Comments Add Comment

लिखु तामाकोशी गाउँपालिका ६ महिनादेखि योजना र बजेटविहीन

१० माघ, रामेछाप । जिल्लाका दुई वटै नगरपालिका र ५ गाउँपालिकाले हि১उँदे सभा गरिसके । ऐन तथा नीतिहरु बनाएका छन् । ती पालिकाले ६ महिनाको कामको समीक्षासमेत गरेर आवश्यकताअनुसार बजेट रकमान्तरण गरेर अर्काे काममा लगाउने निर्णय गरिसकेका छन् ।

तर, जिल्लाको लिखु तामाकोशी गाउँपालिकालाई यी कुनै कुराले छोएको छैन । आर्थिक वर्षको पहिलो ६ महिना बित्दा पनि गाउँपालिको नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन । गाउँपालिका ६ महिनादेखि योजना र बजेटविहीन अवस्थामा गुज्रेको छ ।

गाउँपालिका भित्रको आन्तरिक कलहका कारण गाउँपालिको प्रशासनिक तथा विकासका सम्पूर्ण कामहरु रोकिएका छन् ।

यस आर्थिक वर्षको बजेट तथा कार्यक्रम पास गर्न गत असारमा बसेको गाउँ कार्यपालिकाको बैठकमा गाउँपालिका अध्यक्ष गोविन्द खड्का र  उपाध्यक्ष दीपशिखा दाहाल तथा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कार्यपालिका सदस्यवीच बजेट विनियोजनको विषयामा कुरा नमिल्दा गाउँपालिका कुनै काम अघि बढ्न सकेको छैन ।

गाउँपालिको बजेट विनियोजनको क्रममा गाउँपालिका अध्यक्ष खड्काले अघिल्लो आर्थिक वर्षमा  काम भएको वडा नं १ को विद्युतीकरणमा करिब ६ करोड रुपैयाँ विनियोजन गरेर बाँकी रकम अन्यत्र विनियोजन गर्ने प्रस्ताव गरेका थिए ।

तर उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र अन्य कार्यपालिका सदस्यहरुले सो आयोजनाको स्थलगत अनुगमनपछि मात्र बजेट छुट्यान प्रस्ताव गर्दा दुईपक्षवीच हातहालाहालको अवस्था आएको थियो । सोही कारणले स्थगित भएको पालिकाको बैठक अघि बढ्न सकेको छैन ।

घटनापछि प्रमुख प्रशासकीय अधिकृतसमेत असुरक्षित भएको भन्दै पालिका छाडेर हिँडेका थिए । त्यसपछि सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत गएका छैनन् ।

गाउँपालिका उपाध्यक्ष पनि असुरक्षित भएको भन्दै कार्यालयमा गएकी छैनन् । पालिकामा केही करारका कर्मचारीहरु बाहेक अन्य कर्मचारी छैनन् ।

करारका कर्मचारीहरुले समेत गएको साउन महिनादेखि तलब पाएका छैनन् । स्थायी कर्मचारीको रुपमा एक जना वडाअध्यक्ष कार्यरत छन् ।

बजेट कार्यक्रम नआउँदा कर्यालयको प्रशासनिक काम र विकासका सम्पूर्ण कामहरु रोकिएको गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहाल बताउँछिन् ।

६ महिनादेखि प्रशासनिक खर्चसमेत वडा कार्यालयमा नजाँदा कार्यालयमा फोटाकपि गर्ने कागजसमेत नभएको वडाअध्यक्षहरु बताउँछन् ।

पालिकाको बजेट पास नहुँदा यस वर्षका विकासका कामहरु सबै रोकिएका छन् । विद्यालयमा छात्रावृत्तिको रकम गएको छैन ।

स्वास्थ्य संस्थामा औषधि सकिँदा पनि औषधि खरिद गर्ने पैसा पुगेको छैन । कृषि, पशुसेवा, भौतिक पूर्वाधारलगायतका  विकासका काम ठप्प भएका छन् ।

कर्मचारीहरुले तलब खान पाएका छैनन् । तैपनि सरोकारवालाहरु मौन रहेका छन् । समस्या समाधानतर्फ ध्यान दिनु पर्ने निकायको ध्यान जान सकेको छैन ।

नेकपा रामेछापका इञ्चार्ज एवम् पूर्वसांसद देवशंकर पौडेल भने समस्या समाधानको लागि पार्टीको तर्फबाट धेरै प्रयास भएको बताउँछन् । यस विषमा गम्भीर भएर लाग्दा पनि अझै निकास निकाल्न नसकिएको उनको भनाइ छ ।

कूल ७ वटा वडा रहेको या गाउँपालिकामा २ नं वडा बाहेक अध्यक्ष उपाध्यक्ष र सबै वडामा तत्कालीन एमालेका उम्मेदवारहरु विजयी भएका थिए ।

पार्टी नीति विपरीत काम गरेको भन्दै नेकपाले गाउँपालिकाका अध्यक्ष खड्कालई पार्टी सदस्यताबाट निलम्बन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment