Comments Add Comment

रिलायन्स सुगर मिलले नदी प्रदुषण गरेको भन्दै युवा संघद्वारा विरोध

१९ माघ, वीरगञ्ज । रिलायन्स सुगर एण्ड केमिकल इन्डष्ट्रिज प्रालिबाट उत्सर्जित प्रदुषित पानीले आसपासका क्षेत्रमा दुर्घन्ध फैलिएको भन्दै विरोध सुरु भएको छ । बाराको कलैया उपमहानगरपालिका २३ श्रीपुर स्थित उद्योगबाट निस्कने पानीले मानव स्थास्थ्य, पशु चौपायामा मात्रै नभएर बालीनालीमा समेत क्षति पुगेको स्थानीयको भनाइ छ ।

उद्योगबाट निस्केको दुर्घन्धित पानी सिधै नदीमा खसाउँदा आसपासका क्षेत्रमा बसोबास गर्न मात्रै नभइ हिँडडुल गर्न समेत समस्या भइरहेका स्थानीय बताउँछन् ।

कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिका, परवानीपुर, प्रसौनी, फेटा, बिश्रामपुर गाउँपालिकाकोका मानवबस्ती, जीवजन्तु र कृषिमा असर पुगेको दाबी गर्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध जनाएको छ ।

संघको बारा जिल्ला कमिटीले प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेललाई आइतबार ज्ञापन पत्र बुझाउँदै प्रदुषण गर्ने उद्योगलाई कारबाहीको माग गरिएको हो ।

उद्योगले उखु पेलेर कमाउने तर प्रदुषण गरेर आसपासका क्षेत्रमा हानी पुर्‍याउने कार्य गरेकोले कारबाहीको माग गरिएको युवा नेता मुकेश साहले जानकारी दिए ।

‘उखुबाट निस्केको विषादी तरल पदार्थलाई व्यवस्थित नगरी नाला र पाइपमार्फत बंगरी नदीमा खसाइएको छ । प्रदुषित पानीको असरले पशु चौपाया मर्नुका साथै स्थानीयमा छाला र स्वासप्रस्वास सम्बन्धी रोग देखिएको र बालीनाली नष्ट भएको छ,’ ज्ञापनपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment