+
+

कोसी टप्पुका ५ हात्ती चितवन लगिँदा पर्यटक आवागमन घट्ने चिन्ता

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १२:३२

१५ मंसिर, काठमाडौं । कोसी टप्पु वन्यजन्तु आरक्षको दरबन्दी कटाएर ५ माउ हात्ती चितवन राष्ट्रिय निकुञ्जमा लगिएको छ । यसबाट प्रदेश १ मा पर्यटक आवागमन प्रभावित हुन सक्ने चिन्ता जानकारहरुले व्यक्त गरेका छन् ।

ठाउँ अभावको कारण देखाउँदै कोसी टप्पु आरक्षमा १० माउ हात्तीको दरबन्दी रहेकोमा त्यसबाट ५ वटा हात्ती सौराहा लगिएको थियो । यसबारे प्रदेश सरकारले कुनै चासो दिएको छैन ।

सरकारले आगामी सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ । प्रदेश १ मा रहेका पर्यटकीय गन्तव्य मध्येको एक कोसी टप्पुमा भएकै दरबन्दीसमेत कटाएर हात्ती अर्को ठाउँ लैजादा यहाँको पर्यटनलाई असर पर्ने देखिन्छ ।

१० माउ हात्ती हुँदा जति पर्यटक घुम्न आउने हुन् त्यसको आधार दरबन्दी कटाउँदा पर्यटकको आकर्षण घट्ने जानकारहरु बताउँछन् । सरकारले सार्वजनिक गरेको पर्यटकका लागि उत्कृष्ट १०० गन्तव्यमा पर्ने कोसी टप्पु अर्ना र चराका लागि प्रख्यात हो । त्यसका अलावा सिमसार क्षेत्र, सप्तकोसी, अन्य विभिन्न जिवजन्तुका साथै हात्ती सफारीका लागि प्रदेश १ को एक मात्रै ठाउँमा रहेको सम्भावनालाई प्रदेश सरकारले चिन्न सकेको छैन ।

प्रदेश सरकारले आरक्ष संघीय सरकार माताहत रहेका कारण आफूहरुले केही गर्न नसक्ने बताएको छ । प्रदेश १ मा धेरै पर्यटक भित्र्याउन एउटा प्रमुख गन्तव्यमा कोसी टप्पु भए पनि त्यसलाई त्यसरी प्रयोग गर्न केही कानूनी जटिलताहरु रहेको उद्योग, वन तथा पर्यटन मन्त्रालयका प्रवक्ता अनिरुद्रकुमार साहले बताए ।

उनका अनुसार आरक्षलाई निकुञ्ज नबनाएसम्म त्यहाँ पर्यटकीय गन्तव्यमा रुपमा विकास गर्न नसकिने कानूनी जटिलता छ ।

‘आरक्ष भनेको वन्यजन्तुको विशुद्ध सुरक्षाका लागि मात्रै हो’ उनले भने, ‘कानूनमै त्यहि व्यवस्था छ, पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भने त्यस (आरक्ष) लाई निकुञ्जको रुपमा विकास गर्नु पर्ने हुन्छ ।’

यद्यपि, कोसी टप्पु प्रदेश सरकारको प्राथमिकतामा रहेको र आरक्षको विकासका लागि बजेट विनियोजन गरिरहेको उनले बताए । हात्तीको दरबन्दी कटाइएको विषयमा भने उनले संघीय सरकारले यस्तो गर्न सक्ने प्रतिक्रिया दिए ।

कोसी टप्पुमा अहिले माउ र छावा गरी ७ वटा मात्र हात्ती छन् । यी हात्तीहरूका लागि कोसी टप्पुमा ३४ माउतेको दरबन्दी छ । हात्तीको दरबन्दी कटाएर सौराहा लगिएपछि स्याहारसुसार गर्ने ३४ माउतेमध्ये अधिकांश फुर्सदिला बनेका छन् ।

आरक्षले सुनसरी, सप्तरी र उदयपुर तिन जिल्लालाई छोएको छ । उदयपुरतर्फको वेलका नगरपालिका क्षेत्रमा हात्तीसार बनाएर आफ्नो दरबन्दी अनुसारका हात्ती फिर्ता ल्याउने आरक्षको योजना भए पनि माथिल्लो निकायले बेवास्ता गर्दा त्यो सफल हुन सकेको छैन ।

अहिले भएकै हात्तीलाई आरक्षले उदयपुरका वेलका–१ क्षेत्रमा लगेर अव्यवस्थित तरिकाले राखेका छ । आरक्षको हात्तीसार भने सुनसरीतर्फ आरक्षको मुख्य कार्यालय नजिकै रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?