
२५ कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद आफताव आलमको मुद्दामा सोमबारदेखि आलमको पक्षमा बहस सुरु भएको छ ।
जिल्ला न्यायाधीश दीपक ढकालको इजलासमा आलमको पक्षबाट वरिष्ठ अधिवक्ता योगेन्द्र अधिकारी, सुनील पोखरेल, शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेले बहस गरेका थिए । प्रतिवादी आलम पक्षमा ३० जना भन्दा बढी कानून व्यवसायी रहेकोले बहस बुधबारसम्म जाने सम्भावना छ ।
अधिकांश कानून व्यवसायीले राजपुर घटनामा आलमको संलग्नता नरहेको दाबी गरेका थिए । सरकारी वकिलको कार्यालय र प्रहरी अनुसन्धानले समेत आलम घटनामा संलग्न भएको पुष्टि गर्न नसकेको भन्दै साधारण तारेखमा रिहा गर्न उनीहरुले माग गरेका थिए ।
आलमलाई मिडिया ट्रायल गरेर बदनाम बनाइएको र उनको मानहानी भएको बहसका क्रममा कानुन व्यवसायीहरुले बताएका थिए ।
वरिष्ठ अधिवक्ता सुनील पोखरेलले सरकारी वकिल कार्यालयले प्रस्तुत गरेका प्रमाणहरु नै शंकास्पद रहेको बताएका थिए । उनले प्रहरीले जुटाएको प्रमाण माथि नै प्रश्न उठाएका थिए ।
बहस पछि पुनः आलमलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लगिएको छ । भोलि पनि प्रतिवादी पक्षका कानून व्यवसायीहरुले बहस गर्ने र त्यस पछि पुनः सरकारी वकिलको तर्फबाट बहस हुने जिल्ला अदालत रौतहटले जनाएको छ ।
प्रतिक्रिया 4