ।

नेपालसँग जोडिएको अर्को कुरा सी जिनपिङको नयाँ योजना ‘बेल्ट एण्ड रोडको’ योजना हो । चीनको व्यापारिक र राजनैतिक प्रभुत्व जमाउनको लागि मात्र हैन, सीको आफ्नै व्यक्तिगत इज्जतका लागि पनि यो योजना उनका लागि निकै महत्वपूर्ण छ । त्यसमा पनि नेपालले आफ्नो महत्व प्रदर्शन गर्न सक्छ, जसका लागि चिनियाँहरुले नेपालसँग हात फैलाउनैपर्छ ।

चीनका ठूला कम्पनीहरु विदेशमा लगानी गरेर आफ्नो व्यापारिक जालो विस्तार गर्न निकै आतुर छन् । हामीले यस्तो वातावरण बनाऔं कि चीनका कम्पनीहरु आफैं लुछाचुँडी गर्दै नेपालमा लगानी गर्न आउन् । जस्तो कि दुई दशक अगाडि चीनमा लगानी गर्न अन्य बहुराष्ट्रिय कम्पनीहरुले तँछाड मछाड गर्थे । यदि उनीहरुले हाम्रो देशमा पैसा कमाउने अवसर देखेमा उनीहरु हामीसँग लगानीका लागि आफै हात फिँजाउन आउनेछन् ।

त्यति मात्र होइन, हामीले दिन सक्ने अर्को एउटा कुरा हाम्रो अतिथि संस्कार पनि हो । हामी अतिथि देवो भवःका लागि प्रशिद्ध छौँ । चीनका राष्ट्रपतिको भ्रमणको समयमा त्यो कुरा हृदयदेखि नै देखाउने दिन आएको छ ।

कम्युनिष्टहरु स्वभावैले आफ्नो इज्जतमा निकै नै ख्याल गर्छन् । चीनभित्रै पनि सीको औपचारिक सवारी हुँदा निकै तामझाम हुन्छ । उनलाई हामी यति धेरै सम्मान र स्वागत गरौँ कि उनलाई पनि हाम्रो सम्मान देख्दा अन्तर्मन देखि नै आनन्द प्राप्त होस् र उनले चीनमा या अन्य देशमा भ्रमण गर्दा नपाएका अनुभवहरु यहाँ गर्न पाउन् र त्यसलाई सम्झेर उनी जीवनभर आनन्दित बनून् ।

त्यसैले यसपटक हामीले चिनियाँ राष्ट्रपतिलाई माथि भनिएका कुराहरु दिएर पठायौं भने चीनले आफैं नै हामीलाई इज्जत गर्नेछ र नमागी नै धेरै दिन शुरु गर्नेछन् । किनभने कसैले आफूलाई दियो भने आफूले पनि दिनुपर्ने यो प्रकृतिको शाश्वत नियम पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?