
टेलिभिजनको पर्दामा सर्वाधिक हिट मानिएको सिरियल ‘हिजो आजका कुरा’लाई अब ठूलो पर्दामा पनि ल्याउने तयारी गरिएको छ । कलाकार सन्तोष पन्तका छोरा साकार पन्तले चलचित्र निर्देशन गर्दैछन् । सन्तोष पन्त र रमा थपलियाको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् ।
यो चलचित्रमा सन्तोषले ४ जना नायिका र केही नयाँ अनुहार राखेका छन् । समसामयिक कथालाई कमेडी कथामा प्रस्तुत गर्न लागिएको चलचित्रमा अहिलेका चल्तीका कमेडी कलाकारको अभाव छ ।
के सन्तोष पन्तले ‘हिजो आजका कुरा’बाटै स्टार बनेका कलाकारहरुलाई यो चलचित्रका लागि अफर गरेनन् होला त ? चलचित्रको घोषणा कार्यक्रममा पत्रकारको प्रश्नमा सन्तोषले भने–‘अहिले सबै कलाकारको आफ्नै टिम रहेछ । कसैले पनि हाम्रो चलचित्रमा काम गर्न मान्नुभएन ।’
सन्तोषले आफूसँग सुरुवाती दिनमा काम गरेर अहिले स्टार भएका सबै कलाकारलाई चलचित्रका लागि अफर गरेको बताएका छन् । तर, सन्तोषले कुन–कुन कलाकारलाई अफर गरेका थिए, यो भने खुलाएनन् । यो चलचित्रमा ऋचा शमा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ ।
प्रतिक्रिया 4