+
+

कालापानी बहसमा वामदेवले सम्झिए एमालेबाट निष्काशन भएको दिन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २५ गते २२:२४

२५ कात्तिक, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले कालापानी र सुस्ता क्षेत्रबाट भारतीय फौज तत्काल हटाउनुपर्ने बताएका छन् ।

सीमा विवादबारे सोमबार राजधानीमा आयोजित कार्यक्रममा नेकपा सचिवालय सदस्य गौतमले सीमा विवादबारे भारतसँग वार्ता गर्नुअघि नेपालले आफ्नो नक्सा तयार गर्नुपर्ने बताए । लिपुलेकबाट सुरु हुने नेपालको नक्सा राष्ट्घाती भएको भन्दै उनले प्रश्न गरे, ‘भारतले तयार गरेको नक्साका आधारमा लड्ने हो कि हाम्रो नक्साका आधारमा ?’

उनले महाकाली सन्धिका बेला तत्कालीन एमालेमा भएको बहस र आफूहरुमाथि भएको कारबाही सम्झिए ।

गौतमले राखेको धारणाको सम्पादित अंशः

म धेरै खुसी भएको छु । नेकपा एमालेभित्र एउटा समूह निर्माण भएको थियो २०५२/५३ तिर । र, हामीले एकीकृत महाकाली सन्धिमा ठूलो बहस हुँदा सीमानाको कुुरा प्रमुख रुपमा उठाएका थियौं । त्यसले गर्दा पार्टीभित्र यति ठूलो अन्तरविरोध पैदा भयो कि हामी निस्कासित हुनुपर्‍यो । मसहित एमाले निर्माण गर्ने महत्वपूर्ण व्यक्तित्वहरु निष्काशित भयौं र अर्को पार्टी नेकपा माले खोलेका थियौं ।

जहिलेसम्म नेकपा एमालेभित्र थियौं, यो विषय त्यतिकै चर्किएर उठेको थियो । र, त्यसबेलाको सरकार र पार्टीको संस्थापन पक्षले अनेक आरोप लगाए । फुटिसकेपछि हामी चार वर्ष अलग भयौं । फेरि त्यही पार्टीमा फर्किएर आउनुपर्‍यो । जे भए पनि आफैंले बनाएको घर थियो । रिस उठ्यो, बाहिर गइयो । आफ्ना कुरा त्यहीभित्र राख्नुपर्थ्यो भन्दै फर्कियौं । नफर्किँदासम्म पनि यो विषय प्रमुख थियो । पहिले रहँदा पनि यो विषय प्रमुख थियो । जब हामी फर्कियौं, यो विषय नै हरायो ।

आज फेरि नयाँ घटना भारत सरकारले घटायो, जसले गर्दा यो उट्यो । म यसो सम्झन्छु, राष्ट्रले जनताले कुनै पनि विषय उठाउन कुनै न कुनै ठूलो घटना घट्नुपर्छ । त्यसबेला एकीकृत महाकाली सन्धि गर्नुपर्छ भनेर अध्ययन गर्दै जाँदा हामीले धेरे विषयमा ठगिएको रहेछ भन्ने निष्कर्षमा पुग्यौं । र, एउटा ठूलो आन्दोलन विकसित भएको थियो । त्यो आन्दोलनले नयाँ पार्टी जन्मियो । त्यसले आफू हुँदासम्म सक्दासम्म विरोध गरेर जनतालाई जाग्रित गरायो । जनताले हामी ठगिएका रहेछौं भन्ने थाहा पाए ।

यसपटक भारत सरकारले जम्मु काश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्दै केन्द्र शासित प्रदेश घोषणा गर्दा नयाँ नक्सा निकाल्यो, त्यो नक्सा हाम्रो देशभित्र एउटा विषय बन्यो । विषय त त्यसबेला पनि त्यही हो, त्यो भन्दा पहिले पनि त्यही हो । किनकी १९६१/६२ देखि भारतीय फैज बसेकै थियो । तर जनतालाई जाग्रित गर्ने, संगठित गर्ने विषय हुनुपर्दोरहेछ । यसपटक यो नक्साले नेपाली जनतामा राष्ट्रिय भावना विकसित भएको छ । ।

त्यसबेला नेकपा मालेले मात्र उठायो, अरु कोही आउनु भएन । आज २२ वर्षपछि राष्ट्रिय एकता कायम भएको छ । त्यसबेला नै राष्ट्रिय एकता कायम हुनुपर्थ्यो ।तर सरकारले नै प्रत्यत्न गरेन । सरकार कसरी आन्दोलनलाई सामसुम पार्नुपर्छ भन्ने तिर गए ।

आज फेरि उठेर आएको छ । यस पटकको जागरणले हाम्रो भूमिमाथि हाम्रो सार्वभौमता कायम गरेरै छोड्नेछ भन्ने विश्वास बढेर गएको छ । तर फिर्ता गर्नुपर्छ भन्नु गलत हुन्छ । दिएको चिज, खोसेर लगेको फिर्ता हुन्छ । सार्वभौमिकता खोसेर लैजान सक्दैन, यो अतिक्रमण हो । त्यसैले (सुस्ता र कालापानी) त्यहाँबाट भारतीय फौज हट्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?