
१९ पुस, काठमाडौं । सरकार र उखु किसानबीच भएको सहमति, एमसीसीबारे चिनियाँ राजदूतले गरेको टिप्पणी र राष्ट्रियसभाका लागि नेकपाले गरेको उम्मेदवार छनोटले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएका छन् । त्यस्तै, वर्षा र हिमपातपछि देशको जनजीवनमा परेको प्रभावबारे पनि अखबारहरूले नजर लगाएका छन् ।
राष्ट्रियसभाका लागि नेकपाले गरेको उम्मेदवार छनोटबारे कान्तिपुरले आज मुख्य समाचार बनाएको छ । संविधान संशोधनबाट प्रधानमन्त्री बन्ने बाटो नखोलिने भएपछि नेता वामदेव गौतम राष्ट्रियसभामा नगए पनि अर्का नेता नारायणकाजी श्रेष्ठ भने विगतको बाचा भुलेर उम्मेदवार बनेको कान्तिपुरको ठम्याइ छ ।
यसअघि गोरखाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि श्रेष्ठले यो कार्यकालभर संसद् नजाने भनेका थिए । तर, पार्टीको आवश्यकता भन्दै श्रेष्ठ सांसद् बन्न तयार भएका छन् ।
कान्तिपुरकै पहिलो पृष्ठमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकवर्षे कार्यकालको समीक्षासँगै हवाई आक्रमणमा इरानी सेनाका मेजर जर्नेल कासिम सुलेमानी मारिएपछि खाडी क्षेत्रमा उत्पन्न तनावबारेको एक सामग्री पनि छापेको छ ।
नेपालमा क्रियाशील केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) र त्यसमार्फत परिचालित गैरसरकारी संस्था (एनजीओ) मा आतंकवादी तथा विखण्डनकारी संगठनहरूबाट लगानी भित्रिएको आशंका गर्दै त्यसको सूक्ष्म अनुसन्धान गर्न जाँचबुझ आयोगले सुझाव दिएको खबर कान्तिपुरको भित्री पृष्ठमा छापिएको छ ।
सरकारद्वारा गठित एक आयोगले लगानीको पारदर्शिता यकिन नभई आईएनजीओलाई कार्य स्वीकृति नदिन पनि सिफारिस गरेको छ । एक वषअघि बुझाइएको प्रतिवेदन सरकारले सार्वजनिक भने गरेको छैन ।
स्रोतको हवाला दिँदै कान्तिपुर लेख्छ– अतिवादी इस्लामिक संगठनहरू इस्लामिक स्टेट अफ इराक एन्ड सिरिया, अलकायदालगायतको लगानी हुनसक्ने भनेर उल्लेख गरेकाले प्रतिवेदन सरकारले सार्वजनिक नगरेको हो ।
मन्त्रिपरिषद् बैठकले ०७५ साउन १८ मा समाज कल्याण परिषद्मा भएका आर्थिकलगायत अन्य अनियमितताका सम्बन्धमा छानबिन गर्न पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पदमप्रसाद खतिवडा, प्रदीप पोखरेल, फूलमती चौधरी र वीरबहादुर राई (सदस्य सचिव) रहेको ५ सदस्यीय आयोग गठन गरेको थियो । त्यही वर्ष भदौ २१ मा आयोगको कार्यक्षेत्र बढाउँदै मन्त्रिपरिषद्ले आईएनजीओमाथि निगरानी र नियमनलाई अझ प्रभावकारी बनाउन समाज कल्याण परिषद्कै पुनःसंरचनाका सम्बन्धमा समेत अध्ययनको जिम्मा पाएको थियो ।
चिनियाँ राजदूत हाउ यान्छीले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट सहयोग लिने–नलिने भन्नेमा नेपाल आफैंले निर्णय गर्नुपर्ने भनेर व्यक्त गरेको भनाइलाई अन्नपूर्णले आज मुख्य समाचार बनाएको छ ।
पछिल्लो समय एमसीसी अनुदान लिनने या नलिने भन्नेबारे मत बाझिएको छ । यहीबीच चिनियाँ राजदूत होउलेले यसबारे निर्णय गर्न नेपाल स्वतन्त्र रहेको बताएकी हुन् ।
हिमपातपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन पुगेको खबर नागरिकमा छ भने राजधानीले अकूत सम्पत्तिमा धमाधम कर्मचारी तानिन थालेको लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
प्रतिक्रिया 4