२८ कात्तिक, गोरखा । गोरखा नगरपालिका–११ पन्ध्र किलोमा एम्बुलेन्ससँग दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किंदा चार जना घाइते भएका छन् ।
तनहुँको आँबुखैरैनीबाट गोरखा सदरमुकाम तर्फ आउँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्ससँग विपरित दिशा तर्फ गइरहेको बा ७६ प ६९११ र बा ६७ प ८७९३ नम्बरको मोटरसाइकल बिहीबार एक आपसमा ठोक्किंदा मोटरसाइकलमा सवार चार जना घाइते भएको ट्राफिक प्रहरी टिका शर्माले जानकारी दिए ।
पालुङटार नगरपालिका–१ खोप्लाङका इन्द्र कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र शुसिल श्रेष्ठ घाइते भएको शर्माले बताए । जिल्ला अस्पताल गोरखामा सामान्य उपचार पश्चात घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको उनले बताए । उनीहरु मध्य राजेन्द्र र राजकुमारको अवस्था गम्भीर रहेको शर्माले जानकारी दिए । एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।