+
+

४ पर्यटकीय गन्तव्यमा बन्ने रिसोर्टमा विदेशी लगानी खोजिने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर ५ गते ९:३८

५ मंसिर, काठमाडौं । नेपाल पर्यटन बोर्डले ल्याएको ‘लोन्ली इको रिसोर्ट’को अवधारणामा विदेशी लगानी खोजिने भएको छ । बोर्डले चालु आर्थिक वर्षको बजेटमा विभिन्न चार पर्यटकीय गन्तव्यमा रिसोर्ट खोली सञ्चालन गर्ने अवधारणा समेटेको थियो ।

चालु आवभित्रै कम्तीमा रिसोर्ट सञ्चालनको मोडालिटी तयार गर्ने सरकारको तयारी छ । बोर्डका निर्देशक मणिराज लामिछानेले इको रिसोर्ट सञ्चालनको मोडालिटी तय गर्न बुधबारबाट सरोकारवालासँग छलफल थालिएको बताए ।

तारागाउँ विकास बोर्डका सदस्यसँग बुधबार बोर्डले छलफल गरेको छ । अब छिट्टै लगानी बोर्डसँग छलफल गर्ने तयारी भएको उनले जानकारी दिए ।

‘हामीले विभिन्न स्थानमा खुल्ने इको रिसोर्टका लागि विदेशी लगानीको अपेक्षा गरेका छौं’, निर्देशक लामिछानेले भने, ‘उक्त सम्भावना खोज्न लगानी बोर्डसँग छलफल गर्दैछौं ।’
बोर्डले व्यावसायिक रूपमा आतिथ्य सेवा नपुगेको र कानूनी हिसाबले पनि खोल्न नमिल्ने स्थानमा पर्यटकको सुविधाका लागि पर्यावरणमैत्री रिसोर्ट स्थापनाको अवधारणा ल्याएको छ । ताप्लेजुङको पाथिभरा, मुगुको रारा, डोल्पाको से–फोक्सुन्डो र सुदूरपश्चिमको खप्तडमा लोन्ली रिसोर्ट निर्माण तथा सञ्चालनको योजना रहेको छ । यस वर्ष लोन्ली इको–रिसोर्ट सञ्चालनसम्बन्धी मोडालिटी निर्धारणको प्रतिवेदन तयार गरिने बोर्डको बजेटमा उल्लेख छ ।

यस्ता रिसोर्टहरूमा संघ, प्रदेश र स्थानीय सबै तहको सहभागिता निश्चित गरी अपनत्व लिने वातावरण बनाइने भएको छ । यसका साथै निजी क्षेत्रसमेत सहभागी हुन सक्ने गरी रिसोर्ट सञ्चालनको मोडालिटी बन्ने छ । यी गन्तव्य राष्ट्रिय निकुन्ज तथा संरक्षित क्षेत्रभित्र पर्छन् । यहाँ निजी क्षेत्रले आफू–खुसी संरचना बनाउन सक्दैन । तर, यहाँ पर्यटकको आगमन भने निरन्तर बढ्दो छ ।

पर्यटकलाई सुविधा दिन अत्यावश्यक होटेल तथा रिसोर्ट सुविधाको माग पनि उत्तिकै रहेको छ । यही आवश्यकता पूरा गर्न इको रिसोर्ट सञ्चालनको निष्कर्षमा बोर्ड पुगेको हो । वातावारण संरक्षण गर्दै पर्यावरणमैत्री संरचना निर्माण गर्ने र पर्यटकलाई सेवा सुविधा दिने गरी मोडालिटी तयार पारिने निर्देशक लामिछानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?