+
+

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते २०:०७
जीप दुर्घटनामा उद्धारमा खटिएका स्थानीय र सुरक्षाकर्मी ।

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गर्दा कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा  १४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज भट्टराईले पुष्टि गरे ।

मृतकको नामावली

मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सुचना कार्की, जीप चालक रेश्म थापा, ४० वर्षीया बसुन्धरा कार्की, २३ वर्षीया माया थापा, ४० वर्षीया सीता कार्कीं, दुई वर्षीया अनुशा कार्की, ६५ वर्षीया झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमी कार्की, २५ वर्षीया मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बाग्लुङको बडिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीया मुना कार्की, कञ्चनपुरका ५५ वर्षीया धनबहादुर कार्की छन् ।

दूर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीया मिना केसी छन् ।

उनीहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता छन् ।

गुल्मीको इस्माबाट २४ जना जीपमा सवार रहेको र बीचमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्कोमा पठाएको थियो । दूर्घटनाग्रस्त जीपमा १८ जना सवार रहेको बताइएको छ ।

जीपमा सवार सबै गुल्मीबाट कुल पूजाका लागि बाग्लुङको निसीखोला गाउँपालिका हिँडेका थिए । घाइतेहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

दूर्घटनामा परेकालाई लिन दूर्घटनास्थल पुगेका गुल्मी क्षेत्र नं २ का सांसद् एवं पूर्वमन्त्री गोकर्ण विष्टले हेलिकप्टरबाट घाइतेलाई काठमाडौं लगेका थिए । विष्टले घाइतेको उपचारमा सरकारले कुनै कसुर बाँकी नराख्ने बताउँदै दूर्घटनाले गुल्मीलाई स्तब्ध बनाउनुका साथै अपुरणीय क्षति पुगेको जनाए ।

केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?