Comments Add Comment

राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा ९ जनाको उम्मेदवारी

मनोनयन दर्ताका क्रममा नेकपाका उम्मेदवार । तस्वीर सौजन्य : शरद रेग्मी

२० पुस, बुटवल । राष्ट्रियसभा सदस्यका लागि प्रदेश ५ मा पनि उम्मेदवारी दर्ता भएको छ । दाङमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) र कांग्रेसका उम्मेदवारले समर्थक र प्रस्तावकसहित आइतबार मनोनयन दर्ता गरेका हुन् ।

नेकपाबाट राष्ट्रियसभा सदस्यका लागि अन्यबाट गोपालप्रसाद भट्टराई, महिलाबाट विमला घिमिरे र अल्पसंख्यक अपांगबाट जगप्रसाद शर्मालाई उम्मेदवारी दर्ता गरेका छन् ।

घिमिरे पार्टीको केन्द्रीय कमिटी सदस्य एवं कपिलवस्तु जिल्ला सह-इन्चार्ज हुन् । भट्टराई पूर्वएमालेका नेता हुन् । उनले पुष्पलालसँग रहेर काम गरेका थिए । उनी अहिले प्रदेश कमिटी कार्यालय सचिवका रुपमा छन् ।

अल्पसंख्यक तथा अपांगता कोटामा उम्मेदवार सिफारिस भएका शर्मा नेकपाको केन्द्रीय कमिटी सदस्य एवं प्रदेश कमिटीको सचिव छन् ।

नेपाली कांग्रेसका तर्फबाट पनि उम्मेदवारी दर्ता भएको छ । कांग्रेस नेता बालकृष्ण पाण्डे, गिरिजा न्यौपाने र मेराज हलवायीले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

यस्तै, समाजवादी पार्टीका तर्फबाट बाँकेबाट सुनिल सिंघल र बर्दियाका कृष्णप्रसाद यादबले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय जनमोर्चाका तर्फबाट कपिलवस्तुका शिब पौडेलले उम्मेदवारी दर्ता गराए ।

प्रदेश नम्बर ५ बाट राष्ट्रियसभा सदस्य रहेका रोल्पाका राजकुमार कुँवर, मिना बुढा र रुपन्देहीका दुर्गाप्रसाद उपाध्यायको २ वर्षे कार्यकाल सकिन लागेपछि निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा प्रदेशसभा सदस्यहरू ८७ जना र स्थानीय तहका प्रमुख उपप्रमुख २१८ गरी ३०५ जना मतदाता रहेका छन् ।
राष्ट्रिय सभाको निर्वाचन माघ ९ गते हुँदैछ । फागुनमा १९ जना सदस्यको कार्यकाल सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment